arrow

हड्डी बलियो पार्ने उपाय 

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८० भदौ २ शनिबार
article-dr kapilmani kc-2080-05-02.jpg

कमजोर हड्डी भएका मानिसहरुमा सामान्य चोटपटक लागेमा पनि हड्डी भाँच्चिएर ठूलो अप्रेशन गर्नुपर्ने अवस्था आउन सक्छ । हामीहरुमध्ये धेरै जनाले अनुभव गरेका हुन सक्छौँ कि बूढाबूढीहरु घरभित्रै बाथरुममा चिप्लिएर हात खुट्टा भाँचिदा लामो उपचार पद्दतिमा जानु परेको हुन सक्छ । 

त्यसकारण कमजोर हड्डी भएमा सानो चोटपटकले  पनि सजिलैसँग हात खुट्टाका हड्डीहरु भाँचिन सक्छन् । कमजोर हड्डी भएका मानिसहरुमा स्वतः मेरुदण्डका हड्डी थिचिएर ढाड  कुप्रो हुन सक्ने अवस्था पनि आउन सक्छ । 

साथै कमजोर हड्डी भएमा हड्डीहरु दुख्ने, थोरै काम गर्दा पनि थकाइ लाग्ने, लामो समयसम्म टेबल कुर्चीमा बसेर काम गर्दा ढाड दुख्ने लगायत अरु धेरै समस्याहरु आउन सक्छन् । 

यसर्थ हड्डी बलियो पार्ने उपायहरु थाहा पाउनु निकै अर्थपूर्ण देखिन्छ ।

हुनत कुन मानिसको हड्डी कति बलियो हुन्छ भनेर चर्चा गर्दा यो केही हदसम्म वंशानुगत पनि हुन्छ । जस्तै अरु मूलका मानिसहरुको तुलनामा अफ्रिकन  मूलका मानिसहरुको हड्डी ज्यादा बलियो हुन्छ । यद्यपि केही यस्ता उपायहरु छन् जसले हड्डी बलियो बनाउन मद्दत गर्दछन् । 

नियमित ब्यायाम गर्नु हड्डी बलियो बनाउने सर्वोत्तम उपाय हो । शहरमा बस्ने र गाउँमा बस्ने मानिसहरुको तुलना गर्दा गाउँमा बस्ने मानिसहरुको हात र खुट्टाका हड्डीहरु निकै ठूला हुन्छन् भने शहरका मानिसहरुका खुट्टाको तुलनामा भुँडी ठूलो हुन्छ ।

शहरका  मानिसहरु मोटाघाटा देखिए पनि खुट्टाहरु पातला हुन्छन् । यो नियमित ब्यायामको करामत हो । 

यद्यपि चाहिने भन्दा धेरै ब्यायाम गर्दा पनि घुँडाका हड्डीहरु खिइने हुन सक्छ । 

त्यसकारण नियमित अनुशासित भएर कुनै परिधि भित्र रहेर ब्यायाम गर्दा हातखुट्टाका हड्डीहरु बलियो हुन्छन् । 

त्यसमा पनि हिँड्ने, पौडी खेल्ने जस्तो एरोबिक ब्यायाम हड्डी बलियो पार्नको लागि निकै उपयोगी हुन्छ ।

हड्डी बलियो पार्ने अर्को उपाय भनेको धुमपान र मध्यपान नगर्नु हो । नियमित चुरोट, बिँडी र मदिरा सेवन गर्ने मानिसहरुको निःसन्देह हड्डीहरु कमजोर भएर सानो चोट लागेर पनि भाँचिन सक्छन् । 

यद्यपि कति मात्रा र कति समयसम्म मध्यपान र धुमपान गरिएको छ, त्यसको आधारमा हड्डी कति कमजोर छ भन्ने कुराको निर्धारण गर्दछ । 

खाने कुराहरुमा दूध दही, माछामासु, गेडागुडी, ओखर, बदाम, सागसब्जीहरु निकै लाभदायक देखिन्छन् । 

हामी सबैलाई थाहा भएकै कुरा हो धेरै भात, चिल्लो भएको खानेकुरा, जंक फुडहरु स्वास्थ्यका हिसाबले पनि अनुपयुक्त देखिन्छ । 

धेरै मोटो भएर मात्रै हड्डी बलियो हुने होइन । यसर्थ एउटा मन्त्र हामी सबैले मनन गर्नु पर्दछ । धेरै खाने कम बाँच्ने, कम खाने धेरै बाच्ने । 

नियमित रुपमा घाममा बस्ने वातावरण मिलाउँदा शरीरलाई चाहिने भिटामिन डी प्राप्त हुन्छ। भिटामिन डी शरीरको हड्डी बलियो पर्ने एउटा महत्वपूर्ण तत्व हो । 

माथि उल्लेख गरेका उपाएहरु  हड्डी बलियो पार्ने प्राकृतिक बिधिहरु हुन् ।  यो बाहेक केही भिटामिन र औषधि सेवन गरेर पनि हड्डी बलियो पार्न सकिन्छ । 

महिलाहरुमा महिनाबारी बन्द भएपछि अथवा कुनै कारणले पाठेघर शल्यक्रिया गरेर निकाल्नु परेको अवस्थामा पाठेघर नजिकैको ओभरीबाट निस्कने इस्ट्रोजन हर्मोन नहुँने हुँदा हड्डीहरु चमत्कारिक रुपमा कमजोर हुँदै जान्छन् ।  

पुरुषहरुमा पनि ७०–७५ वर्ष भन्दा माथि भैसकेपछि हड्डीहरु कमजोर हुँदै जान्छन् । केही  वंशानुगत रोगहरुमा सानै उमेरदेखि हड्डी कमजोर हुने समस्या हुन सक्छ ।  

यस्ता परिस्थितिहरुमा विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार क्याल्सियम, भिटामिन डी सेवन गर्दा हड्डीहरु बलियो हुन्छन् ।  हड्डी कमजोर हुनबाट बचाउने अर्को औषधि बिस्फ़स्फोनेट हो जुन चिकित्सकको सुझावअनुसार नै सेवन गर्नुपर्छ । 
 
अर्को महत्वपूर्ण कुरा हो स्टेराइड औषधि । जानेर वा नजानेर गाउँघरतिर यो औषधिको धेरै प्रयोग भएको देखिन्छ ।  बिरामीहरुले आफैँ औषधि पसलमा गएर स्टेराइड औषधि किनेर लामो समय सम्म सेवन गरेको पाइएको छ जुन औषधिले हड्डी कमजोर बनाउने मात्र होइन शरीरमा अरु गम्भीर प्रकृतिका समस्याहरु पनि ल्याउन सक्छ । 

त्यसकारण फार्मेसी पसलहरुले पनि चिकित्सकको सल्लाह बेगर स्टेराइड औषधि बिरामीलाई दिनु हुँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ