arrow

शिवपुरी बाबा भन्थे –सच्चा चलनसे चलना, ईश्वरका भक्ति करना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १६ शनिबार
shivapuribaba-swadharma.jpg

काठमाडौं । श्री शिवपुरी बाबा धेरै भक्तहरू उनलाई श्री प्रभु भनेर सम्बोधन गर्दछन् । आफ्नो दर्शनका लागि आउने भक्तहरूलाई शिवपुरी बाबा भन्थे –सच्चा चलनसे चलना, ईश्वरका भक्ति करना ।’ मानिसले जन्म लिएर आएपछि मोजमज्जा, रमाइलोमा मात्र समय बिताउनुहुन्न । नचाहिने कुरा छाडेर आफ्नो कर्तव्यमा मात्र व्यस्त भएर श्री परमात्मा परमेश्वरको चिन्तनमा लीन हुँदै उनको साक्षात्कार गर्नुपर्छ। श्री परमात्माको दर्शन नपाई जन्म मृत्युको चक्करबाट मुक्त हुन सकिन्न । श्रीबाबा आफ्ना भक्तहरूलाई बेला मौकामा उनीहरूको मनोभावनाअनुसार विभिन्न शिक्षा उदाहरणसहित दिन्थे । 

उनका मुखारबिन्दबाट प्रस्फुटित उपदेशहरूका बारेमा केही पुस्तक प्रकाशित छन् । त्यसमध्ये एक शिवपुरी बाबाका उपदेशहरूबाट संग्रहित स्वधर्म पुस्तक हो । विष्णुप्रसाद तिमिल्सीनाद्वारा सङ्कलित सो पुस्तकको चौथो संस्करण प्रकाशित भएको छ । चौथो संस्करण इच्छुक श्रद्धालुहरूका आग्रह अनुसार अघिल्ला संस्करणमा समावेश गर्न नसकिएका केही प्रसङ्ग थपिएको छ । 

यस सङ्कलनमा लेखकले शिवपुरी बाबाको मुखारबिन्दबाट सुन्ने अवसर पाएका केही उपदेश, पिता माधवप्रसाद तिमिल्सीना जसलाई धेरैले माधव बाजेको नामबाट चिन्दछन् तथा आश्रममा सत्सङ्गका अवसरमा बाबाका भक्तहरूबाट सुन्ने सुअवसर मिलेका विषय, प्रकाशित केही पुस्तक तथा नेपाली भाषामा प्रकाशित लेखहरूबाट प्रसङ्ग उद्धृत गरेका छन् । 

शिवपुरी बाबाले समाधि लिँदा माधव बाजेका छोरा उनै लेखक तिमिल्सीना १८ वर्षका थिए । उनी आश्रमबाटै पढ्न त्रिचन्द्र कलेज जान्थे । अहिले सो आश्रमको रेखदेख उनैले गर्दै आएका छन् ।

को हुन् शिवपुरी बाबा ?

काठमाडौंको उत्तरको शिवपुरी जंगलमा आफ्नो आश्रम बनाएर बसेका भारतका केरलामा जन्मेका गोविन्दानन्द भारती कालान्तरमा शिवपुरी बाबा भनेर प्रख्यात भए । शिवपुरी बाबाको जन्म भारतको केरला राज्यमा (इस्वी सम्वत १८२६) विक्रम सवंत १८८२ भदौ महिनाको मूल नक्षत्रमा भएको हो । 

उनी जन्मनासाथ मुसुक्क हाँसेका थिए । उनी हाँसेको कुरा उनको हजुरबुबा आच्युतमलाई कसैले सुनाए । सुनेपछि हाम्रो कुल यीनिमै टुंगिने भयो, योगी हुने लक्षण भएको बच्चा जन्म लिएछ भनेर भविष्यवाणि गरे । शिवपुरी बाबाका हजुरबुवा आच्युतम् सो समयका प्रख्यात ज्योतिषि थिए ।   शिवपुरी बाबा सानै छंदै बुबाआमाको स्वर्गारोहण भयो । स्वर्गारोहणपछि हजुरबुबाले नै उनको रेखदेख, विद्या आदिमा ध्यान पुर्याए। हजुरबुबा बानप्रस्थ आश्रममा जाने बेलामा शिवपुरी बाबालाई पनि साथमा लिएर गए ।   

वैदिक शास्त्रले मनुष्यलाई दुई प्रकारको बाटो खुला गरेको छ । एउटा बाटो हो ( सांसारिक, जसमा ब्रह्मचर्याश्रम र गुरुकुल वेदाध्ययनपछि गृहस्थमा बस्ने, बालबच्चाको पालनपोषण शिक्षा  विवाह, आदिको कार्यक्रम पूरा गर्ने । त्यसपछि धर्मपत्नीले इच्छा गरेमा उनलाई पनि साथै लिएर वानप्रस्थाश्रममा प्रवेश गर्ने र अन्तिममा संन्यासाश्रम ग्रहण गर्ने । संन्यासाश्रम ग्रहण गरेपछि उसले जेजस्तो जुर्छ उस्तै ग्रहण गर्छ भन्ने अठोट लिएर जङ्गलमा गएर तपस्या गर्ने र एक छाक खान भिक्षाटन वृत्ति अपनाउँदै परमात्माको चिन्तनमा समय बिताउने गर्नुपर्दछ। अर्को बाटो हो – गृहस्थाश्रम र वानप्रस्थाश्रममा प्रवेश नगरी ब्रह्मचर्याश्रमबाट नै परमात्मा–दर्शनको बाटो अपनाउने । आदि गुरु शंकराचार्यका मतअनुसार संन्यास ग्रहण गर्नेहरूलाई गिरी, पुरी, भारती, सरस्वती आदि (दशनाम) को उपनाम दिइन्छ । शिवपुरी बाबालाई भारतीको उपनाम प्राप्त थियो । उनले ऋतम्भराप्रज्ञा अर्थात् आकार अथवा मूर्तिबिनाको परमात्माको साक्षात्कारको बाटो अनुशरण गरेका थिए । आफ्ना बाजे वानप्रस्थाश्रमका लागि प्रस्थान गर्दा शिवपुरी बाबालाई पनि नर्मदा नदीछेउको अमरकण्टकको  जङ्गलमा लिएर गएका थिए । हजुबाबले सेवा गर्न र तपस्या गर्न सुझाए ।  त्यसरी तपस्या गर्दा गर्दै हजुबुबाको स्वर्गारोहण भएछ । स्वर्गारोहण भएपछि तीनै स्थानमा सदगद गरि बाबा जंगलबाट बाहिर गाँउतिर फर्किए ।

त्यसपछि पुनः बाबा अमरकण्टकको  जङ्गल तपस्या गर्न गए । तपस्या गर्दा कयौ ऋतुहरु बिते त्यसको उनलाई थाहा भएन तर एक दिन उनलाई सबै कुराको बोध भयो, ज्ञान प्राप्त भयो । सो समय परमात्माले दर्शन दिए ।  त्यसपछि उनी त्यहाँबाट बाहिर निस्किए । आदि गुरु शंकराचार्यले श्रृङ्गेरीमा स्थापना गरेको शंकर मठ गएर संन्यासको दिक्षा लिए ।  

संन्यासपछि उनको नाम गोविन्दानन्द भारती रहन गयो । हजुरबुबाको बचन अनुसार उनी विश्व भ्रमणमा निस्किए । बाबाले  ४० बर्ष विश्व भ्रमण गरे ।  खैबरपास हुदै अफगानिस्तान, रूस, इरान, साउदी अरेबियाको मक्का, रोम, टर्की, ग्रीस, बेलायत, स्कटल्यान्ड, अमेरिका, मेक्सिको, जापान, चीन आदि देशको भ्रमण उनले चालीस वर्षमा पूरा गरे । 

भ्रमणका क्रममा उनी बेलायत पुग्दा महारानी भिक्टोरियाको राज्यकाल थियो। उनी बेलायतमा चार वर्षसम्म रहँदा महारानी भिक्टोरियासँग अठार पटकसम्म भेट भएको रहेछ । बाबाको कोलकातामा स्वामी श्रीरामकृष्ण तथा बरोदामा स्वामी श्रीअरविन्द, पेरिसमा म्याडम क्युरी तथा इटालीमा मार्कोनी आदिसँग भेट भएको थियो । जानकारहरुले विख्यात वैज्ञानिक आइन्सटाइनले पनि बाबासँग भेट गरेको बताउँछन् । सो समय बाबा बनारस पुग्दा पण्डित मदनमोहन मालवीयले बनारस हिन्दू विश्वविद्यालय स्थापनाका लागि चन्दा सङ्कलन गरिरहेका थिए । 

सो समय उनले उक्त विश्वविद्यालयको निम्ति पचास हजार चन्दा प्रदान गरे । मालवीयले उनलाई उक्त विश्वविद्यालयको कुलपतिको पद ग्रहण गर्न आग्रह पनि गरे तर बाबाले त्यसलाई स्वीकार गरेनन्। बाबा सबै धर्म मान्नेहरूका लागि समान थिए । उनी इस्लाम धर्म मान्नेहरूसँग कुरा गर्दा कुरानकै बारेमा र हिन्दूधर्म मान्नेहरूसँग कुरा गर्दा हिन्दू धर्मशास्त्रकै प्रसङ्ग, क्रिस्चियन धर्मावलम्बीहरूसँग बाइबलकै दृष्टान्त र बुद्धधर्म मान्नेहरूसँग प्रज्ञा, शील, समाधि आदिकै बारेमा व्याख्या गर्दथे । 

यसले गर्दा विभिन्न मतअनुसारका अनुयायीका जिज्ञासाको सजिलैसँग समाधान हुन्थ्यो। बाबाले कसैलाई पनि मन्त्र दिक्षा दिएनन् । बाबाको शिक्षालाई स्वधर्म भनिन्छ । बाबाले स्वधर्मलाई (शारीरिक, मानसिक र अध्याध्मिक) तीन किसिमको अनुशासन पालना गर्नुपर्छ भनेर शिक्षा दिन्थे । ‘स्वधर्ममा मानिसलाई आफ्नो शरीर रक्षाका लागि अपनाउनुपर्ने लगायत परमात्मा चिन्तनका विविध विषय समाविष्ट छ, जसअनुसार मानिसले सबभन्दा पहिले आफ्नो शरिर ठीक गर्नुपर्छ । जीवन व्यवहार चलाउनको लागि कुनै पेशा गर्नुपर्छ ।

अनि यति गरेर बाँकी रहेको समय परमात्माको भजन किर्तन (धारणा, ध्यान, समाधि) आदिको अभ्यास गर्दै परमात्माको चिन्तन बढाउदै जानुपर्दछ, यसरी परमात्माको चिन्तन बढ्दै गएपछि समाधि बस्न सकिन्छ। एकदुई प्रहरको अखण्ड समाधिमा रहेपछि र परमेश्वरको परमकृपा भएपछि उनको दर्शन मिल्छ। जब तपाई मौन ध्यानमा रहेर परमात्मा चिन्तनमा नै रमाइरहनुहुन्छ तब परमात्माको जाज्वल्यमान ज्योति तपाईको अगाडि प्रकट हुन्छ जुन तपाई स्वयंले अनुभूति गर्नुहुन्छ तर त्यसलाई शब्दमा भने वर्णन गर्न सक्नुहुन्न ।’ 

उनले दिएको स्वधर्मलाई आफ्ना अनुयायीहरुले पालना गरिरहेका छन् । बाबालाई भेट्न राजा, मन्त्रीहरु पनि पुग्थे। कुनै महात्मा गधा चढेर आउथे, केहि नबोलि आउँथे, कोहि हात माथि राखेर ठाडै पारेर आउथे । माधव बाजेका अनुसार एक जवान पुरुष शिवपुरीमा आउँथे । आएपछि सत्संग बेदना आदि बाबालाई पोखे।

बाबासँग ६–७ दिन संगत गरेपछि माधव बाजेलाई मैले पाएको कुराको अभ्यास र तपस्या गर्न हिमालय बद्रिनारायण बद्रिनाथ तिर जान्छु र हरिद्वार पुगेपछि एउटा चिठ्ठि पठाउँछु भनेर निस्किए। त्यो चिठ्ठीको विषय बाबालाई सुनाइदिनु भने । अन्तिममा ती जवान युवकले भने हेर माधव तिमीले मलाई जवान देखेका छौ तर मेरो उमेर ७०० वर्ष भइसकेको छ । 

तर यो आध्यात्मिक क्षेत्रमा परमात्माको दर्शन नगरी उमेर मात्र बढी भएर काम छैन । त्यसैले तिमी भाग्यमानी रहेछौ यस्तो महान पुरुषको सेवा गरिरहेका छौ भन्दै आशिर्वाद दिए । भोलिपल्ट बाबाले ती युवालाई तलसम्म पुर्याएर आउ भनी आदेश दिए । दुवै आश्रमबाट निस्किए र बीच बाटोमा आएपछि ती युवक कता अलप भए माधव बाजेले थाहा पाएनन् । 

त्यसको एक महिनापछि हरिद्वारबाट चिठ्ठी पनि आयो । तत्कालीन राजा महेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन भारतका उपराष्ट्रपति डा। सर्वपल्ली राधाकृष्णन् श्रीबाबाको दर्शनका लागि आश्रम पुगेका थिए । आफ्नो बसाइका लागि तयार गरेको राजकीय अतिथिगृह नगई सीधा बाबाको कुटीमा पुगेका उनले करिब आधा घण्टा बिताएका थिए ।

बाबासँग उनले “बाबा, हजुरको शिक्षा के हो ? भन्ने प्रश्न गर्दा उनले “म शारीरिक, नैतिक तथा आध्यात्मिक गरी तीन अनुशासनका भारमा बताउँछु भनी जवाफ दिएका थिए । बाबा पहिलोपटक विक्रम संवत १९०३ मा आफ्ना बाजेका साथमा कोतपर्वको समयमा नेपाल आएका थिए। जताततै सैनिकहरू बन्दुक लिएर हिँडेको देखेपछि बस्नु उचित हुँदैन भनेर उनीहरू त्यसबेला पशुपतिनाथको दर्शन गरेर फर्किए । उनीहरु बागमतीको किनारै किनार भएर काठमाडौं उपत्यका पसेका थिए ।

उनै शिवपुरी बाबा दोस्रोपटक १०० वर्षको उमेरमा विक्रम संवत् १९८२ मा कैलाश मानसरोवर हुदै नेपाल आएका थिए । आफ्नो जीवनको अन्तिम भाग नेपाल मै बसेर बिताउने निर्णय गरेका उनले यहि समाधी लिएका थिए । नेपाल प्रवेश गरेपछि केही दिन पशुपति राजराजेश्वरी सत्तलमा बिताएका बाबाले पशुपति मन्दिरको पूर्वकोकुटीमा र गौरीघाटको पूर्वतर्फको किराँतेश्वरको थुम्कामा कुटी बनाई बसेका थिए ।

त्यसैगरी उनी केही समय गोकर्णेश्वर महादेवस्थानको दक्षिणपूर्वतर्फको जङ्गलमा तथा बुढानीलकण्ठको उत्तरतर्फ रहेको शिवपुरी डाँडामा पनि बसे । बाबालाई काठमाडौं आएको भोलिपल्ट माधव तिमिल्सिना माधव बाजेका बुवा सूर्यनाथ शर्माले भेटेछन् । सो समय सूर्यनाथ दिनैपिच्छे पशुपति जाने गर्दथे। उनको संयोगबश बाबासँग भेट भएको उनका उत्तराधिकारीहरु अहिले पनि सम्झिन्छन्। उनी मांसहरी थिए तर भेट भएसँगै भोलिपल्टबाटै उनी आध्यात्मिक मार्गमा अघि बढे । मांसाहार प्रथा परिवारमा बन्द भयो ।

बाबाको सेवामा लागे । सूर्यनाथको निधनपछि माधव बाजेले बाबाको आजीवन सेवा गरे ।  बाबा नेपाल आउँदा करिब सात दिन बिताउने विचार लिएर पदार्पण गरे पनि नेपालको प्राकृतिक सौन्दर्य, शान्ति आदिले गर्दा यहीं नै अन्तिम विश्रामस्थल बनाउने विचार लिए । 

त्यस बखत नेपालमा शिवरात्रिको समयमा दर्शन गर्न आउने भारतीय साधुमहात्माहरूलाई सात दिन मात्र बस्न दिने नियम थियो । त्यही नियमको अनुसरण गरेर बाबा काठमाडौंको पुतलीसडक (अहिलेको रामशाहपथ) को बाटोबाट पैदल फर्कदै गर्दा सिंहदरबार गएर फर्केर आएका एक व्यक्ति चढेको बग्गी उनको अघिल्तिर रोकिएछ । 

बग्गीबाट एकजना उत्रेर “हजुर गोविन्दानन्द होइन ? भनेर प्रश्न गरेछन् । ती व्यक्ति तत्कालीन बेलायती प्रतिनिधि (राजदूत) विल्किन्सन थिए। बेलायत भ्रमणका अवसरमा बाबा उनको घरमा पुगेका रहेछन् । उनी सो समय केटाकेटि थिए । स्कुलमा पढ्थे । बीस वर्षपछि बाबालाई भेटेका उनले कुरा सुनेपछि  सो समयका शासकलाई अनुरोध गरेर बाबालाई नेपालमा बस्ने प्रबन्ध पनि मिलाए । नेपालमा आफ्नो कार्यकाल रहुन्जेल उनी प्रत्येक आइतवार घोडामा चढेर शिवणी जान्थे र कुचो लगाउने, खाना तयार गर्ने, पानी ल्याउने, दाउरा बटुल्ने  (चेलाले गुरुको लागि गर्नुपर्ने) काम गरेर उनको सेवामा लाग्दथे । 

साँझ फर्केर आफ्नो काममा हाजिर हुन्थे । गोविन्दानन्द भारती शिवपुरीमा बसेपछि उनलाई भक्तहरूले शिवपुरीबाबा भन्न थाले र नेपाल तथा विश्वमा उनी शिवपुरी बाबाका नामले प्रख्यात भए । आफ्नो जीवनी र शिक्षा प्रचार गर्ने, लेख्ने वा प्रवचन गर्ने उनको इच्छा थिएन । कसैले लेख्ने इच्छा व्यक्त गर्दा – “मेरो जीवनमा अरू व्यक्तिहरूको जस्तो उतारचढाउको घटना घटेन । म सचेत भएर परमात्माको मार्गमा लागें र परमात्माको दर्शन गरे । त्यसैले मेरो जीवनी लेख्ने जरूरत छैन ।

लेख्ने भए मेरो शिक्षाका बारेमा लेख्नुु भन्थे। ३७ बर्ष उपत्यकामा बिताएका बाबाले किराँतेश्वर, गोकर्णेश्वर, शिवपुरी डाँडा हुँदै करिब ११ बर्ष आफ्नो अन्तिम समय पशुपतिस्थित श्री प्रभु शिवपुरी बाबा आश्रम समाधीस्थलमा बिताए । शिवपुरी बाबा भन्थे नेपाल तपोभूमि भएकोले यहाँ तपस्वीहरू तपस्याका लागि आउछन् । यहाँका वनमा तपस्वीहरू अदृश्य रूपले तपस्यामा तल्लीन भइरहेका छन्  ।   

बाबा ऋतु अनुसार करिब ५ बजे उठ्थे । आफू शौचबाट निवृत्त भएर गाईको दूधको चिया खान्थे। शरीरको आवश्यकता अनुसार खाना लिन्थे । सिजनको तरकारी आलु साग आदि खान्थे । बिहान शिरमा घाम नपर्ने गरि शरिरमा घाम पारेर मेचमा बस्थे । सो मेच अहिले पनि समाधिस्थलमा राखिएको छ । ४ बजेतिर गाईको दूधको सेवन गरेपछि कुटीभित्र बस्थे । 

परमात्माका विषयमा कुरा गर्न आएकासँग मात्र कुरा गर्थे । विसं २०१९ माघ १५ गते सोमबार (ईश्वी सम्वत १९६३ जनवरी २८) मा बाबाको स्वर्गारोहण भयो ।  तिथि अनुसार माघ शुक्ल पक्ष तृतीयामा करिब बिहान ६ बजे उनको समाधिमा लीन भए । साधु महात्माहरुले सोहि दिनको २–३ बजे आफ्नो परम्परा विधि अनुसार खाल्टो खनेर पद्मासनमा पश्चिमतर्फ बाबाको देहलाई राखे । त्यसको माथि पत्थर राखेर पूजा गर्न थालियो । देहको माथि अहिले शिवलिंग छ । सोही समाधिस्थलमा अहिले कयौँ मानिसहरु ध्यान बस्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ