arrow

जनताको शिर झुकाउने गरि कुनै काम गर्दिन : मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
Surendra Panday.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशवासीका साथै नेपाली कांग्रेसका नेता कार्यकर्ताको शिर नझुकाउने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ द्वारा आयोजित ‘स्थानीय विकासमा नेपाली कांग्रेस र जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’ कार्यक्रममा मुख्यमन्त्री पाण्डेले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

मुख्यमन्त्रीकोरुपमा असल नियतका साथ सत्प्रयास गर्ने भएकोले आफूमाथि शंका नगर्न आग्रह गर्दै उनले भने, ‘मेरो कारणले तपाईको शिर निहुरिन दिने छैन, ढुक्क हुनुस् ।’

पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत हिजोको विवेकशील साझा पार्टी जस्तो हुने चेतावनी दिए । ‘विवेकशील जन्मिँदा जस्तो माहोल थियो, त्यस्तै माहोल अहिले चर्चामा आएका पार्टीको पनि देखिएको छ । अनि हिजोको विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र जहाँ गएर विसर्जन भए, अहिले चर्चामा आएका ति पार्टीको हविगत पनि त्यस्तै हुनेछ’, मुख्यमन्त्री पाण्डेले भने । 

उनले भने, ‘नेपाली कांग्रेससंँग इतिहास पनि छ, गर्व गर्नुपर्छ । तर ग्रोसरी पसल खोल्नेहरु, अमेरिकामा डलर कमाएर बस्नेहरु र वर्ल्ड बैंकमा काम गर्नेहरुले भनेको कुराकोमात्र पछि नलागौं ।’

प्रदेशको आगामी बजेटका सन्दर्भमा मुख्यमन्त्री पाण्डेले जनतालाई उत्पादनसँग जोड्न नसके भौतिक पूर्वाधारको विकासले मात्र देशको समृद्धि र जनताको चाहना पूरा नहुने बताए ।

जनतामा विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न नसक्दा सरकार र पार्टीप्रति असन्तुष्टि बढ्ने, युवाहरु विदेश पलायनकोक्रम बढ्ने लगायतका समस्या देखिएको उनले स्पष्ट पारे । 

उनले कृषि क्षेत्रसँग सम्बन्धित रहेर पाइलट प्रोजेक्टको तयारीमा सरकार रहेको स्पष्ट पारे । कृषिमा विगतका दिनमा पनि बजेट खर्चिँदै आएको भए पनि प्रभावकारी हुन नसकेको भन्दै उनले आगामी दिनमा कृषिले राम्रो फड्को मार्ने गरि योजना बनाउने प्रतिवद्धता जनाए । 

सरकारी कार्यालयमा टाईम कार्ड लागु गर्ने, लोकल रक्सीको ब्राण्डिंग गर्ने, नियम कानून बनाएर गाँजाको व्यवसायिक खेती प्राथमिकतामा राखिने मुख्यमन्त्री पाण्डेले स्पष्ट पारे ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले राम्रो गरिदिए हुन्थ्यो भन्ने अपेक्षा मात्र जनताले राखेको भन्दै प्रदेश र स्थानीय मात्र नभएर केन्द्रको सरकारसमेत कांग्रेसको पक्षमा रहेको बेला कांग्रेस नेता कार्यकर्ता चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए ।

चोर्ने, फोड्ने, लुटपाट गर्नेहरुसमेत संसदमा पुगेको र कांग्रेसभित्र समेत त्यस्ता पात्र रहेको भन्दै शर्माले पार्टीभित्रका कमि-कमजोरी कांग्रेसले नै सुधार गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य खेमराज पौडेलले जनप्रतिनिधि र पार्टीबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस कार्यकर्ताहरु उत्पादनसँंग जोडिन आवश्यक रहेको बताए । उनले कृषि कर्म गर्न नचाहने कांग्रेस नेता कार्यकर्तालाई समुदायले प्रश्न गर्ने बेला आएको स्पष्ट पारे । 

उनले पार्टीमा गलत गर्ने, अनुशासन उल्लङ्घन गर्ने र आधिकारिक उम्मेदवार हराउन लाग्नेलाई कडा कारबाही गर्न सकेमात्र पार्टी सुदृढ़ हुने बताए ।  

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले चुनाब जितेपछि पार्टी र जनप्रतिनिधीबिच समन्वय हुन नसकेको भन्दै टोल विकास र वडा तहबाट योजना आउनुपर्ने भएपनि पार्टीका जिम्मेवार नेतासमेत यस विषयमा गैरजिम्मेवार बनेको बताए ।

उनले कुनै पदमा नियुक्ति लिंदा योगदान र क्षमता भन्दा चाकडी, आफन्तवाद र नातावादले प्राथमिकता पाउने गरेको आरोप लगाए । 

कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेल, कांग्रेसका महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, क्षेत्रीय सभापति मनोज गुरुङ, माछापुच्छ्रे गाउ्रँपालिकाका सभापति वीरेन्द्र गुरुड, पोखरा महानगरपालिकाका संसदीय दलका नेता दिवशमान प्रधानाङ्ग, महानगरका प्रवक्ता मोतीराज तिमिल्सिना, क्षेत्रीय उपसभापति पुष्पेन्द्र पाण्डे, सचिव लक्ष्मी प्रसाद पौडेल र मेखबहादुर तामाङ, पोखरा-६ का सभापति सन्तोष पौडेल लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ