arrow

अर्केस्ट्रा नल्याएको झ्वाँकमा आयोजकको ज्यान लिने प्रयास, तीन घाइते

logo
निरञ्जन साह,
प्रकाशित २०८० भदौ २३ शनिबार
ghaite-dhanusha-2080-05-23.jpg

धनुषा । मेलामा आफूहरुले भनेको अर्केस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान लिने प्रयास भएको छ । 

धनुषाको कमला नगरपालिका १ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्ठमी मेलामा अर्केस्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान लिने प्रयास गरिएको हो ।

शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरुले बीच बाटोमा रोकेर ज्यान लिने प्रयास गरेको धनुषा प्रहरी प्रमुख विश्वराज खड्काले बताए ।

डिजेल लिएर फर्किरहेका आयोजक समितिका तीन जना युवाहरूलाई कमला नगरपालिकाको मंगराहा र नरहा टोलको बीचमा टाउको, आँखा तथा अनुहारमा निर्घात कुटपीट गरी घाइते बनाइएको छ । 

निर्घात कुटपीटबाट घाइते हुनेहरुमा मेला आयोजक समितिको तर्फबाट रहेका सिरहाका रबिन्द्र राम, सिरहा थलहाकै दिपेन्द्र यादव र कमला नगरपालिका वडा नं ३ लगमाका लभकुमार महरा रहेका छन् । 

उनीहरूलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरिएको घाइते लभ महराले बताए ।

घाइते तीनै जनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । 

आक्रमणमा परेकाहरुको मामा राम पुकार महराको घरमा मेला महोत्सवको व्यवस्थापनमा खटेका थिए । उनीहरुको साथबाट आक्रमणकारीहरुले स १० प ६२७६ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरूको साथमा रहेका दुई थान मोबाइल, २५ हजार रुपैयाँ नगद लगायतका सामान लुटेर भागेको घाइते रबिन्द्र रामले बताए ।

कृष्णाष्ठमी मेलामा अर्केस्ट्रा नचाउने कुरा भए पनि अर्केस्ट्रा ननचाएको भन्दै लगमाका केही युवाहरुसँग नाच कार्यक्रमको बेला नै भनाभन भएको थियो । 

रातिमा नाच गराउनको लागि विद्युत जान सक्ने भन्दै जेनेरेटरको लागि डिजेल ल्याउन जाँदा उनीहरुलाई ती युवाहरूलाई पिछा गरेको घाइते रबिन्द्रले बताए ।

शुरुमा लगमा बजारस्थित रहेको पेट्रोल पम्पमा डिजेल ल्याउन जाँदा त्यहाँ नभेटेपछि कमला नगरपालिका(६ मडानस्थित रहेको पेट्रोल पम्पबाट डिजेल लिएर मंगराहातर्फ जाँदै गर्दा मंगराहा र नरहाकोबीचमा रोकेर ज्यान मार्ने प्रयास गरिएको हो ।

घाइते लभकुमार महरा का अनुसार सोही ठाउँ बस्ने अनु यादवको छोरा अन्दाजी १८ वर्षको विजय यादवसहित ५–६ जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छन् । उनीहरुसँग साँझ भनाभन भएको थियो ।

तीनै जनालाई फाइटर र फलामे हतियारले प्रहार गरेको देखिएको छ । टाउकोमा गम्भीर चोट लागेको एक जनाको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बताएको छ । घटनामा तीन जना फरार रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ