arrow

भारत र पाकिस्तानको खेल वर्षाले रोकियो, सोमबार निरन्तर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
asia-cup-india-pakistan-2023-09-10c.jpg

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीचको सुपर फोरको खेल वर्षाले अवरुद्ध भएको छ । 

श्रीलंकाको कोलम्बोमा आइतबार भएको खेलमा वर्षाले खेल रोकिनुपूर्व भारतले पहिले ब्याटिङ गर्र्दै २४.१ ओभर खेल्दै २ विकेटको क्षतिमा १४७ रन बनाएको छ । 

पहिलो विकेटका लागि १२१ रनको साझेदारी गर्ने क्रममा शुबमन गिलले ५८ तथा कप्तान रोहित शर्माले ५६ रन बनाए । सोमबार केएल राहुल १७ तथा विराट कोहली ८ रनबाट अगाडि खेल्नेछन् । 

पाँच घण्टासम्म खेल्ने प्रयास गर्दा सम्भव नभएपछि सोमबार रिजर्भ डे मा बाँकी खेल खेल्न लागिएको हो । 

सोमबार पनि खेल पूरा हुन सम्भव नभए दुवै टिमले १–१ अंक बाँड्ने छन् । भारत र पाकिस्तानबीचको क्रिकेट खास हुने गर्छ । तर एउटै समूह चरणमा रहेका यी दुई टोलीको समूह चरणको खेल पनि वर्षाले पूरा हुन पाएको थिएन । 

यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ । 

सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो । 

कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो । श्रीलंकाले पहिले ब्याटिङ गर्दै प्लेयर अफ द म्याच सदीरा समराविक्रामाको ९३ रनको मद्धतले ९ विकेटको क्षतिमा २५७ रन बनायो । 

जवाफमा बंगलादेशले ४८.१ ओभरमा अलआउट हुँदै २३६ रनमात्र बनाउन सक्यो । टहिड हृडोएले ८२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

यो हारले बंगलादेश भारतसँग खेल्नुअघि नै सुपर फोरबाट बाहिरिएको छ । 

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् । 

पहिलो पटक एसिया कप खेलेको नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए । 

नेपाल भारतसँग १० विकेटले र पाकिस्तानसँग २३८ रनले पराजित भएको हो । नेपाली टिमको निकै नै प्रशंसा भएको थियो । भारतविरुद्ध नेपालले २३० रन बनाएको थियो । पाकिस्तानले नेपाली बलर सामु ब्याटिङ गर्न निकै संघर्ष गर्नुपरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ