दलहरुले बढी मन्त्रालय दाबी गरेपछि गठबन्धनको बैठक निष्कर्षविहीन
बुधबार बिहान ९ बजे फेरि बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
940
Shares
काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा नेकपा एस, जसपा र लोसपाले बढी मन्त्रालय दाबी गरेसँगै सत्तारुढ १० दलको बैठक बिना निष्कर्ष सकिएको छ । बालुवाटारमा मंगलबार अपरान्हबाट बसेको बैठकमा नेकपा एस र जसपाले ३ तथा लोसपाले २ मन्त्रालय दावी गरेपछि बैठक निष्कर्षविहीन भएको हो ।
बैठक बुधबार बिहान ९ बजे फेरि बस्ने गरी सकिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३–३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेको छ ।
बैठकमा सरकारको साझा न्युनतम कार्यक्रम वितरण भएको अर्का एक नेताले जानकारी दिए । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेको हो ।
मंगलबार बिहानमात्रै प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए । त्यतिबेला पनि सहमति बन्न सकेको थिएन ।