arrow

मठमा तुलसीको दल राखियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
tulasi-ekadashi.jpg.jpeg

काठमाडौं ।  आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने वैदिककालदेखिको विधि छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । 

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरका मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । 

 आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइबढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । भगवान् विष्ण क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्ध आदि गर्नु नहुने शास्त्रीय विधि छ ।

 यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।

 आजका दिन सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । पानी पनि नपिई गरिने एकादशी व्रत भएकाले आजको एकादशीलाई निर्जला एकादशी भनिएको हो । आयुर्वेदिकरुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । यही तथ्य पुष्टि भएपछि ऋषिमुनिले तुलसी रोपेर पूजा आराधना गर्ने परम्परा बसालेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ