arrow

खुल्दै सशस्त्रको बढुवा जाम

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । लामो समयदेखि सशस्त्र प्रहरीमा रोकिएको बढुवा जाम खुल्ने भएको छ । सरकारले सशस्त्र प्रहरीमा निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १ सय २७ नयाँ दरबन्दी सिर्जना गरेपछि १८ वर्षदेखि रोकिएको बढुवा जाम खुल्ने भएको हो ।

जवानदेखि नायव निरीक्षक (सई) सम्मका केही पद मिलान गरेर अधिकृत स्तरका १ सय २७ दरबन्दी थपिएको यसका लागि सशस्त्र प्रहरी चाँडै नै सूचना निकालेर बढुवा आह्वान गर्ने भएको छ । सरकारले केही दिनअघि  ५८ जना वरिष्ठ सई सहितको नयाँ दरबन्दी थप गरिएको छ । 

साउन ३ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकका ११ दरबन्दी सिर्जना गरेको हो । त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ रहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । रिक्त रहेको चारसहित अब १५ जना एसएसपी हुनेछन् । यसका लागि सशस्त्र प्रहरीले चाँडै नै सूचना जारी गर्ने तयारी गरेको छ । 

यस्तै एसपीमा ४१, डीएसपीमा २८ र इन्स्पेक्टरमा ४७ नयाँ दरबन्दी सिर्जना भएको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार  संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृत स्तरमा थोरै दरबन्दी थपिएको हो । 

नयाँँ दरबन्दी सिर्जनासँगै सहायक हवल्दारदेखि एसएसपीसम्म करिब ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुलेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले इन्स्पेक्टरदेखि नायब महानिरीक्षक (डीआईजी) सम्म करिब ४ हजार ५ सय जनशक्तिको नयाँ दरबन्दी सिर्जना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका थिए । 

सीमा सुरक्षा, सशस्त्र प्रहरी अस्पताल र अन्य युनिटमा जनशक्ति अभाव रहेको भन्दै उक्त संख्या थप्न महानिरीक्षक अर्यालले गृहमा प्रस्ताव गरेका थिए ।
त्यसपछि गृहले सशस्त्रको प्रस्ताव रायका लागि अर्थमा पठाएकामा तत्काल प्रस्ताव गरेअनुसार जनशक्ति थप्न नसकिने भन्दै बढुवामा देखिएको गाठो फुकाउन तल्लो दर्जामा संख्या मिलान गर्ने गरी केही अधिकृत स्तरका १ सय २७ र वरिष्ठ सईको ५८ पद संख्या बढाउन सैद्धान्तिक सहमति दिएको थियो । 

अर्थको सहमतिपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत साउन ३ मा ती पद संख्या बढाउन प्रस्ताव पेस गरेका थिए । योसँगै डेड दशकसम्म एउटै पदमा बसेका निरीक्षकलाई डीएसपीसहितमा बढुवा गर्न बाटो खुलेको छ । 

१ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ । यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछ । 

यसैगरी २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ ।     

खाली पदमा बढुवा गर्दै जाने संगठनको नीति तथा प्रधानमन्त्री र गृहमन्त्री, गृह मन्त्रालयका कर्मचारी, अर्थमन्त्री र सो मन्त्रालयका कर्मचारीसमेत यसमा अत्यन्त सकारात्मक भएका कारण पनि एकै पटक ठूलो संख्यामा बढुवाका लागि प्रक्रिया शुरु भएको हो । 

अहिले बढुवा नभएको भए यी दर्जाहरुमा अझै ७–८ वर्ष बढुवा नहुने अवस्था सृजना हुने भएको थियो । तर सूचना प्रकाशितसँगै लामो समयसम्म बढुवा नहुने समस्या हट्ने भएको छ ।     

विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि शुरु भएको छ भने सशस्त्र प्रहरी बलमा केही वर्षयताको सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवासमेत हुन लागेको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएकै कारण पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करिब ३ हजार कर्मचारी बढुवा भएका छन् ।     

यस्तै ३१ सय भन्दा बढ ीको पदस्थापन, २० जनाको विशेष बढुवा, करिब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ