arrow

हराउँदै सनपाट खेती

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
sunpaat.jfif

महोत्तरी ।  पछिल्लो समय महोत्तरीमा सनपाट खेती हराउँदै जान थालेको छ । करिब दुई दशकअघिसम्म सबैजसो किसानले गर्ने  खेती  देखिन छाडेको हो । घरायसी प्रयोजनका नाम्ला, दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती अब जिल्लामा गर्न छाडिएको छ ।

जिल्लाको भङ्गाहा नगरपालिका–४ का ७८ वर्षीय दलबहादुर फुँयालका हातमा अन्य कामबाट फुर्सत मिल्नासाथ अहिले पनि सुत्री कात्ने ढेडुवा (काठको तीन मुख भएको फिरफिरे) हुन्छ । यो काम सनपाटको खेती हुन छाडेपछि केही दशक पहिलेभन्दा केही फरक भएको छ । पहिले आफैँले उत्पादन गरेको सनपाटको सुत्री कात्ने उहाँ अब भने पाटका बोरा उधिन्दै त्यसको धागो छुट्याएर सुत्री कात्ने गरेका छन् ।

सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्साका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले किन्ने गथ्र्यो । यसबाहेक असारमा धान रोपाइँ गर्नुअघि खेत हिल्याउँदा सनपाटसहित जोतेर सम्याएपछि मलको आवश्यकता पूरा हुने गरेको किसान सम्झन्छन् ।

सनपाट खेतीका लागि बोट छिप्पिएपछि काटेर गहिरो पानीमा डुबाएर केही दिन गलाउनुपर्छ । पानीमा गलेर डाँठ र पाट छुट्टिने भएपछि पानीको दहमै पिटेर पाट (रेशा) निकालिन्छ । विगतमा महोत्तरीमा लगाइने गरिएका सनपाटमध्ये कुत्रुङ २२ दिन, कश्मिरा तीन दिन र पटुवा १०–१२ दिन पानीमा गलाएपछि चुटेर सफा पार्दै रेशा निकालिन्छ । पछिल्ला केही दशकयता पोखरी, दह र नदीमा पानी सुक्दै गएपछि यो खेतीको प्रचलन पनि सुक्दै गएको किसान बताउँछन् ।

सनपाट खेती गर्मी हावापानीमा हुने गर्छ । छरेको ठीक ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् । पानीका दह घट्दै गएपछि पाटका लागि यो खेती अप्ठ्यारो हुँदै गए पनि खेतबारीको मलका लागि किसानलाई अझै यो खेती गर्न उत्प्रेरित गरिनुपर्ने औरही नगरपालिकाका कृषि शाखा प्रमुख कविता सङ्ग्रौला बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ