arrow

लताको स्वरमा अन्तिम गीत रेकर्ड गराउने शिखर सन्तोष

logo
मनोज लामिछाने, 
प्रकाशित २०८० भदौ २ शनिबार
article-manoj-lamichhane-20.jpg

नेपाली सांगीतिक जगतमा शिखर सन्तोषको नाम चर्चित छ । उनले नेपालमा मात्र नभइ भारतको बलिवुडमा पनि युवा संगीतकार र गायकको रुपमा आफूलाई स्थापित गरिसकेका छन् । 

उनले संगीत भरेका सबैजसो गीतहरु कर्णप्रिय छन् । संगीतकी देवी भनेर विश्वमा कहलिएकी गायिका लता मंगेशकरलाई ८४ वर्षको उमेरमा 
“फूल भन्छ फुली रहुँ,
जुन भन्छ चम्किरहुँ, 
मन त भन्छ, 
सबैसँग माया मोह राखी रहुँ,
बाँचुन्जेलीलाई,
बाँचुन्जेलीलाई” भन्ने बोलको गीत गाउन लगाएर नेपाली संगीत जगतमा सदाबहार गीतको रुपमा स्थापित बनाएका थिए । 

यो गीतमा नेपालका चर्चित गायक रामकृष्ण ढकालले पनि आफ्नो स्वर भरेर उनलाई साथ दिएका छन् । 

भारतीय छापाहरुका अनुसार शिखर सन्तोषद्वारा संगीतबद्ध यो गीत नै लता मंगेशकरको स्वरमा रेकर्ड गरिएको अन्तिम कमर्शियल गीत हो । 

यो गीत पश्चातस् लता मंगेशकरले हिन्दी तथा नेपाली कमर्शियल गीतहरुमा आफ्नो स्वर भरिनन् ।  

शिखर सन्तोषले लता मंगेशकरसँग मात्र होइन बलिउडका धेरैजसो नाम चलेका उदितनारायण झा, कुमार सानु, अभिजीत, भजन सम्राट भनेर चिनिने अनुप जलोटा,पंकज उदास, उषा मंगेशकर, अल्का याग्नी,  शान, केके, सोनु निगम, जावेद अली, कैलाश खेर, पापोन, सुनिधि चौहान, आदित्य नारायण, श्रेया घोषले जस्ता गायक गायिकाहरुको स्वरमा आफ्नो संगीत भरेका छन् ।   

इन्डियन आइडलका विजेता पवनदीप राजन र उपविजेता अरुनिता कान्जिलालको स्वरमा समेत उनले आफ्नो संगीत भर्न भ्याएका छन् । पवनदीप राजनले गाएको “घाम पनि गयो नौ डाँडा काटेर” र पवनदीप तथा अरुनिताले गाएको “घाम झैँ बलेकी” गीत उनीहरुको पहिलो नेपाली गीत हो । जुन गीत अहिले पनि चर्चाको शिखरमा छन् । 

पवनदीप, अरुनिता र शिखर सन्तोष

त्यसो त उनी र सुष्मा पूर्णिमा अर्यालले गाएको “पिरतीमा साइली भैरहन्छ ख्याल ख्याल” भन्ने गीतले पनि श्रोताको मन जित्न सफल भइसकेको छ ।

उनले संगीत दिएका हिन्दी सिनेमा मुसा द मोष्ट वान्टेड, शियासद, जुवान, तीज जस्ता हिन्दी, भोजपुरी तथा अन्य प्रादेशिक भाषामा गरी करिब १६ वटा सिनेमामा संगीत दिएका छन् । 

शिखर सन्तोषले संगीतबद्ध गरेका “जाना ओ मेरे जाना, मे हु तेरा दिवाना” भन्ने शानले गाएको, कुमार सानुले गाएको “हमने जमिपे चाँदको देखा था पहेली बार” र कैलाश खेरले गाएको “बन्दे मातरम्” गीत उनका राम्रा हिन्दी गीतहरुमा पर्छन् । 

परिचय, चकलेट र हालसालै प्रदर्शन गरिएको ‘ह्यारि कि प्यारी’ जस्ता ठूलो पर्दाका नेपाली चलचित्रहरुमा पनि उनको संगीत सुन्न पाइन्छ । 

डा. भोला रिजालको सिर्जना, मीना पोख्रेल निरौला र सपनकुमार राईको स्वरबद्ध “भरखर ठडिएको धरहरा हल्लियो” भन्ने गीत पनि चर्चामा छ ।  ।

 आनन्द अधिकारीको गीत र रामकृष्ण ढकालको स्वरमा लयबद्द गरिएको “पहाडको छुक छुके रेल” गीतको बोलबाट नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेका शिखर अहिले नेपालका अब्बल, व्यस्त र चर्चित संगीतकारमा पर्दछन् । 

आनन्द अधिकारीले सिर्जना गरेका र गायिका आस्था बीले गाएको “मलाई पुगेन, पुगेन यो बैशले”, रामकृष्ण ढकालले गाएको “धारिलो रैछ माया”, मिलन अमात्यले गाएको “यो माया पनि नाटक”, कैलाश खेर र शुषमा राणाले गाएको “फूलको थुँगा माथि मुटु”, मनोज लामिछानेद्धारा लिखित योगेश महत र मिलन मात्यले गाएको “हाँसी हाँसी त्यो नजरले तीर चलायो, आनन्द कार्कीले गाएको “पहिलो चोटी पिउँदै छु”, राजेन्द्र थापाद्वारा लिखित “जेट उडाउँछु घुईघुई, भुल्दिन नेपाली भुइँ” जस्ता थुप्रै गीतहरु उनका स्तरीय गीतहरु हुन् । 

उनको संगीतमा नेपालका चर्चित गायक गायिकाहरु अन्जु पन्त, ईन्दिरा जोशी, राजेश पायल राई, प्रमोद खरेल, शिव परियार जस्ता गायकहरुले गाउन भ्याएका छन् । 

उनले बलिवुडका चर्चित गायक उदितनारायण झा मात्र होइन उनकी श्रीमती दीपा नारायण झा र छोरा आदित्य नारायणको स्वरमा पनि उनले आफ्नो संगीत दिन भ्याएका छन् । 

उदीतनारायण झा र शिखर सन्तोष

“फूल जस्तै बास्ना छर्दै तिमी आउन मायालु” भन्ने आदित्य नारायणले गाएको गीत उनको चर्चित गीत मध्येमा पर्छ ।
 
अहिले गीत संगीतको विकाससँगै विकृतिहरु पनि भित्रिरहेको छ । पश्चिमा संगीतको नक्कल गर्ने प्रवृत्तिले कुनैदिन आफ्नो मौलिकता हराउन सक्छ । यसतर्फ सबै सजग हुनुपर्छ । 

हाम्रा अग्रज गीतकारहरु कालीप्रसाद रिजाल, हरिभक्त कटुवाल, नीर शाह, भिम विराग, डा। भोला रिजाल, माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चेतन कार्की, दिनेश अधिकारी जस्ता हस्तिद्दारा लिखित गीतहरु अहिले पनि कर्णप्रिय छन् । 

उनीहरुले सिर्जना गरेका  शब्दहरु एकपटक सुनेपछि सदा मन मस्तिष्कमा रहिरहन्छ । यस्ता सृजनाहरुतर्फ आजका पुस्ताहरुले ध्यान दिन आवश्यक छ । 

गीत गाउनका लागि गाउने, लेख्नका लागि लेख्ने र संगीत भर्नका लागि संगीत भर्ने कार्यले राम्रा र स्तरीय गीतहरु ओझेलमा पर्न सक्छ । 

यसतर्फ हाम्रो ध्यान जान आवश्यक छ । स्तरीय गीतको सन्दर्भमा हामीले यो स्तरीय गीत हो भनेर कसरी बुझ्ने रु भन्ने प्रश्नमा उनी भन्छन् “शब्द, लय र संगीतको समायोजन नै उत्कृष्ट गीत हो ।” 

शिखरले भनेझैँ, शब्द, लय र संगीतको समायोजन नै उत्कृष्टता हो । यसका लागि साधनाको खाँचो हुन्छ । क्षणिक चर्चाका लागि श्रृजित गीत तथा संगीतले कुनै दिन आफ्नो मौलिकता हराउन सक्छ । यसतर्फ सबै सचेत हुनु आवश्यक छ ।

नेपालमा राम्रा गीतकार, संगीतकार र गायकहरु छैनन् भन्न खोजिएको होइन । राम्रा गीतकार, संगीतकार र गायकहरु छन् । पश्चिमा प्रभाव र नक्कल गर्ने बानीले कुनै दिन आफ्नो मौलिकता हराउन सक्छ कि भन्ने मात्र हो । 

नेपालमा शिखर सन्तोष जस्ता धेरै कलाकारहरु छन् । जसले सांगीतिक दुनियाँमा अलग पहिचान बनाएका छन् । 

कलाकारहरु समाजका धरोहर हुन् । राज्यका सम्पत्ति हुन् । उनीहरुको सम्मान र सुरक्षातर्फ राज्यको ध्यान जान अति आवश्यक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ