राष्ट्रको पुरानो गौरव फर्काउन एकजुट हुन पूर्वराजाको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
604
Shares
नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि एकजुट हुन आह्वान गरेका छन् ।
नागरिक अभिनन्दनका क्रममा नेपालगञ्जमा बुधबार सम्बोधन गर्दैै पूर्वराजाले आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्न पनि उनले आह्वान गरेका हुन् ।
उनले त्यसका लागि के पुरुष, के महिला, के आजका जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नु पर्नेमा जोड दिएका छन् ।
पूर्वराजाले सो क्रममा राजसंस्थाका यो शताब्दीमा भए गरेका विकासका कार्यक्रमसँगै बाँकेका बारेमा चर्चा गरेका थिए ।
पूर्वराजा गत १५ गते पूर्वराजपरिवारका सदस्यसहित नेपालगञ्ज गएका थिए ।
यस्तो छ उनको सम्बोधन– उपस्थित महिला तथा सज्जनबृन्द,
आज नेपालको यो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्वको नेपालगञ्ज नगरमा आएर तपाईहरू सामु दुईचार कुरा बोल्न पाउँदा मलाई खुसी लागेको छ । यो अवसर दिनुहुने आयोजक तथा उपस्थित यस क्षेत्रका जनसमूहप्रति आभार व्यक्त गर्दछु ।
बाँकेको यो नेपालगञ्ज हाम्रो यस क्षेत्रको केन्द्रवर्ती स्थल हो । बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको यो भूभाग परिवन्दले हामीबाट केही समय गुमेपनि कालान्तरमा त्यो हामी भित्रै समाहित भयो । त्यो हाम्रो गौरबको विषय हो । हामी नेपाली, हाम्रो माटो र हाम्रो भूखण्डमा हाम्रो अपनत्व राख्दछौं र त्यसमा गर्व गर्दछौं । यस्तो गौरबको गति हामीले सदा राख्न्ु पर्दछ । हाम्रो यही मान्यता हो । नेपालको यो स्थापित पुरानो शहरमा पाहिला टेकेपछि स्वभावत मलाई यहाँ रहेको परम आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आयो । अस्ति सोमबार साँझ म देवी भगवती बागेश्वरीको सन्ध्या आरतीमा संलग्न भए । मलाई अन्तरआत्मा देखि नै अपार आनन्दको अनुभूति भयो । त्यहाँ तपाईहरू नेपालगञ्जवासीको समेत उत्साहपूर्ण साथ रहेकोमा मलाई हर्षको पनि अनुभूति भयो ।
आजभन्दा चौसठ्ठी बर्ष अघि यही भूमीमा उभिएर हाम्रा स्वर्गवासी बुबाज्यूले नेपालको तत्कालीन राज्य विधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको हो । लामो अन्तरालपछि फेरीपनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ – यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ । देश बनाउँ — देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ — हाम्रो भावना धारणा र नारा आज पनि यही छ । नीतिहरू मध्येको सर्वश्रेष्ठ नीति राजनीति हो । तर अहिले पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन सकिरहेको देखिदैन । हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो — तर बिडम्बना भन्नुपर्छ — हाम्रो राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्धारा नेताका निम्ति — दलद्धारा दलका निम्ति भइरहेको छ ।
विक्रम सम्बतको दुई हजार दशको दशक देखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण ,उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविश्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रकृयाका कामहरू भए । महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास – शिक्षा तथा स्वास्थ्य केन्दको स्थापना, मूलुकी ऐन, भूमी सुधार, ग्रामिण उत्थान, नेपाल राष्ट्र बैक, राष्ट्रिय योजना आयोग, त्रिभूवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वबिद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि हुन । सबैसंग मित्रता, सबैसंग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यता देखि लिएर असंलग्न आन्दोलनको सकृय भूमिका र शान्ति क्षेत्रको घोषणा सम्म पनि यसै अवधिमा भएको हो । तर यता आएर – ती पुर्वाधार – ती औद्योगिक आधार – ती सबै खाले चेतना लहरले निश्चित आकार लिन सकेको छैन । भए गरेका संरचना भत्काउँदै जाने, रुपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै अहिले चलिरहेछ । त्यसैले चौसठ्ठी बर्ष पुर्वको चेतनाको त्यो झिल्को – कता कता अहिलेको खाँचो झै झल्किरहेको छ ।
हाम्रो प्रकृति, हाम्रो श्रमशक्ति र हाम्रो बुद्धि गरिब छैन – गरिबी हाम्रो नियती बनेको छ । दुईछाक खान र एक धरो लाउन हामी धेरैलाई धौ धौ छ । हाम्रा विकसित शहरहरू, गाउँहरू आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधी आज निस्प्रभावी बनेका छन – त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण विदेशीन बाध्य छन् । त्यसै भएर त नेपालगञ्ज जस्तो पूरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आजको कटु यर्थाथता देख्न, भोग्न र भन्न बाध्य छौ । अब म भन्छु – अब हामी राष्ट्रको पुरानो गौरब फर्काउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं । यसको निम्ति के पुरुष, के महिला, के आजका जाँगरिलो युवा, के अनुभवि बुढाबुढी सबै अब जुट्नु पर्दछ ।
अन्त्यमा बाँके, बर्दिया, दाङ्ग जस्ता उर्वर भूभाग भएको र सुर्खेत, कालीकोट, जुम्ला, हुम्ला, धनगडी र भैरहवा सम्मको पहुँच केन्द्र रहेको नेपालगंञ्ज ठूलो ब्यापारिक, उत्पादक, वितरक र प्रेरक केन्द्र मानिन्छ – तर पनि जुन रफ्तारमा यसको चौतर्फि प्रभावकारीता हुनु पर्ने हो त्यो भइरहेको छैन । आपस आपसमा मिलेर बस्ने नेपाली समाजको बिशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गीण विकासमा राज्यले खेल्नु पर्ने भूमिका गहन छ । विभिन्न धर्म, वर्ण र समूह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय थलो नेपालगञ्जको आगामी अवधीमा धेरै प्रकारले फड्को मार्नु पर्ने खाँचो देखिन्छ । नेपालको वृहत्त सम्पदाको उपयोग गरेर यो भेगका सबै अविकसित भूभागको विकास गरेर त्यहाँको विपन्नतालाई हटाउन नेपालगञ्जले अग्रणी स्थान राख्न सक्दछ – त्यसतर्फ कदम बढोस् भन्ने हाम्रो आकाँक्षा हो ।
धन्यवाद,
जय नेपाल
मिति २०८० साल बैशाख २० गते,
नेपालगञ्ज