arrow

बाल विवाह गर्नेलाई कैद

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
jail.jpg

सप्तरी ।  सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई मंगलबार तीन महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मु काश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई कैद सजायको फैसला भएको हो ।

बाल विवाह गराउन सहयोग गर्ने भारत जम्मु काश्मिर राज्य रैनवारीका ४० वर्षीय मो रफिकखार र उनकी पत्नी २७ वर्षीया नुर जहानलाई साढे एक महिना कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिलानीलाई दुई हजार तथा खार र जहानलाई जनही एक हजार रूपियाँ जरिवाना भएको छ । तीनै आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा जनही दुई सय भराउने फैसलासमेत भएको सूचना अधिकारी पोखरेलले बताए । 

अभियुक्तले तिर्नुपर्ने जरिवाना वापतको रकम भने कैद बसेको अवधिबाट भुक्तान भएको अदालतले जनाएको छ । बालिकाका बुवा र आमाले अभियोग दाबीबाट सफाइ पाएका छन् । बाल विवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वनैनियाको टोलीले बालिका र तीन जना आरोपित भारतीय नागरिकलाई पक्राउ गरेर गत माघ १४ गते नेपाल प्रहरीको जिम्मा लगाएको थियो । राजी खुसीले विवाह गरेकाले बालिकाका अभिभावकले उजुरी दिन अस्विकार गरेपछि सशस्त्र प्रहरीकै प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको प्रतिवेदनले जिलानीसहित उनलाई नेपाल ल्याएर विवाह गराउने रफिक खार र उनकी पत्नी नुर जहान तथा बालिका विरुद्ध उजुरी दर्ता भएको थियो । पक्राउ परेका आरोपितहरू गत फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । अदालतमा फागुन १७ गते हाजिर भएका बालिकाका आमा साधारण तारेखमा र बुवा रु पाँच  हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । बालिकाका बुवा आमाले भने अभियोग दाबीबाट सफाइ पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ