arrow

मकवानपुरमा आँखा पाक्नेका बिरामी बढे, अस्पतालमा उपचार गराउनेको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
aakha-jaach.jpeg

बागमती ।  हेटौँडालगायत मकवानपुर जिल्लामा आँखा पाक्ने रोगका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा  उपचार गराउनेको संख्या बढ्दै गएको छ । आँखा रातो हुने,  चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको संख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।

दैनिक दुई सयको हाराहारीमा उपचार गराउन आउने आँखाका बिरामी रहेको सो अस्पतालमा अहिले दैनिक सात सयसम्म आँखा पाक्ने रोगको बिरामी आउने गरेको बताइएको छ । 

अस्पतालका नेत्र विशेषज्ञ डा सुनिल थकालीले सो अस्पतालमा आँखा पाक्ने रोगको सङ्क्रमणका बिरामी दैनिक करिब सात सयको हाराहारीमा आउने गरेको जानकारी दिए ।

आँखाका बिरामीको संख्या अत्यधिक भएपछि अस्पतालले उपचार कसरी दिने भन्ने विषयमा बैठक बसेर छलफलसमेत भएको उनले भने ।

बैठकले आकस्मिक उपचारका लागि मात्र आउनका लागि सूचना जारी गरेकोे छ भने अस्पतालको क्षमताअनुसार दैनिक पाँच सय मात्र टिकट वितरण गर्ने प्रणाली सुरु गरिएको बताइएको छ ।

अस्पतालमा उपचार गराउन आउनेमध्ये बालबालिका अत्यधिक रहेको अस्पतालका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए । विद्यालयमा एउटै कक्षामा धेरै बालबालिका अध्ययन गर्ने र बस्ने गर्दा सो रोगको सङ्क्रमण विद्यार्थीहरूमा बढ्दै गएको हो । ती बालबालिकाबाट घरका सदस्यहरूमा आँखा पाक्ने रोग सरिरहेको छ । 

अस्पतालका अर्का आँखा विशेषज्ञ डा एलिना गौचनका अनुसार बिरामीको संख्या बढ्दै गएपछि अस्पतालको फार्मेसीमा मौज्दात औषधि सकिन लागेको र अभावको स्थिति आएको छ ।

बिरामी जति संख्यामा बढ्दै जान्छ त्यति नै संख्यामा औषधिको आवश्यकता रहेकाले अबको केही दिनमा औषधिको अभाव हुने निश्चित रहेको उनले बताए । यस्तो अवस्थामा पनि सङ्क्रमणका रूपमा फैलिएको सो रोगको सम्बन्धमा हेटाँैडा उपमहानगरपालिका, जनस्वास्थ्य कार्यालय हेटौँडा र अन्य पालिकाले खासै  ध्यान नदिएको अस्पतालका चिकित्सकहरूको गुनासो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ