arrow

बैगुनी जलकुम्भी फुलेर ढकमक्क हुँदा फोटो खिच्ने र टिकटक बनाउनेको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
Jalakumbhi.jpg

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यति बेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यति बेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भीड देखिन्छ ।

पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ । 

भरतपुर महानगरपालिका-५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भिमलाल चापागाईँले वनभित्र रहेको ‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताए । 'दैनिक करिब आठ सयसम्म पर्यटक यहाँ आउने गरेका छन् । यो भीड दुई सातादेखि बढेको हो,' उनले भने ।

पहिले फाट्टफुट्ट आउने भए पनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको अध्यक्ष चापागाईँको भनाइ थियो । उनका अनुसार दैनिक विहान १० बजेदेखि पाँच बजेसम्म ताल क्षेत्रमा प्रवेश खुल्ला गरिएको छ । 'यहाँ आउने पर्यटक जलकुम्भीको फूल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा ‘गमलामा सार्छौँ’ भनेर केहीले फूलसहितका जलकुम्भी लैजान्छन् पनि,' उनले भने । 

अध्यक्ष चापागाईँका अनुसार वन प्रवेश गरेको एक जनासँग रु २५ लिने गरिएको छ । पर्यटक धेरै आउँदा आम्दानी भएको बताउँदै उनले तालमा जलकुम्भी फैलदा र फुल्दा ताल सुक्ने चिन्ता पनि बढेको बताए । उनले पानी बग्ने क्षेत्रमा भन्दा जमेका पोखरीमा जलकुम्भी धेरै फैलिएको र ताल पूरै ढाकेको बताए ।

दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यस वर्ष बर्सातको कमी भएका कारण जलकुम्भी झार बढेको बताए । 'पानीको सतह कम भएकाले मानिस तालमा जाने सक्ने अवस्था छ । जलकुम्भीका फूल पहिले पनि फुल्थ्यो । अहिले फूल टिप्ने र टिकटक बनाउने प्रचलन निकै बढेको छ,' उनले भने ।

जलकुम्भीले ताललाई विनाश गरेको उनको भनाइ थियो । 'अहिले जलकुम्भीका कारण ताल पुरिएकाले ताल गहिराउनुपर्ने अवस्था छ,' न्यौपानेले भने, 'हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकट काटेर प्रवेश गराएका छैनौँ ।'

बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले जलकुम्भीलाई कमलको फूल भन्दै टाढाटाढाबाट आन्तरिक पर्यटक आउने गरेको बताए । 'प्रत्येक दिन यहाँ आएर सयौँले जलकुम्भीबारे सोध्नुहुन्छ । हामीले तालमा फुल्ने झार हो भनेर जानकारी दिने गरेका छौँ,' उनले भने । जलकुम्भी झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उनले बताए । 

चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताए ।

उनले भने, 'यसले तालतलैया सुकाउँदै छ । जहाँतहीँ यसको समस्या छ । यसलाई आउनै दिन हुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ ।'

बीसहजारी ताल जलकुम्भीका कारण सङ्कटमा पुगेको बताउँदै यादवले बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र खर्च भएको जानकारी दिए । 'मान्छे प्रकृतिमा रमाउन चाहन्छ । अहिले क्षणिक रमाइलो हेरेर हुँदैन ।

यहाँका तालमा पहिले जलकुम्भी थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्ने गरेको छ,' उनले भने । जलकुम्भीको फूल फुल्ने, बाक्लो हुँदै जाने र ताल माथिमाथि आएर कुहिने हुनाले विस्तारै ताल सुक्दै जाने यादवको भनाइ थियो ।

उनका अनुसार यहाँ हुने रैथाने झार चराका लागि राम्रो मानिन्छ । ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने भन्दै यादवले यो प्रकृतिको महारोग भएकाले बेलैमा सोच्न जरुरी रहेको बताए ।

निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने बनस्पतीलाई संरक्षण गर्नुपर्ने बताए । उनले जैविक विविधता संरक्षण गरेर सबैको विविधता कायम गर्न सक्नुपर्ने भन्दै ध्यान यसतर्फ सबैको जानुपर्ने बताए । 'डढेलो लाग्ने ठाँउमा जलकुम्भी बढी फैलन्छ र ताल तलैया ढाक्छ । आगलागी नियन्त्रणलाई पनि ध्यान दिनुपर्छ । यसले दीर्घकालीन रूपमा असर गर्छ, बेलेमा सबैको पहलमा समाधनतर्फ लाग्नुपर्छ,' अधिकृत घिमिरेले भने ।

निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले ताल नै नरहने जोखिम बढ्ने बताए । उनले यहाँका ताल यस क्षेत्रको सिँचाइको स्रोत समेत भएको जानकारी दिए ।

'यहाँका ताल अनुसन्धान केन्द्र (रिचार्ज सेन्टर) हुन् । यिनको संरक्षणविना सिमसार जोगाउने कुरा सम्भव हुँदैन । जलकुम्भीले तत्कालका लागि पर्यटक भित्रिए पनि दीर्घकालीन रूपमा यसले वातावरण र तालतलैयामा असर गर्छ,' समितिका अध्यक्ष ढुङ्गानाले भने ।

उनले सामुदायिक वन क्षेत्रको संरक्षण र उपभोग दुवै स्थानीयले गर्ने भएकाले पर्यटक भित्र्याउन अन्य दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताइन् । उनले यसको दीर्घकालीन समस्या समाधानका लागि संरक्षण कोषले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्र्याउने भन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताए ।

उनले तालहरू यहाँको कृषि प्रणालीसँग जोडिएकाले तालको संरक्षण गर्दा कृषि उत्पादनमा टेवा पुग्ने बताए । घिमिरेले सबै संरक्षणकर्मी एक भएर सिमसार क्षेत्रको संरक्षणमा जुट्न आह्वान गरे ।

पत्रकार रमेशकुमार पौडेलले समस्या ल्याउने वनस्पतिलाई समस्याका रूपमा हेर्नुपर्ने भन्दै पर्यटकीय आकर्षणका लागि अन्य विकल्प खोजी जलकुम्भीको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ