arrow

सम्पादकीय

क्यालेन्डरमात्र नपल्टाउँ योजनासहित अगाडि बढौं !

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
newyear-2080.jpg

विक्रम सम्वतको नयाँ वर्ष आजदेखि शुरु भएको छ । शुक्रबारको पहिलो दिन नयाँ एक वर्षको मात्र नभइ दशककै पहिलो दिन पनि हो । ऋतुहरुमा सर्वोत्तम ऋतु भनेर बसन्त ऋतुलाई मानिन्छ । त्यसैले पनि यही ऋतुमा पर्ने नयाँ वर्षको खास महत्व छ । 

बैशाखको पहिलो दिन यसै पनि खास छ । मानवलेमात्र नभइ प्रकृतिले पनि नयाँ उमङ्ग ल्याएको हुन्छ । जसरी बोटबिरुवामा नयाँ पालुवा पलाउँछ त्यसरी नै मानवको जीवनमा पनि नयाँ पालुवा पलाउनु पर्छ । देशले पनि नयाँ पालुवा पलाउनु पर्छ । 

नयाँ वर्षमा गरिने प्रणले विशेष अर्थ राख्दछ । त्यो प्रण भनेको विगतको गल्तीलाई सच्याउनु नै हो । तबमात्र प्रगतिपथ अगाडि लम्किन्छ । सशक्त भइ कुनै गल्तीबिना अगाडि बढ्नका लागि विगत पल्टाउनु जरुरी छ । तब आगामी दिनमा गल्ती कम हुने सम्भावना रहन्छ । 

दशककै शुरुआत भएकाले समग्रमा एक दशककै मूल्याङ्कन हुनु जरुरी छ । ७० को दशक कस्तो भयो, कस्तो हुनुपर्दथ्यो, त्रुटि कहाँनेर भयो र अब के गर्नुपर्छ भनेर लेखाजोखा गर्नु जरुरी छ । 

यो व्यक्ति विशेषमा त लागू हुन्छ नै समग्रमा हरेक क्षेत्रमा यसको लेखाजोखा हुनु जरुरी छ । विशेषगरी राजनीतिले मुलुृकलाई डोहोर्याउने गर्दछ । यो एक दशकमा के कस्तो प्रगति भयो, कस्तो हुनु पर्दथ्यो र त्रुटि कहाँनेर भयो जिज्ञासालाई बाहिर ल्याएर अब के गर्नुपर्छ भनेर राजनीतिकर्मीहरु लाग्नुपर्दछ । 

राजनीतिक रुपले हेर्दा ७० को दशकमा नेपालको संविधान २०७२ जारी गर्नु नै महत्वपूर्ण रह्यो । नयाँ व्यवस्था बस्यो । त्यसबाहेक राजनीतिक अस्थिरताको अन्त्य भने हुन सकेन । संविधानले सम्बोधन गर्न नसकेका विषयलाई फेरि सहजपूर्वक समेट्न सकेन । 

व्यवस्था परिवर्तन भएपछि त्यसलाई व्यवस्थित गर्नुपर्छ । किनकि त्यो व्यवस्थाबाट अपेक्षा गरिन्छ । तर गणतन्त्र आइसकेपछि, जनताले आफैँले संविधान लेखिसकेपछि अपनत्व बहन गर्न सक्नुपर्छ । तर ठूलालाई चैन र सानालाई ऐन आजका मितिसम्म रहनु दुर्भाग्य हो । सबैले अधिकारको सही प्रयोग गर्न पाउनु पर्छ । 

त्यसैले त देशले अपेक्षित दिशा लिन नसक्दा पटक पटक व्यवस्थाप्रति प्रश्न उठिरहेको छ । कानून बनाउनेहरुबाटै कानूनको उल्लंघन हुँदा सन्देश राम्रो जान सकेको छैन । विधिको शासनको पालना हुन सकेको छैन । गल्ती गरे जोसुकैलाई कारबाहीको दायरामा ल्याउने र गल्ती नगर्ने एक जनाले अपराधनको भागेदारी नभएमात्र लोकतन्त्रको अर्थ रहन्छ । यतातर्फ नेतृत्वले ध्यान नदिँदा आम नागरिकमा निराशा छ । यो निराशालाई तत्काल मेट्नु नै नेतृत्वको पहिलो कर्तव्य हो । 

राजनीति सेवा हो नकि मेवा लिने माध्यम । हाम्रो राजनीतिक नेतृत्व जनकल्याणका निम्ति भन्दा मेवा लिने माध्यम बनिरहेको छ । सत्ता केन्द्रित राजनीति गरिरहँदा भ्रष्टाचारले मुलुक दलदलमा फसेको छ । स्थानीय तहदेखि केन्द्रसम्म जहाँ पनि खोँट छ । तीन सरकारबीच तालमेल हुन सकेको छैन । 

शक्तिपृथकीकरणको सिद्धान्तमाथि खेलबाड भएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच तालमेल भएको छैन । एकले अर्कोलाई दबाउने नीतिबाहेक केही हुन सकेको छैन । भ्रष्टाचारको मलजल र विधिको शासनको उल्लंघनकै कारण अर्थतन्त्र धरासायी भएको छ । बेरोजगारी बढ्दो छ । शैक्षिक स्तरले जीवनोपयोगी मार्ग पहिल्याउन सकेको छैन । 

कृषि प्रधान देशमा कृषि उब्जनी जग्गाभन्दा बाँझो र जर्जर जग्गा बढिसकेको छ । बिना किसानका योजना ल्याइन्छन् र मिलिभगतमा बजेट सक्याइन्छ । हरेक वर्ष विदेशबाट आयातित हुने खाद्यान्हको आयतन बढ्दो छ । यसले पनि नेपालको कृषि प्रणाली गलत दिशातर्फ गइरहेको स्पष्ट हुन्छ । मुलुक संघीयतामा जाँदासमेत राजधानी केन्द्रित विकासे योजना भएकैले ग्रामीण भेकमा वस्ती विकास हुन सकेको छैन । त्यसैले त कृषिमा सरकारको लगानी बालुवामा पानी हालेसरह भएको छ । 

उद्योग कलकारखाना ठप्प छन् । दलहरु इमानदार नहुँदा यो स्थिति आएको छ । घोषणापत्रमा नेपालमै रोजगारी दिने भनेर घोषणा गरिन्छ तर व्यवहारमा लागू नगरिँदा दैनिक वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दो छ । अर्थतन्त्र गलत दिशामा जाँदा रेमिटेन्सको भरमै मुलुक चल्न परिरहेको छ । हुँदाहुँदा कर्मचारीलाई तलब खुवाउन ऋण खोज्नुपर्ने अवस्था आउनु दुर्भाग्य हो । 

त्यसैले त देश रोगी हुँदै गइरहेको छ । यो रोगलाई निको पार्न भ्रष्टाचारमा शून्य शहनशील हुनु जरुरी छ । नत्र मुलुक झन् खोक्रो हुनेछ । मुलुक नै अस्वस्थ्य भएपछि नागरिकको स्वास्थ्य झन् बिग्रिरहेको छ । स्वास्थ्य सेवा नै थलिएको छ । 

अहिले कुनै क्षेत्र छैन जहाँ सुधारको संकेत देखिएको होस् । तसर्थ तत्तत् निकायले जिम्मेवार भएर दायित्वबोध नगर्ने हो भने मुलुकको अवस्था दयनीय हुनेछ । विगतका यी तमाम गल्तीलाई सच्याएर प्रगतिपथमा लाग्ने प्रेरणा सबैलाई मिलोस् ।

गल्ती हुनसक्छ तर दोहोर्याउने छुट कसैलाई हुन्न । मौका आउँछ पर्खिदैन । समय छन्जेल नै हो गर्ने । समय सत्य हो । समय बलबान छ ।

सबै क्षेत्रमा क्यालेन्डर बनाएरै कामकारबाही अगाडि बढाउने हो भने त्यसको सही योजना लागू हुन सक्छ । क्यालेन्डर पल्टाउने मात्र हैन योजनाअनुसार नै काम हुनु महत्वपूर्ण हो । 

मुलुक सही दिशामा हिँड्न सकोस् । मुलुकमा सुख, समृद्धि छाओस् । हाम्रोतर्फबाट सबैलाई नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ