arrow

बाइडेनको गोप्य भ्रमणमा बिना फोन १० घण्टाको यात्रा, रुसलाई अग्रिम जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
biden-kyiv-ukraine-russia-joe-biden.jpg

काठमाडौं। सोमबार अचानक अमेरिकी राष्ट्रपति जो बाइडेन युद्धग्रस्त युक्रेनको राजधानी किभमा उत्रिएका थिए। यो भ्रमणबारे अमेरिकी राष्ट्रपति बाइडेन र उनका शीर्ष निकट सहयोगीहरु माझ हप्तौं अघि छलफल वा जानकारी भए पनि तल्लो सर्कलमा भने केही दिनअघि मात्रै जानकारी थियो।

यसभन्दा पनि भ्रमणबारे अन्तिम निर्णय गत शुक्रबार मात्रै गरिएको थियो। तथापि ह्वाइट हाउसका अधिकारीहरुलाई यसबारे जानकारी दिइएको थिएन वा उनीहरुलाई बाइडेनले दुई दिने पोल्याण्डको मात्रै भ्रमण गर्ने भन्ने निर्देशन दिइएको थियो।

यो भ्रमण यतिसम्म गोप्य थियो कि ह्वाइट हाउसले बाइडेनको भ्रमणको कार्यतालिकामा सोमबार बेलुकी ७ बजे उडान हुने भनेको भए पनि बाइडेन पोल्याण्डको राजधानी वार्साका लागि आइतबार बिहान ४ बजेर १५ मिनेटमै सी-३२ भनिने एयर फोर्स बोइङमा ७५७ उडेका थिए।

बाइडेनसँग उनका निकटतम सहयोगी, एक चिकित्सा टोली र सुरक्षा अधिकारीहरूको सानो टोली थियो। राष्ट्रपतिसँगै दुईजना पत्रकार, एक फोटोग्राफर र एक लेखकलाई मात्र यात्रा गर्न दिइएको थियो। 

उनीहरुलाई गोपनीयताको शपथ गराइएको थियो र यसभन्दा बढी उनीहरुबाट उनीहरुको मोबाइल फोनसमेत खोसिएको थियो। बाइडेन किभमा नपुगेसम्म उनीहरूलाई भ्रमणको रिपोर्ट गर्न अनुमति दिइएको थिएन ।

१० घण्टाको रेल यात्रा

वाशिङटनबाट उडेको करिब सात घण्टापछि बाइडेन चढेको विमान जर्मनीको रामस्टेनस्थित अमेरिकी सैन्य अखडामा इन्धन भर्न रोकिएको थियो। त्यहाँ पनि उडेको ठाउँ जस्तै विमानको झ्यालको पर्दा लगाइएको नै थियो र विमानबाट कोही आर्लेको थिएन।

त्यसपछि पोल्याण्डको रेजिस्जो जसिओन्का विमानस्थलमा यो विमान ल्याण्ड भएको थियो। यहाँ आइपुग्दासम्म वाल स्ट्रिट जर्नलकी पत्रकार सबरिना सिद्दिकी र एसोसिएटेड प्रेसका फोटो पत्रकार इभान भुचीले बाइडेनलाई देखेका थिएनन् । त्यो एयरपोर्ट र गाडीमा चढ्दासमेत यो स्थिति परिवर्तन भएन ।

अमेरिकी राष्ट्रपतिको सवारी हुँदा हुने साइरन वा कुनै संकेत यहाँ थिएन । पोल्याण्डको रेजिस्जो जसिओन्का विमानस्थलबाट बाइडेनसहितको टोली गाडीमा युक्रेनी सीमा नजिकैको पोलिश रेल स्टेसन प्र्जेमिसल ग्लोनीतर्फ गए।

उनीहरुलाई रेलमा चढ्दा स्थानीय समय अनुसार रातिको ९ बजेर १५ मिनेट भएको थियो । तर पत्रकारहरूलाई अझै पनि बाइडेनलाई हेर्न दिइएको थिएन । यो रेलमा बढी जसो उच्च सुरक्षा रहेको पत्रकार सिद्दिकीले भनेकी छिन् ।

युद्धग्रस्त क्षेत्रमा करिब १० घण्टाको यात्रा जुन आधुनिक अमेरिकी राष्ट्रपतिले सायदै गरेका थिए। उच्च सुरक्षा सहित भएके अफगानिस्तान वा इराकको राष्ट्रपततीय भ्रमण भन्दा यो विपरीत थियो।

उदाउँदो घामसँगै बिहान ८ बजेर ७ मिनेटमा बाइडेनसहितको टोली सवार रेल कीभमा पुग्यो। त्यसअघि बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपतिका रुपमा किभको भ्रमण गरेका बाइडेनले यसपटक त्यहाँ पुगेसँगै भने, 'इट्स गुड टु बि ब्याक इन किभ'।

रुसलाई दिइएको थियो अग्रिम जानकारी

बाइडेनले प्रस्थान गर्नुभन्दा केही घण्टा अघि रुसलाई यस यात्राका बारेमा जानकारी दिइएको अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

उनले भनेका छन्, 'अमेरिकाले डिकन्फिल्क्सनको उद्देश्यका लागि त्यसो गर्याे... उनीहरूले कस्तो प्रतिक्रिया दिए वा हाम्रो सन्देशको सटीक प्रकृति के थियो भन्ने कुरामा म जानेछैन । तर म पुष्टि गर्न सक्छु कि हामीले त्यो सूचना दियौं ।'

रुसले बाइडेनको किभ भ्रमणबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ