arrow

मधुमेहमा हुने हाडजोर्नी समस्या: फ्रोजन शोल्डर

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८० साउन २० शनिबार
article-kapilmani-kc-frozen-shoulder-2023-08-05.jpg

हामी सबैलाई थाहा भएको कुरा हो कि मधुमेहका कारण मानव शरीरमा विभिन्न प्रकारका जटिलताहरु देखा पर्दछन् । यो लेखमा मधुमेह भएका बिरामीलाई ज्यादा हुने हाडजोर्नीको समस्या फ्रोजन शोल्डरको बारेमा केही तथ्यहरु अवगत गराउन गैरहेको छु । फ्रोजन शोल्डर भनेको कुमको जोर्नी जाम भएर दुख्ने र पूरा चलाउन नसक्ने अवस्था हो । 

फ्रोजन शोल्डर के हो ?
कुमको जोर्नी वरिपरिको मासुको झिल्ल, लिगामेन्ट र जोर्नीको कभर विविध कारणले जाम हुँदा शुरुको अवस्थामा कुमको जोर्नीमा दुखाइ हुन्छ । दुखाइको मात्रा विस्तारै बढ्दै जान्छ र  दुखाइ सरेर पाखुराको भागतिर आउँदछ । यसलाई काँध जम्नु पनि भनिन्छ ।

काम गरेको अवस्थामा भन्दा आराम गरेको बेला दुखाइ ज्यादा हुनुको साथै रातको समयमा दुखाइ अझ बढी हुन्छ । कपाल कोर्न, मुख धुन, लुगा लगाउनलगायत दैनिक जीवनमा गर्ने कामहरु गर्न गार्हो हुँदै जान्छ ।

के कारणले हुन्छ ?
कुमको जोर्नी वरिपरिको हड्डी भच्चिएपछि लामो समयसम्म जोर्नीलाई नचलाउँदा जोर्नी जाम हुने परिस्थिति आउँदछ । कुमको जोर्नीनेर शल्यक्रिया गरेपछि पनि जोर्नी जाम हुन सक्छ । 

बूढाबूढीहरुले स्वभाविक रुपमा हातहरु कम चलाउने हुँदा तिनीहरुमा पनि कुमको जोर्नी जाम हुन्छ। यो बाहेक मधुमेह, थाइराइड, मुटुको समस्या भएका मानिसहरुमा पनि फ्रोजन सोल्डरको समस्या बढी हुन्छ । 

यीमध्ये मधुमेह भएका बिरामीहरुमध्ये झण्डै ३० देखि ४० प्रतिशत बिरामीहरुमा कुमको जोर्नी जाम हुने समस्या हुन्छ । कहिलेकाहिँ कुमको जोर्नी दुखेर ओपीडीमा आउने बिरामीहरुको जाँच गर्दा उनीहरुलाई मधुमेह भएको पहिलो पटक थाहा हुन्छ ।

समाधानका उपायहरु 
फ्रोजन शोल्डर भएका बिरामीहरुको कुमको जोर्नीको एक्सरे गर्दा खास केही पनि देखिँदैन । त्यसकारण बिरामीका लक्षणहरु र जाँच गरेको आधारमा प्रोजन सोल्डर  भए नभएको पत्ता हुन्छ । 

धेरैजसो बिरामीहरु शुरुको अवस्थामा विशेषज्ञ डाक्टरसँग परामर्श नगर्दा जोर्नी निकै नै जाम भैसकेको अवस्थामा उपचार शुरु गर्दछन् । जसले गर्दा रोग सन्चो हुनको लागि लामो समय लाग्दछ । 

कुनै कुनै बिरामीहरु कुन रोगको डाक्टरलाई देखाउने भनेर अलमल गरिरहेका हुन्छन् । यो समस्या अर्थोपेडिक डाक्टरले हेर्ने समस्या हो । यो समस्या समाधान हुनको लागि रोगको लेबल अनुसार ६ देखि ९ महिनासम्म पनि लाग्न सक्छ। 

मूलतः यो रोगको लागि केही समय एन्टी इन्फ्लामटरी मेडिसिन खानु पर्दछ । यसको साथ साथै फिजिओथेरापिस्टको सल्लाहअनुसार थेरापी गर्नु पर्दछ।  

यसले पनि ठीक नभएमा थेरापीको साथै स्टेरोइड इन्जेक्सन कुमको जोर्नीमा लगाउन सकिन्छ । (डा केसी अर्थोसर्जन हुन् । उनी बुटबलको मर्सी सिटी हस्पिटलसँगै देवदह मेडिकल कलेजमा आबद्द छन्)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ