arrow

क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण – मन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २ शनिबार
prakash deubaa.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदूरपश्चिमको ठूलो योगदान रहेको बताएका छन् । 

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उद्घाटन समारोहमा मन्त्री देउवाले नेपाली क्रिकेटको व्यवस्थापन, समन्वय र खेलाडी उत्पादनका दृष्टीकोणले सुदूरपश्चिमले सधै‌ँ अग्रणी भूमिका निर्वाह गरेको बताए । 

सुदूरपश्चिमको क्रिकेटलगायत समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारले आफनो तर्फबाट सक्ने सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री देउवाले फाप्ला क्रिकेट मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनलगायत काम अघि बढाइएको जानकारी दिए । 

“क्रिकेटसँगै सुदूरपश्चिमको खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ”, उनले भने । 

प्रदेशको खेलकुदको विकासका लागि प्रदेश खेलकुद परिषद्ले परीणाममुखि काम देखाउन बाँकी रहेको मन्त्री देउवाको भनाइ थियो ।  

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफनो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको बताए ।

उनले नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गरे । 

“नेपाली क्रिकेट खेलाडीलाई न्यून पारिश्रमिक दिएर खेलाउनु परिरहेको छ”, क्यान अध्यक्ष चन्दले भने, “सातवटै प्रदेश सरकारले कम्तीमा पाँच खेलाडीलाई आत्मनिर्भर बनाउने गरी खेलकुदका योजना अगाडी बढाउनुपर्ने आवश्यकता छ ।”

नेपाली क्रिकेटमा अब नाम र दाम कमाउन सक्ने वातावरण बनेको उल्लेख गर्दै उनले सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको बताए । 

उनले नेपालको क्रिकेटको विकासका लागि क्यान सदैव सक्रिय रहँदै आएको बताए । 

साधारणसभामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका क्रिकेट सङ्घका प्रतिनिधि सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ