arrow

बैतडीमा तीन दशमलव छ माथि जीपीए ल्याउने शून्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
SEE-1280x720.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा खस्किँदै गएको छ । 

सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसईईको नतिजामा देखिएको हो । 

हालै सार्वजनिक एसईई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव छभन्दा माथि जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या न्यून छ । 

शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि चार सय २२ विद्यार्थीको मात्रै तीन दशमलव छभन्दा माथि जीपीए आएको जनाएको छ ।

यसमा बैतडीमा तीन दशमलव छभन्दा माथि जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । 

उनले भने, “बैतडीबाट पाँच हजार तीन सय ३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि तीन दशमव छभन्दा माथि जीपीए आएको छैन । गत वर्ष पनि कसैको उक्त जीपीए आएको थिएन ।”

सुदूरपश्चिमका नौ जिल्लामामध्ये तीन दशमव छभन्दा माथि जीपीए ल्याउन नसक्ने जिल्ला बैतडीमात्रै रहेको हो । बैतडीबाहेक प्रदेशमा सबैभन्दा बढी कैलालीबाट दुई सय २७ जनाले तीन दशमव छभन्दा माथि जीपीए ल्याएका छन् । 

यस्तै डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट नौ जनाले, बाजुराबाट पाँच र बझाङबाट एक जनाले तीन दशमव छभन्दा माथि जीपीए ल्याएका छन् । 

माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको हो । निरन्तररूपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भए पनि स्थानीय तहहरूले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन् । 

स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको हात पार्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए । 

अहिले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ । उनले भने, “स्थानीय तहको ध्यान शिक्षातिर कम गएको छ । गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो । स्थानीय सरकारले नै गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ