arrow

संघर्ष युवाको कुर्सी पाकाको 

एमालेभित्र भाँडभैलोः जमाना युवाको स्टेयरिङ बूढाको

एमालेमा पहिलो पुस्ता बाहेक दोस्रो पुस्ता पार्टी हाँक्न सक्षम छैन भन्ने सन्देश प्रवाह

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
kp-ishwor-subash-astalaxmi-yubraj-rambahadur.jpg

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकबाट ७० वर्षे उमेरहद निलम्बन गरेपछि देशभरका पार्टी सदस्यहरुले आन्तरिक रुपमा विरोध गरेका छन् । केहीले सामाजिक सञ्जालबाट तिब्र प्रतिक्रिया जनाउँदै विरोध गरेका छन् । युवा नेताहरु पनि यो निर्णयबाट पार्टीले नयाँ जीवन पाउने र रुपान्तरण हुनबाट बञ्चित रहेको भन्दै सन्तुष्ट देखिएका छैनन् । ‘पार्टीमा युवा चाहिने नेतृत्वचाहि बूढाले गर्ने’, यस्ता अभिव्यक्तिहरु सामाजिक सञ्जालमा छरपष्ट भएका छन् । 

पार्टीको नवौँ महाधिवेशनबाट ७० वर्षे उमेरहद लागू गरेको एमालेले अहिले आएर उमेरहद निलम्बन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुवास नेम्वाङसहितका धेरै नेताहरुलाई सहजीकरण भएको छ । कार्यकारी जिम्मेवारीमा ७० वर्षे उमेरहदको विधानको व्यवस्था निलम्बन गर्ने निर्णयले एमालेको आन्तरिक जीवनमा ठूलो धक्का लाग्ने नेताहरुको दाबी छ । 

१५ वर्षदेखि लागू यो व्यवस्थाबारे अन्तरिमकालका लागि मात्रै निर्णय लिइएको नेताहरूले जनाए पनि कार्यकर्ता भने त्यसलाई स्वीकार्न तयार छैनन् । तर साढे तीन वर्षपछि हुने ११ औँ महाधिवेशनले यसलाई निरन्तरता दिए एमालेमा नेतृत्व विकास र हस्तान्तरणमा धक्का लाग्ने भन्दै कार्यकर्ताहरुले अस्वीकार गरिरहेका छन्  । 

अहिले एकीकृत समाजवादीबाट फर्किएका मुकुन्द न्यौपानेलाई केन्द्रीय समितिमा ल्याउन सचिवालयबाट विधानको व्यवस्था निलम्बन गरिए पनि यसलाई केन्द्रीय कमिटी हुँदै महाधिवेशनबाट अनुमोदन गराउने योजना शीर्ष नेतृत्वको रहेको स्रोतको भनाइ छ । त्यस्तो हुँदा केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बन्ने बाटो खुला हुनेछ । ७० वर्ष पार गरिसकेकाले हालको विधानअनुसार ओली पुनः अध्यक्ष बन्न पाउँदैनन् । 

त्यस्तै उमेरहदका कारण आगामी महाधिवेशनबाट बिदा हुन लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल लगायतका नेता पनि पार्टीको सक्रिय नेतृत्वमा रहने बाटो खुल्ने परिस्थिति बन्दै छ ।  

अहिले पोखरेल, शाक्य र ज्ञवाली ७०, नेम्वाङ ७१, बादल ६८ वर्षका छन् । यस्तो निर्णयले अहिले एमालेमा पहिलो पुस्ता बाहेक दोस्रो पुस्ता पार्टी हाँक्न सक्षम छैन भन्ने सन्देश प्रवाह गरेको छ ।

जसले गर्दा एमालेको गत बैशाखमा बसेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय भने विरोधाभासपूर्ण देखिएको छ । एकातर्फ ७० वर्षे उमेरहद हटाएर नेताहरूलाई पार्टी नेतृत्वमा राखिराख्ने चलाखीपूर्ण निर्णय गरेको छ भने अर्कातर्फ युवाहरूलाई नेतृत्वमा ल्याउने प्रस्तावले युवाहरुलाई चसक्क मन चिढ्याएको छ । 

‘एकातर्फ युवाहरुलाई पार्टीमा संगठित गर्ने र अर्कातिर नेतृत्वचाहि पुरानाले नै गर्ने जुन कुरा आएको छ त्यसले एमालेमा रहेका युवाहरुलाई निराशा बनाएको छ’, एक केन्द्रीय सदस्यले भने । उनका अनुसार यसले पार्टी निर्माण भन्दा पनि क्षयीकरण अभियान शुरु हुनेछ । तर यसको बारेमा एमालेका केन्द्रीय सदस्हयरुले खुलेर बोल्न सकेका छैनन् । 

एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा पार्टी संरचनामा पाका उमेर समूह र युवा उमेर समूहका नेताकार्यकर्ताको संख्यामा असन्तुलन देखिएको भन्दै अधिवेशन र पुनर्गठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एक तिहाई सदस्य ३५ वर्ष मुनिकालाई संगठित गर्नेगरी युवा लक्षित अभियान सञ्चालन गर्ने भनिएको छ । केन्द्रीय नेतृत्वमा ७० वर्षे उमेर हद निलम्बन गरेर नेतृत्वमा जाम बनाउने नीति लिएपछि यसबाट हुनसक्ने क्षयीकरणतर्फ एमालेका नेताहरु सजग रहेको बताइएको छ । 

ओली नेतृत्वमा रहिरहन यो निर्णय भएको बताउने गरिएको छ । पार्टीमा एमालेका नेताहरु मुुकुन्द न्यौपाने लगायतलाई देखाउने र ओली आफैँ नेतृत्वमा रहिरहने प्रपञ्चबाट यो प्रस्ताव आएको बताइएको छ । 

यो निर्णयले कालान्तरमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङहरुलाई बेफाइदा हुने र महासचिव शंकर पोखरेलको टिमलाई फाइदा पुग्ने बताइएको छ ।  

एमालेले दुई कार्यकालभन्दा बढी मुख्य नेतृत्व अथवा अध्यक्ष हुन पाउने व्यवस्था गरेको छ । त्यसो हुँदा उमेरहद  हटाएर मात्रै ओली अध्यक्षमा तेहेरिन पाउने छन् । त्यसका लागि दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान पनि हटाउनुपर्ने हुन्छ । ओलीको हकमा यो व्यवस्था पनि हट्ने एमाले नेताहरुको बुझाई छ । 

महाधिवेशन बिना नै विधान संशोधन ?
एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी–सदस्यमा निर्वाचित–मनोनितत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्थालाई तत्काल निलम्बन गर्दै हटाउने प्रस्ताव छ ।

केन्द्रीय कमिटीले विधान संशोधनसम्बन्धी लिखित प्रस्ताव विधान महाधिवेशन समक्ष प्रस्तुत गर्नुपर्नेछ वा केन्द्रीय कमिटीले विधान महाधिवेशन शुरू हुनुभन्दा एक महिना अगाडि नै मातहत कमिटी र सदस्यहरू समक्ष विधान संशोधनसम्बन्धी प्रस्ताव छलफलका लागि पठाउनुपर्नेछ  । 

यदि यस्तो पनि नभए विधानमा संशोधन पेश गर्न चाहने प्रदेश वा स्थानीय कमिटी वा सदस्यले लिखित सुझाव तोकिए बमोजिम केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्नुपर्नेछ । 

यस्तो सुझावका सम्बन्धमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्नेछ । तर अहिले सचिवालय बैठकबाटै यसलाई निलम्बनमा राखिएको छ । एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी–सदस्यमा निर्वाचित–मनोनित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ । 

त्यस्तै ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन–अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखिएको छ । 

नेकपा एकीकृत समाजवादीमा गएका मुकुन्द न्यौपाने एमालेमा नै फर्केपछि उमेरहद हटाउने अवसर नेतृत्वलाई बनेको थियो । अझ यो बीचमा वामदेव गौतमलाई पनि देखाइयो । 

एमालेको बुटवलमा भएको नवौँ महाधिवेशनबाट ७० वर्ष उमेर पुगेको भन्दै स्वैच्छिक रूपमा मोदनाथ प्रश्रितले पार्टी कामबाट बिदा लिएका थिए । त्यसपछि एमालेमा महाविधेशनमा ७० वर्ष कटेका नेताहरू बिदा लिँदै आएका छन् । 

७० वर्ष उमेर पुगेका नेताहरू कम्युनिष्ट मञ्चमा बस्ने गरेका छन् । नवौँ महाविधेशनमा पनि भरतमोहन अधिकारी र सिद्धिलाल सिंह बिदा भएका थिए । दशौँ महाधिवेशनबाट सक्रिय राजनीतिमा रहेका सत्यनाराण मण्डलले बिदा लिएका थिए । 

पार्टी विभाजनपछि २०७८ असोजमा एमालेले ललितपुरमा पहिलो विधान महाधिवेशन गरेको थियो । त्यसले पनि ७० वर्षे उमेरहद पास गरेको थियो । फागुनमै महाधिवेशन गर्नुलाई कतिपयले त्यही उमेरहदलाई कारण मान्छन् । 

एमाले उपमहासचिव प्रदीप ज्ञावालीले यो विषयमा पार्टीका नेताहरु बाहिर बस्ने परिस्थिति बनेकाले तत्काललाई निलम्बन गर्नुपरेको बताउँछन् । ‘कतिपय नेताहरु बाहिर बस्नु भयो, पार्टी विभाजन भयो फर्केर आउनेहरुका लागि पनि ढोका बन्द हुने अवस्था देखियो । जसले गर्दा तत्काललाई निलम्बन गर्नुपरेको हो’, उपमहासचिव ज्ञवालीले भने । 

तर एमालेका सचिव योगेश भट्टराईको तर्क भने अलिक फरक छ । उनले यो निलम्बनको प्रकृया दीर्घकालीन नहुने र अर्को महाधिवेशनबाट कायम हुने दाबी गर्छन् ।

‘अहिले मुकुन्द न्यौपाने र वामदेव गौतमको सन्दर्भ आएकै कारण निलम्बन भएको हो तर विधान महाधिवेशनबाट यो कायम हुन्छ’, सचिव भट्टराईले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ