arrow

सुनको जलहरीले निम्त्याएको भेट

संसदको अवरोध हटाउन शीर्ष दलका नेताहरुबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
prachanda-deuba-oli-2080-02-13.jpg

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको अवरोध हटाएर बैठक अगाडि बढाउने बारे मुख्य दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । 

सिंहदरबारमा शनिबार भएको छलफल संसदको अवरोध हटाउनेबारेमा केन्द्रित रहेको हो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो । 

आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

हिजोको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिने कार्यसूची रहेता पनि अचानक पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर नेकपा एमालेले संसद अवरुद्ध गरेपछि बैठक नै बस्न सकेन । 

ओली नेतृत्वको सरकारका पालामा जलहरीको सुन गायब भएको प्रसङ्ग आएपछि एमालेले संसद अवरुद्ध गरेको हो । एमालेले माओवादीले माफी नमागेसम्म संसद चलाउने नदिने अडान राखेपछि हिजो भएका पटक पटकको प्रयास असफल भइ बैठक नै बस्न नसकेपछि अन्ततः आज ४ बजे बोलाइएको हो । 

आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावना रहेको छ ।

घटना के हो ?

२०७७ फागुनमा पशुपतिमा सुनको जलहरी राख्दा जलहरीको बेल्ट राखेको तथ्यांक र बिल नभेटिएको सार्वजनिक भएपछि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरमा जलहरी बनाउँदा दुई किलो सुन हराएको भन्दै त्यसको जिम्मेवारी ओलीले लिनुपर्ने बताएपछि संसद अवरुद्ध भयो । 

२०७७ साल फागुन ११ गते १०६।८२ किलो सुनको जलप लगाइएको थियो । त्यसमा २ किलो जतिको बेल्ट बनाएर एक सातापछि राखिएको थियो । पशुपतिको सुनको जलहरीका विषय अहिले संसदमा प्रवेश गरेको छ । 

जेठ १० गतेको संसद बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपति सुनको जलहरी राख्ने भनेर पित्तल राखेर भ्रष्टाचार भएको बताएका थिए । उनको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै एमाले सांसदहरूले शुक्रबारको बैठक अवरूद्ध गरे । ओलीले आफू भ्रष्टाचार पनि गर्दिन र भ्रष्टाचारी छेउँ पनि पर्न दिन्न भने पनि अहिले छानबिन गर्नुको साटो संसद अवरुद्ध गरेर बाटो छेक्ने काम गरिरहेका छन् । 

सरकारले पशुपतिको जलहरी सुनको हो कि पित्तल भन्ने छानबिन गर्नुपर्ने, सांसद दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने र उनले माफी माग्नु पर्ने एमालेको मागसँग माओवादी सहमत हुन सकिरहेको छैन ।

ओली नेतृत्वको सरकार हुँदा २०७७ फागुन १२ गते पशुपतिमा ९६ किलोको जलहरी राखिएको थियो । जलहरीमा १२ किलो सुन पछि थप्ने भनिएको थियो । पशुपतिमा सुनको जलहरी राखिएकै दिन सर्वोच्च अदालतले पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानून भएकाले चरण–चरणमा उक्त काम रोक्न अन्तरिम आदेश दिएको थियो । 

ओली सरकारको पालामा नियुक्त भएका तत्कालीन सदस्य सचिव मिलन थापाले पनि एक–दुई दिनको फरकमा १०८ किलो सुनकै जलहरी पशुपतिमा राखिएको दावी गरे पनि महालेखाको प्रतिवेदनले भने दुई किलो सुनको हिसाब फेला नपरेको रिपोर्ट बुझाएपछि यो विवाद त्यतिबेला नै सतहमा आएको थियो । 

महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू।८० करोड ११  हजारमा खरिद गरेको र विभिन्न  शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२।७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो  ९२४।७५ ग्राम सुन कायम भएको’ उल्लेख छ । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ । त्यही रिपोर्टको आधारमा अहिले यो विवाद संसदमा उठेको थियो । 

त्यतिबेला सुनको जलहरी बनाउँदा कालिगडलाई लागेको खर्चको विवरणसमेत पेस भएको थिएन । सुन खरिदमा ८० करोड रुपैयाँ लागेको देखिन्छ । सो सुनबाट बनाइएको जलहरी निर्माण कार्यका लागि दाताबाट व्यहोरेको रकमको हिसाब लेखाङ्कन गरेको छैन । 

पाटन औद्योगिक क्षेत्रको एक रोलिङ्ग मिल्समार्फत उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालिगडलाई भुक्तानी भएको विवरण पेस भएको थिएन । 

सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखाङ्कन हुनुपर्नेमा परिषद्ले दातामार्फत ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकाले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखाङ्कन नभएकोले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन नसकेको हो । 

मन्दिरका चार जना मुख्य पूजारीले मात्र छोएर राख्न मिल्ने जलहरी सर्वसाधारणले सजिलै देख्दैनन् । जुन ठाउँमा उभिएर सर्वसाधारणले पशुपति दर्शन गर्छन्, त्यहाँबाट जलहरी देखिँदैन । 

पशुपतिमा पश्चिमी ढोका मात्र भक्तजनका लागि खुला हुन्छ । तीर्थालुले ढोकामै गएर आफैँले फूलपाती चढाउन पाउँदैनन् । त्यहाँ खटिएका कर्मचारीले दुई मिटर वरैबाट फूलपाती मन्दिरको ढोकामा छुवाइदिन्छन्, जल चढाइदिन्छन् । त्यसकारण सर्वसाधरणले देख्ने अवस्थासमेत नभएकाले त्यसमा दुई किलो सुन हराएको अनुमान गरिएको छ । 

जलहरी भनेको शिवलिङ्ग अडिने आधार हो जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन् । सोही तरल वस्तु जलहरी हुँदै बागमती किनारको ब्रह्मनालसम्म पुग्छ र भक्तालुहरूलाई अभिषेक गरिने जल पनि सोही जलहरीमा सञ्चित हुने बताइएको छ ।

चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएकाले झन्डै दुई वर्षको गृहकार्य पश्चात् सुनको जलहरी निर्माण गर्ने निर्णयमा कोष पुगेको थियो । सुन पवित्र तथा सर्वोत्कृष्ट धातु मानिने भएकाले सुनकै जलहरी बनाउने निर्णय भएको बताइएको थियो । 

पशुपतिनाथमा अहिले सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी राजा महेन्द्रले २०२५ सालमा राखेका थिए । त्यसअघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी प्रतिस्थापित गरिएको अभिलेख रहेको छ । 

मुख्य शिवलिङ्गको जलहरीलाई चार पटकसम्म तामाको पाताले मोडिसकेको पाइएकोले अहिले जलहरीलाई जिर्णोद्धार गर्दा प्राचीन स्मारकलाई कुनै असर नपर्ने भएकाले राखिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ