arrow

हेर्न नभ्याइनेमा पर्यो सन्दीपको बलात्कार आरोपको मुद्धा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
sandeep-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपको मुद्धा खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्धामा आजको पेशी पनि स्थगित भएको छ । 

न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएसँगै यो मुद्धाको छिनोफानो लम्बिएको हो । 

एक वर्षदेखिको यो मुद्धा सरिरहँदा पीडितले भने थप पीडा भोग्नुपरेको छ । सन्दीपमाथि जबरजस्ती करणीको मुद्धा चलिरहेको छ । 

यसअघि उनले सहुलियत पाउँदै आएका छन् । राष्ट्रिय टिमका खेलाडीसमेत रहेका उनलाई क्रिकेट खेल्नका लागि अदालतले विदेश जाने छुट दिएको थियो । 

एसिया कप क्रिकेट यही भदौ १३ गते बुधबारदेखि शुरु हुँदैछ । नेपालको पहिलो खेल पाकिस्तानसँग नै बुधबार हुँदैछ । 

अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ । सोसँगै उनी एसिया कप क्रिकेट खेल्न सोमबार पाकिस्तान जाने भएका छन् । 

तर अहिलेसम्म उनको मुद्धाको छिनोफानो भएको छैन । पीडित युवती भने अस्वस्थ्य रहेकोसमेत बताइएको छ । 

यसअघि साउन ३२ गते सुनुवाइ भएको थियो । उक्त दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो । 

१८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ । सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । 

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 

पीडित किशोरीले गत वर्षको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपले बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । 

उनले भदौ ५ गते होटलमा लगेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा बताएकी थिइन् । 

अर्को दिन विदेशमा खेल्न गएका सन्दीपलाई भदौ २३ गते पक्राउ पुर्जी जारी गरिएको भए पनि असोज २१ गतेमात्र स्वदेश फर्केका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ