नोबेल न्यूरो सर्जरीको वार्षिकोत्सवमा नेपाल र भारतका न्यूरो सर्जनको सम्मेलन
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
2.6k
Shares
विराटनगर । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले सातौँ वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ ।
नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा शुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउने क्रममा नेपाल र भारतका वरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धी प्रयोगात्मक अभ्यास पनि गरिएको छ ।
कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष बरिष्ठ न्यूरो सर्जन डा. प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा नोबेलको न्यूरो सर्जरी विभागका प्रमुख वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्लेले न्यूरो सर्जरी विभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार बिरामीको उपचार र करिब ४ हजार बिरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे र अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालले मन्तब्यमार्फत स्वागत गरे ।
नेपाली कांग्रेसका सांसदसमेत रहेका डा.सुनील शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गरेका हुन् ।
नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिणपूर्वी एसियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा शुरु गरेको हो ।