arrow

तेस्रो कार्यकालका लागि अस्पतालको जिम्मेवारी सम्हाल्न पुगे सिंह

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० जेठ २३ मंगलबार
laxman-singh-dadeldhura-hospital-president.jpg

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिंहको नियुक्ति खारेजको निर्णय कार्यान्वयन नगर्न  सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि पुनः सिंह अध्यक्षको कामकाजका लागि अस्पताल पुगेका छन् ।

तेस्रो कार्यकालका लागि अध्यक्षमा नियुक्त भएपछि यसअघि नै पदभार ग्रहण गरिसकेका अध्यक्ष सिंह अदालतको अन्तरिम आदेशपछि सोमबार अस्पतालमा पुगेका हुन् । 

अस्पताल पुगेसँगै उनले डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशको एकमात्र संघीय अस्पताल भएको भन्दै दरबन्दी अनुसार चिकित्सक ल्याउने जिकिर गरे । अस्पतालमा आवश्यकताअनुसार कर्मचारी ल्याउने जिम्मेवारी अस्पताल विकास समितिको भन्दै उनले छिट्टै नै आवस्यक जनशक्ति उपलब्ध हुने बताए ।

कर्मचारीहरुलाई जिम्मेवारी अनुसार काम गर्न निर्देशन दिदै उनले गुटबन्दी नगरी काम गर्न आग्रह गरे । साथै उनले अस्पतालका मेसु डा. चेतराज भट्टको कार्यशैलीप्रति पनि आपत्ति जनाए । अदालतको अन्तरिम आदेशपछि अस्पतालमा उपस्थित हुने जानकारी पाएर मेसु आफ्नो कार्यकक्षमा ताल्चा लगाएर गएको उनको आरोप छ ।

यसअघि बैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । तर उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति खारेज भएको थियो भने अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका थिए । 

तर, सर्वोच्च अदालतले ९ जेठमा सिंहको नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेशमा दिएको थियो । 

सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मन्त्री मोहनबहादुर बस्नेत र डडेल्धुरा अस्पताल विकास समितिविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ