arrow

कोशीको राजनीति

माओवादीले समर्थन फिर्ता लियो, कांग्रेस तात्यो, एमाले लत्रियो

logo
विवेक मिश्र, 
प्रकाशित २०८० जेठ २३ मंगलबार
congress-uml-maobadi.jpg
तस्बिर – फाइल ।

मोरङ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मङ्गलवार बिहान माओवादी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवोसहित बसेको बैठकले सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह इन्चार्ज सावित्रीकुमार काफ्लेले बताए । काफ्लेकै घरमा बैठक बसेको थियो ।

बैठकले आफ्ना मन्त्रीहरूलाई राजीनामा बुझाउन समेत निर्देशन दिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको छ ।

गत पुस २४ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको सरकारमा माओवादी केन्द्रबाट २ जना मन्त्री छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दुर्गाप्रसाद चापागाईं र वन, पर्यटन तथा वातावरण मन्त्रालयमा जीवन आचार्य मन्त्री छन् । 

दुवै मन्त्रीले आजै राजीनामा बुझाउने तयारी गरेको बताइएको छ । माओवादी केन्द्र सरकारबाट फिर्ता भएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । 

प्रदेश सभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा माओवादी फिर्ता भएपछि एमालेका ४० र राप्रपाका ६ गरी सरकारको समर्थनमा ४६ सांसद मात्र रहने छन् ।

कांग्रेसको तयारी
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । 

कोशी प्रदेशमा अहिले एमाले नेतृत्वको सरकार छ । एमाले संसदीय दलका नेता हिम्मतकुमार कार्की मुख्यमन्त्री छन् । 

 माओवादीले समर्थन फिर्ता लिएसँगै कांग्रेस तातेको हो । यसअघि नै जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

जसले गर्दा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ