arrow

राजनीति कता जाँदैछ ?

logo
लाओस राई,  
प्रकाशित २०८० भदौ ९ शनिबार
article-lawas-rai-2080-05-06.jpg

कमजोर र परिवारवादमा गिजलिएको प्रजातन्त्र मर्नुपूर्व अधिनायकवादी र तानाशाहीहरुले ध्वस्त पारिदिन्छन् । त्यतिमात्र होइन प्रजातन्त्र छाडा हुँदै गयो भने मानवतावादी संस्कार देखाउनुको सट्टा व्यक्तिवादी वा व्यक्ति केन्द्रित सुविधामा खुम्चिन पुग्छ ।

अघिल्लो वर्ष स्थानीय तहको निर्वाचनपछि (जेठ पहिलो साता) दाजु प्रविण र म जुम्ला पुग्यौँ । जुम्लामा लेखक मित्र रामसिंह रावलको घरमा केही दिनको बसाईमा कृषक नेता कार्की, महेन्द्र हमाल, केही पत्रकार साथीहरु, केहि निर्वाचित प्रतिनिधिहरु र केही प्रत्यासीहरुसँग भेटघाट गरियो । स्थानीय तहमा विजयी प्रतिनिधिहरुले धन अनुसारको भोज खुवाउँदै रमिता गर्दै थिए । एक प्रकारले हेर्दा जुम्लाका सबै वडाहरू ‘मतुवाली’ झैँ देखिन्थ्यो । हामी दर्शककै भूमिकामा थियौँ ।  

राजनीतिक पार्टीहरुको यस्तो प्रकारको गतिविधि देखेर बाटोमा हिँड्दै गरेका बटुवाले मुख खोलेरै भन्दैथिए– बा..बाफ रे बाफ राजनीति कता जाँदैछ ?’’ लेखक रावलको ‘सिन्डिकेट लोकतन्त्र र राजनीति’ पुस्तकले पनि यस्तै प्रश्नहरु गरेको थियो । त्यतिखेर नै बटुवाको बोलीमा नेपालको राजनीतिक भविष्य अन्योल, अन्धकार, अनिश्चित अस्थिरता उन्मुख हुँदैछ कि जस्तो लागेको थियो तर सिंगो नेपाल नै मतुवाली भइरहेको बेला जुम्लाको मात्र के कुरा गर्ने भन्ने लाग्यो त्यसैले त्यो विषयमा त्यति गम्भीर बन्न मन लागेन ।

केही दिनको जुम्ला बसाइपछि प्रबिण दाइ र म रारा ताल पुग्यौँ । निर्वाचनको परिणाम भटाभट आइरहेको थियो । हामीले राराको पूरै फन्को लगाउँदा राजनीतिको विभिन्न आयाम र विश्वमा भएका घटनाहरुको बारेमा कुरा गरेका थियौँ  । झन्डै दुई घन्टाको ताल घुमाइमा नेपालको राजनीतिक परिवर्तन र तुलनात्मक राजनीतिको बारेमा धेरै कुरा भए । 

त्यत्तिकैमा दाइले अबको राजनीति कता जाँदैछ भन्ने प्रश्न उठाउनु भयो । मैले प्रश्न गरेँ –‘नेपालको कि विश्वको ?’ उहाँले भन्नुभयो – दुवै ।  मैले दाइको जिज्ञासालाई संक्षेपमा समेटिदिएँ –‘जहिले पनि उदारता, मानवता र स्वतन्त्रताको विरुद्धमा अधिनायकत्व, स्वेच्छाचारी र व्यक्तिवाद सशक्त भइरहन्छ । शक्तिशाली राष्ट्रहरुले विश्व अर्थतन्त्र, अर्थबजार नियन्त्रण र सन्तुलन राख्न कुनै न कुनै रुपमा युद्धलाई प्रयोग गरिरहन्छ, आतंकवाद विरुद्धको लडाइँ निरन्तर चलिरहन्छ, वैचारिक, सैद्धान्तिक र दार्शनिक पक्षहरू कमजोर हुँदै जान्छ ।’

मैले अगाडि भनेँ, ‘जहाँसम्म नेपालको राजनीतिको कुरा आउँछ विश्व बजारमा जनशक्ति बेच्ने नीतिमा नै केन्द्रित हुन्छ । यो अझै केही दशक चलिरहन्छ ।’ 

दाइले सोध्नुभयो, ‘आत्मनिर्भरता र स्वतन्त्रताको व्यापारलाई नै हामीले राजनीति भन्नुपर्ने भयो होइन ? मैले भनेँ, ‘त्यति मात्र होइन आत्मनिर्भताको लडाई पनि निरन्तर चलिरहन्छ ।’ लामो समय बेलायत बस्नु भएको उहाँलाई विश्वको राजनीतिक परिवर्तन र घटनाको बारेमा जानकार हुनु कुनै आश्चर्यको कुरा पनि थिएन । किनकि सबै परिवर्तनको खाका नेताहरुले उतैबाट ल्याउने हुन् । त्यसैले उहाँमा सूचना र प्रश्न हुनु स्वभाविक थियो ।   

राराको सौदर्य हेर्दै भविष्यको राजनीतिक गोरेटोको बारेमा सवाल जवाफ भइरहयो । विशेषगरी स्वतन्त्रता र प्रजातन्त्रमाथि विश्वव्यापी रुपमा भइरहेको प्रहारको विषयमा धेरै छलफल गर्यौँ । लोकतन्त्रको विषयमा भने दाइको विचार र पूर्वी एसियाका देशहरूमा संथागत हुँदै आधारभूत कुरादेखि विस्तारसम्म नेपालको लोकतन्त्र र संघीयतालाई नमूना बनाउनुपर्छ भन्ने तर्क थियो । तर अरू देशसँग नेपालको राजनीति वा कुनै वादको ब्यवहारिक प्रयोगको तुलना गर्ने विषयमा प्रवेश गरिथ्यो त्यसबेला दाइको र मेरो कुरा उत्तर र दक्षिण ध्रुव झैँ हुन्थ्यो । 

हुन पनि नेपालको राजनीतिक प्रणाली, नेताहरुको सोच, चिन्तन गर्ने क्षमता, कार्यशैलीको कुरा हुन्थ्यो नेपालसँग युरोपका कुनै पनि देशहरूका कुनै पक्षसँग तुलना गर्न नसकिने भन्ने कुरामा दाइ अडिक रहनुहुन्थ्यो तर स्वतन्त्रा र लोकतन्त्र माथिको प्रहारको कुरामा भने कुरा मिल्थ्यो ।

जब मैले स्वतन्त्रताको विषयमा स्वतन्त्रतावादी लेखकहरुको विचार सुनाएँ दाइ त्यो कुरामा चाँहि  सहमत हुनुभयो । मैले स्वतन्त्रता सम्बन्धी कुरा गर्दै फिलिप पेटिटको विचारलाई जोडेँ । मूलतः उनको पुस्तकको केन्द्रीय विषयबस्तु पनि स्वतन्त्रतालाई कसरी नियन्त्रण गर्ने गर्छ वा प्रभुत्वमा पार्छ र प्रजातन्त्रमा अधिनायकवादी, फाँसीवादी र क्रुर तानाशाहाको घुसपैठ हुन्छ उनीहरू सत्तामा पुगेपछि प्रजातन्त्रको हत्या कसरी गर्छन् भन्ने विषयमा केन्द्रित भइ त्यसका चर्चा गरेको छ ।
 
ग्रीक दार्शनिक सुकरात, प्लेटो र अरस्तुले परम्परागत राज्य प्रणालीको विरोध र स्वतन्त्रतामा जोड दिए । प्रभुत्व र नियन्त्रित राज्यको विरोध गरिरहे । उनीहरुले मानव मस्तिष्कको क्षमताको विकास गर्न अभिव्यक्ति स्वतन्त्रताद्वारा मात्र सम्भव छ भन्थे । त्यही विचार लामो समयपछि प्रजातन्त्रको रुपमा विकसित भयो । 

विश्वभरि अभिव्यक्ति स्वतन्त्रताको नारा राष्ट्र निर्माण, सत्ता परिवर्तन र संघर्षको प्रमुख माध्यम बन्यो । त्यही स्वतन्त्रतावादी विचारमा विश्वका जनताहरु केन्द्रित भए । अभिव्यक्ति स्वतन्त्रताकै कारण केही देश बाहेक अरु देशमा प्रजातान्त्रिक व्यवस्था छ । 

स्वतन्त्रताको सम्बन्धमा रिपब्लिकनवादका लेखक पेटिटले ‘जष्ट फ्रिडम’ पुस्तकमा स्वतन्त्रताको बारेमा विचार दिँदै भन्छन् कि मानिसको आधारभूत जीवन छनोटहरूमा स्वतन्त्र व्यक्तिहरूमा अरूको तर्फबाट हस्तक्षेपको शक्तिको अधिनमा हुनु हुँदैन, गैर–प्रभुत्वको रूपमा स्वतन्त्रताको यो धारणाले सामाजिक र लोकतान्त्रिक प्रगति नाप्न एक मापदण्ड प्रदान गर्दछ र अलमलिएको राजनीतिक समस्याहरूको विश्लेषणको लागि स्वतन्त्रताले एक सरल, एकीकृत मानक प्रदान गर्दछ ।

मूलतः स्वतन्त्रता एक मौलिक अवधारणा हो जसले जबरजस्ती दमन वा स्वयंबाट मुक्त हुने अवस्थालाई जनाउँछ । यसमा व्यक्तिगत स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सामाजिक स्वतन्त्रतालगायत अरु विभिन्न पक्षहरूलाई समेट्छ । जसलाई हाम्रो सन्दर्भमा लोकतान्त्रिक गणतन्त्र भनेका छौँ । हामीले पैरवी गर्ने लोकतन्त्रको सिधा सम्बन्ध सुकरात र प्लेटोको विचारसँग छ । त्यसकारणले यो विचारधारा बलियो छ । तर स्वतन्त्राको लडाई बलियो हुँदाहुँदै पनि नेतृत्वले प्रजातन्त्रलाई मृत्युशैयामा पुर्याउने गलत कदम चाल्दैछन् वा गर्दैछन् । इतिहासमा त्यो नेपालमा भयो र केही समयअघि थाइल्याण्डमा सिनावात्रा परिवारलाई ‘कु’ गर्दै सेनाले गरे । यस्ता कदम समय समयमा हुने गरिरकेका छन् ।  

केही प्रजातान्त्रिक मुलुकमा त्यस्ता घटनाहरु भएका पनि छन् । जस्तो नेपालमा नै एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक प्रतिसभा भंग गरेर अधिनायकवादी कित्तामा उभिए । त्यसैगरी जिम्बाब्वेमा आफूलाई माक्र्सवादी भन्ने प्रजातन्त्रवादी नेताले रोबोट मुगावेले सन् १९८० देखि २०१७ सम्म कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति हुँदै र पत्नीलाई उत्तराधिकारी बनाउन खोज्दा प्रजातन्त्रको नै खिल्ली उडाए । 

यस्ता घटनाहरु विशेषगरी ल्याटिन अमेरिकी र अफ्रिकी मुलुकमा भइरहेको छ । जस्तो कि प्रजातन्त्रको खोल ओडेका अधिनायकवादीहरूले नै प्रजातन्त्रको हत्या गर्छन् र गरिरहेका छन् । अर्को सैनिक ‘कु’ द्वारा पनि भइरहन्छ । त्यसको उदाहरण पाकिस्तान, म्यानमार, थाइल्याण्डमा भएको ‘सैनिक कु’ र पछिल्लो समय  बुर्किनाफासो र नाइजरमा भएको  ‘कु’ त्यसको प्रमाण हो । 

तर यीमात्र कारणहरुले प्रजातन्त्र मर्दैन वा संकटमा पर्दैन, थप अरु कारणहरु पनि छन् जसले प्रजातन्त्रलाई कमजोर पार्दछ । जस्तो परिवारवाद, नातावाद वंशवाद, जातिवाद, क्षेत्रीयतावाद जस्ता स्वतन्त्र विचारको विरोधी विचारहरु राजनीतिमा हाबी हुन थाल्यो वा हुँदै गयो भने निश्चय नै लोकतन्त्र वा प्रजातन्त्र संकटमा पर्छ ।

विचारले हामी प्रजातन्त्रवादी हौँ हाम्रा पार्टीहरू सबै प्रजातन्त्रवादी नै छन् । तर ब्यवहारमा हामी कति विचारप्रधान छौँ ? त्यो प्रमुख कुरा हो । जब हामी र हाम्रो पार्टी विचारप्रधान पद्धतिबाट चल्दैनौँ वा नातावाद, जातिवाद, परिवारवाद वंशवादमा केन्द्रित हुन्छौँ अथवा दिल्लगी गरिरहन्छौँ भने प्रजातन्त्र, लोकतन्त्र जे नामले जनतालाई सम्बोधन गरे पनि लोकतन्त्र, प्रजातन्त्रप्रति जनताको विश्वास घट्दै जान्छ । कमजोर र परिवारवादमा गिजलिएको प्रजातन्त्र मर्नुपूर्र्व अधिनायकवादी र तानाशाहीहरुले ध्वस्त पारिदिन्छन् । त्यतिमात्र होइन प्रजातन्त्र छाडा हुँदै गयो भने मानवतावादी संस्कार देखाउनुको सट्टा व्यक्तिवादी वा व्यक्ति केन्द्रित सुविधामा खुम्चिन पुग्छ । भ्रष्टाचार मौलाउँदै गयो भने प्रजातन्त आफैँ संकटमा पर्छ । 

त्यसपछि जुम्ली बटुवाले गरेको राजनीति कता जाँदैछ भन्ने प्रश्न ?लेखकद्वय स्टेभन  लेविट्स्की र ड्यानियल जिब्लाटले प्रजातन्त्र कसरी मर्छ ( हाउ डेमोक्रेसी डाइ) भन्ने संसारलाई देखाएको जिज्ञासा र फिलिप पेटिटको मात्र स्वतन्त्रता जस्ट फ्रिडमले उठाएको विषय निरन्तर चलिरहन्छ । (राई नेपाली कांग्रेसका नेता हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ