arrow

एमाले-माओवादी गठबन्धनका सूत्रधार सरकार बाहिर

रवि लामिछानेलाई उपप्रधानमन्त्री दिएपछि पार्टीभित्र मन्त्री दाबी गरेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
maoist-uml-gathabandhan.jpg

काठमाडौं । कांग्रेसबाट गठबन्धन फुटाएर एमाले र माओवादीको सहकार्य गराउने सूत्रधार नै सरकारबाहिर पर्नै भएका छन् । एमाले–माओवादीको गठबन्धन बनाउने सूत्रधारमध्ये एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन सरकारबाहिर बस्ने भएका हुन् । मंसिर ४ पछि उनीहरूकै पहलमा एमाले र माओवादीको सहकार्य सम्भव भएको हो । 

निर्वाचन सकिए लगत्तै एमालेका उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव रघुवीर महासेठले प्रचण्डलाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए । उनीहरूको प्रयास सफल त भयो तर यी तिनै जना मन्त्री नहुने परिस्थिति बन्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधानमन्त्री दिएपछि उनीहरूले पार्टीभित्र मन्त्री नै दाबी गर्न सकेनन् । 

‘उहाँहरूले मिलाउनु त भयो तर मन्त्री हुने  अवसरबाट भने वञ्चित हुनुभयो’,एमालेका एक नेताले भने । उनका अनुसार अहिले एमालेभित्र गुरुङ, महासेठ, मात्र होइन योगेश भट्टराई, वसन्त नेम्वाङ लगायतका धेरै सांसदहरूले मन्त्री हुने तहबाट आफूलाई पछि हटाएका छन् । त्यस्तै माओवादीका उपमहासचिव पुनले  र शक्ति बस्नेतले पनि मन्त्रीको लाइनबाट बाहिर राखेका छन् । 

गत मंसिर २९ मा निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेका बेला यी नेताहरूले गठबन्धन टुटाउने सुरुवाती खाका तयार पारेका थिए । त्यस बेला अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश पठाएका थिए । 

माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेससँग आधा आधा कार्यकाल बाँडेर सुरुमा प्रधानमन्त्री लिन खोजेको भन्दै आरोप लगाउँदै उनीहरूले भित्रभित्रै एमाले–माओवादी सहकार्य गर्ने वातावरण तयार गर्दा पनि कांग्रेसले चाल पाएको थिएन । कांग्रेसभित्र देखिएको शक्ति ध्रुवीकरण र गैर वामपन्थीको मिलेमतोमा सरकार बन्ने सम्भावना देखिएपछि माओवादी केन्द्र एमालेतिर आकर्षित भएको थियो ।  

माओवादीका अध्यक्ष प्रचण्डलाई महासेठले भेट गरेपछि अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका महासचिव देव गुरुङले भेटेर प्रधानमन्त्री दिने भए एमालेसँग सहकार्य गर्न तयार रहेको प्रस्ताव गरेका थिए ।   माओवादी केन्द्रका महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग भेटघाट गर्नुका पछाडि एमाले सचिव रघुवीर महासेठको हात थियो । उनले नै प्रचण्ड निवास गएर कांग्रेससँगको गठबन्धन तोडेर आए प्रधानमन्त्री दिन सकिने ओलीको अनौपचारिक प्रस्तावलाई प्रस्तुत गरेका थिए । 

निर्वाचन जितेर धनुषाबाट फर्किए लगत्तै महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए । प्रचण्डलाई भेट गरेर आएपछि महासेठले होटेल हिमालयनमा माओवादी केन्द्रका नेताहरूसँग भेटघाट गरेर माहौल मिलाएका थिए ।  

नेकपा विघटनपछि एमाले र माओवादी केन्द्रका नेताहरूबीच औपचारिक भेटघाट भएको थिएन । एमाले नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङकै पहलमा यो सबै सम्भव भएको थियो । त्यसमध्ये ओलीले पौडेललाई प्रचण्डपछिको दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाए भने नेम्वाङले राष्ट्रपतिमा दाबी गरिरहेका छन् । गुरुङले सभामुखमा दाबी गरिरहेका छन् ।

गृमन्त्रीको दाबी गर्ने वर्षमान पुन भने अहिलेको सरकारमा सहभागी नहुने बताइसकेका छन् । त्यसै गरी रघुवीर महासेठले पनि यो सरकारमा आफू सहभागी नहुने बताइसकेका छन् । ‘अब एमालेमा पालो नपुगेका र केही बनाउनै पर्ने जुनियर नेताहरूलाई मन्त्रीमा सिफारिस गर्नेछन्’, एमालेका एक पदाधिकारीले भने । अहिले धनकुटाका राजेन्द्र राई, बैतडीका दामोदर भण्डारी र बाराकी ज्वालाकुमारी साहलाई विना विभागीय मन्त्रीमा बनाएर पठाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ