arrow

मधेसबाट बाहिरियो एमाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
saroj-kumar-yadav-chief-minister-madhes.JPG

जनकपुरधाम । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा एमाले बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो ।  मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी थिए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरुले राजीनामा बुझाएको बताए । “केन्द्रमा सत्ता समीकरण बदलिएलगत्तै एमालेका मन्त्रीहरुले राजीनामा दिनेबारे परामर्श गरेका थिए । 

तर त्यसबेला मैले नै पर्खिन भनेको थिएँ”, मुख्यमन्त्री यादवले भने, “केन्द्रमा गठबन्धन दलको निर्णय र विकसित राजनीतिक अवस्थाका कारण उनीहरुले नैतिकताका आधारमा राजीनामा बुझाएका हुन्  ।” बाँकी प्रक्रिया नयाँ गठबन्धन दलको सहमतिमा हुने उनको भनाइ छ । 

मुख्यमन्त्री यादवले बारा निर्वाचन क्षेत्र नं २ को निर्वाचनपछि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित सरकार विस्तार हुनेमा विश्वास व्यक्त गरे । 

नेकपा एमालेका नेता एवं निवर्तमान कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीले केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि आफूहरुले नैतिकताका आधारमा राजीनामा दिएको बताए ।

राजीनामा बुझाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्रीको सहजताका लागि आफूहरु सरकारबाट बाहिरएको तर समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा अहिले निर्णय नभइसकेको बताए । 

मधेस प्रदेश सरकारमा एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानून, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जैद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री थिए । साथै केशव राय गृह तथा सञ्चार राज्यमन्त्री थिए । 

बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध एमालेले उम्मेदवारी दिएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि जसपा अध्यक्ष यादवविरुद्ध जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ