arrow

ज्येष्ठ नागरिकको हक सुनिश्चिततामा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
Bidhya-bhattrai-pokhara.jpg

पोखरा । ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्वक बाँच पाउनुपर्ने हक सुनिश्चित हुनुुपर्नेमा जोड दिइएको छ ।

संविधान एवं अन्य ज्येष्ठ नागरिक सम्बद्ध ऐन तथा कानुनले ज्येष्ठ नागरिकको हकलाई सुनिश्चित गरेपनि कतिपय ज्येष्ठ नागरिक अहिले पनि हकअधिकारबाट बञ्चित भएको वक्ताहरूले बताएका छन् ।

पोखरा वृद्धाश्रमको आज आयोजित २६औँ वार्षिक साधारणसभामा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने भन्दै त्यसको पहिलो दायित्व परिवारको र दोस्रो दायित्व राज्यको भएको बताइन् । 

विभिन्न हकसहितको नागरिक संविधानले परिकल्पना गरेको बताउँदै उनले उल्लेखित हक अधिकारको कार्यान्वयन अपरिहार्य भएको बताए । ज्येष्ठ नागरिको संरक्षणमा पोखरा वृद्धाश्रमले गरेको योगदानको उनले प्रशंसा गरे ।

प्रदेशसभा सदस्य भीम कार्कीले पोखरा वृद्धाश्रमले अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिकलाई साहारा दिएको बताउँदै समाजमा उनीहरुको सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक, अधिकारलाई सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकको संरक्षणमा चाहे अनुसारको व्यवस्थापन अझै गर्न नसकिए पनि निरन्तररुपमा लागिरहेको बताए । 

समुदायमा आधारित वृद्धाश्रमका रुपमा पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिकको संरक्षण गर्दै उनीहरुको हक, अधिकार सुनिश्चित गरिरहेको उनले जानकारी गराए ।

ज्येष्ठ नागरिकको बिर्सने रोगको निःशुल्क उपचार, फिजियोथेरापीको व्यवस्थासँगै स्वास्थ्य सहायकसमेतको व्यवस्थापन गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।

वृद्धाश्रमले विभिन्न तीन टोलमा घुम्ती स्वास्थ्य सेवा सञ्चालनको योजना बनाइरहेको उनको भनाइ थियो ।

वार्षिक साधारसभाका अवसरमा पत्रकारिता एवं लेखनका माध्यमबाट महत्वपूूर्ण योगदान पुर्याएको भन्दै ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार’ बाट रविन्द्र माकाजुुलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्सालले ज्येष्ठ नागरिकको मिर्गाैला लगायतको रोगको उपचारका लागि सहयोग पुर्याउन स्व छोरा ध्रुव लम्सालको स्मृतिमा रू एक लाखको स्वास्थ्य कोष स्थापनार्थ चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका-१७ का वडाध्यक्ष राधिका शाही योगी, नेपाल निवृत्त समाजका केन्द्रीय उपाध्यक्ष तोयानाथ लामिछानेलगायतको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ