बागलुङ । नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्ष पदमा राजेन्द्र ढुङ्गाना चयन भएका छन् । बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौँ जिल्ला सम्मेलनले ढुङ्गानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
अधिवेशनले खिमविक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल दोहोरिएका छन् । सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दीपक थापा चयन भएका हुन् । राजमो नेकपा मसालको चुनावी मोर्चा हो । दुई पार्टी एक नीति चलाएको राजमो बागलुङको यसअघिका तीन अधिवेशनले जिल्ला अध्यक्षमा अमर थापालाई चयन गरेको थियो ।
जिल्लामा अन्य पार्टीमा जस्तै राजमोमा पनि नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । जिल्लामा क्रियाशील नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)मा पनि युवा पुस्ताले नेतृत्व पाएका छन् ।
लामो समयपछि राजमोले नेतृत्व परिवर्तन गरेको हो । अधिवेशनले ३५ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरेको छ । त्यसबाहेक ११ सदस्य रहेको वैकल्पिक सदस्य तथा ११ सदस्य सल्लाहकार समिति पनि टुङ्गो लगाएको छ । यसअघिका अध्यक्ष थापासहित ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको अध्यक्ष ढुङ्गानाले बताए ।
वैकल्पिक जिल्ला सदस्यमा प्रेमप्रसाद गौतम, पुनीकला बुढा, प्रेमबहादुर रोका, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिंह थापा, जङ्गबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवी खत्री र पूर्णबहादुर परियार चयन भएका छन् ।
यस्तै, सल्लाहकारमा अमर थापा, नरबहादुर पुन, काजी गाउँले श्रेष्ठ, तिलक थापा, टङ्कबहादुर केसी, टेकबहादुर आरसी, भीमसेन वन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ्वीबहादुर श्रीष र टीकाराम शर्मा चयन भएका छन् ।