विराटनगर । कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्ने भएको छ । केन्द्रमा लामो समयदेखि सत्ता समीकरण बदलिएको भए पनि माओवादी केन्द्रले एमालेलाई कोशीमा भने समर्थन दिँदै आएको थियो ।
तर नेपाली कांग्रेसले दबाब दिएसँगै माओवादीले समर्थन छाड्न बाध्य भएको हो । आज विराटनगरमा बसेको माओवादी केन्द्रको कोशी प्रदेश कमिटीले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
अब यो निर्णय संसदीय दलबाट अनुमोदन भएपछि माओवादीका तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिनेछन् ।
एमालेका हिक्मत कार्कीको नेतृत्वमा गत पुस २४ गते सरकार गठन भएको थियो ।
सरकारलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसदको समर्थन थियो । जसपाले यसअघि नै समर्थन फिर्ता लिइसकेको छ ।
सभामुखसहित कुल ९३ जना सांसद रहेको कोशी प्रदेश सभामा एमाले ४०, कांग्रेस २९, सभामुखसहित माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जनता समाजवादीका १ जना सांसद छन् ।
कोशीमा बहुमतको सरकार गठन गर्न ४७ सांसद चाहिन्छन् । अहिलेको अवस्थामा एमालेलाई राप्रपाले साथ दिइरहेका कारण जसले नेतृत्व गरेपनि कोशीमा बहुमत पुर्याउन कठिन हुने र राप्रपाको साथ आवश्यक रहेको छ ।
सरकार परिवर्तन गर्ने हो भने राप्रपाले अबको चार वर्ष नै मुख्यमन्त्री दिनुपर्ने प्रस्ताव विपक्षी दलहरुलाई पठाएको छ ।