अमेरिकामा बन्दुक आतंक: यो वर्ष २३ दिनमै ३६ वटा सामूहिक गोलीकाण्ड
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
1.2k
Shares
काठमाडौं। अमेरिकामा बन्दुक आतंकका घटना निरन्तर बढ्दै गइरहेका छन्। हालै मात्र एक ७२ वर्षीय संदिग्धले शनिबार राति ठूलो एसियाली समुदाय भएको लस एन्जलस नजिकैको शहर मोन्टेरे पार्कको एक डान्स स्टुडियो र क्लबमा १० जनाको हत्या गरेको छ।
यसको ठीक अर्को दिन, लुइसियानाको ब्याटन रुज नाइटक्लबमा अर्को सामूहिक गोलीबारी भएको थियो। जसमा एक दर्जन व्यक्ति घाइते भएका थिए। घाइते मध्ये एकको अवस्था गम्भीर छ।
बिहान भएको आक्रमणमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन, तर यो लक्षित थियो भन्ने विश्वास गरिएको छ।
गैरनाफामुखी संस्था गन वाइलेन्स आर्काइभका अनुसार नयाँ वर्ष अर्थात् सन् २०२३ का २३ दिनमा अमेरिकामा ३६ वटा सामूहिक गोलीकाण्ड (मास सुटिङ) भइसकेका छन्। कुनै एक गोलीबारीको घटनामा कम्तिमा ४ जनाको मृत्यु वा घाइते भएमा यसलाई सामूहिक गोलीकाण्ड (मास सुटिङ) भनिन्छ।
गत वर्ष ६४८ सामूहिक गोलीकाण्ड भएको अनुमान गरिएको छ, जहाँ ती हरेक गोलीबारीमा पाँच वा पाँच भन्दा बढीको मृत्यु भएको थियो। गत वर्षको मे २४ मा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको टेक्सासको उभाल्डेको विद्यालयमा भएको गोलीकाण्डपछि गत शनिबार भएको मोन्टेरे पार्क गोलीकाण्ड सबैभन्दा घातक हो।