arrow

आइतबारदेखि हात्तीपाइले विरुद्धको औषधि अभियान

वैदेशिक रोजगारीबाट फर्काइए हात्तीपाइले संक्रमित झापाका छ जना     

हात्तीपाइलेको संक्रमणबाट कोशी प्रदेशका १४ वटा जिल्लामध्ये १३ वटा जिल्ला मुक्त, झापा १३ वर्षदेखि संघर्षरत, समस्या औषधि नलिने

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ वैशाख १५ शनिबार
hattipaile-rog-biruddha.jpeg

झापा । हात्तीपाइले रोगको संक्रमण देखिएपछि वैदेशिक रोजगारीमा रहेका ६ जना नेपाल फर्किएका छन् । वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका उनीहरुमा हात्तीपाइले रोगको संक्रमण देखिएपछि उनीहरुलाई नेपाल फर्काइएको हो ।

नेपाल फर्किएकामा झापाको  मेचीनगर नगरपालिकाका ३ जना , बाह्रदशी गाउँपालिकाका २ जना र कचनकवल गाउँपालिकाका १ जनालाई मलेसियाबाट नेपाल फर्काइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

रोगको संक्रमण देखिए पश्चात यसै वर्ष उनीहरुलाई नेपाल फर्काइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । साथै झापाका अन्य पालिकाहरुबाट वैदेशिक रोजगारीमा रहेका केही ब्यक्तिहरु पनि हात्तीपाइले रोग संक्रमण भएर नेपाल फर्किएको भन्ने जानकारी प्राप्त भए पनि पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका  जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिएका छ्न् ।

हात्तीपाइलेको संक्रमणबाट कोशी प्रदेशका १४ वटा जिल्लामध्ये १३ वटा जिल्ला मुक्त भइसकेकेका छन् । तर झापा जिल्लामा विगत १३ वर्षदेखिको हात्तीपाइले रोगको संक्रमण अझै उन्मुलन हुन सकेको छैन ।

झापामा १२ वर्षदेखि सरकारले हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान संचालन गरेता पनि अधिकांशले औषधि सेवन नगरेका कारण झापामा सन् २०१२ देखि शुरु भएको हात्तीपाईले रोग विरुद्धको आम औषधि खुवाउने अभियान अझै जारी छ ।

सन् २०२३ सम्ममा ६४ प्रभावित जिल्लाहरुमध्ये ५७ जिल्लाहरुमा अभियान सम्पन्न भई औषधि खुवाउने अभियान बन्द गरिएको छ भने झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु गरी ७ जिल्लाहरुमा भने यही बैशाख १६ गते आइतबारदेखि ३० गतेसम्म आम औषधि खुवाउने अभियान संचालन हुन लागेको हो ।

सबै जिल्लाबासीहरुले औषधि सेवन गरेमा यस (सन् २०२४ बाट) वर्ष झापा जिल्लाको लागि यो अभियान अन्तिम बनाउने प्रयासमा रहेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए ।

हात्तीपाईले (फाइलेरिया) रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हो ।

यो एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीको संक्रमणले गर्दा हुन्छ। यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सार्दछ । 

यस रोगका लक्षण तथा चिन्हहरु प्रायः लामो समयपछि मात्र देखा पर्दछ।

मानिसको शरीरमा यस रोगको परजीवी प्रवेश गरेको ८ देखि १६ महिनामा मात्र यस रोगको लक्षण देखिन्छ।

शुरुका अवस्थामा ज्वरो आउने, जाडो हुने, शरीरमा कम्पन आउने, लिम्फ नलीहरु सुन्निने, रातो हुने, हात गोडामा नीला काला धर्साहरु देखिने, शरीरमा भएका गिर्खाहरुको आकार बढ्ने, दुख्ने, पुरुषको अण्डकोष वरपरका नसाहरु सुन्निने, दुख्ने, अण्डकोष सुन्निने, दुख्नेजस्ता लक्षण चिन्हहरु देखिन्छ। 

शुरुका अवस्थामा औषधि उपचार गरेमा यो रोग पूर्ण रुपमा निको हुन्छ। तर समयमा उपचार नपाएमा संक्रमण भएको १०–१५ वर्षमा यस रोगको दीर्घकालीन असरहरु देखिन्छ जस्तैः खुट्टा फुलेर हात्तीको जस्तो खुट्टा हुने, हात फुल्ने, पुरुषमा हाईड्रोसिल हुने, महिलाको स्तन र यौनाङ्ग सुन्निने आदि। यी समस्याहरु पूर्ण रुपमा स्थायी प्रकृतिको हुन्छ अर्थात कहिल्यै निको नहुने प्रकृतिको हुन्छ र यसले मानिसलाई कुरुप, अशक्त र अपाङ्गता गराउँदछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ