arrow

सम्पादकीय

जस्तोसुकै सट्टेबाजी बन्द गर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
sattebaji.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौं । कतारमा जारी २२ औं विश्वकप फुटबल अन्तिम संघारमा छ । पुस ३ गते अर्जेन्टिना र फ्रान्सबीच फाइनल भएसँगै कतार विश्वकप सकिने छ । तर यसले गर्दा बढेको गैर कानूनी धन्दा अनलाइन बेटिङ अथवा सट्टेबाजीको असर भने रहिरहने छ । 

विश्वकप शुरु भएदेखि नै जितहारका लागि जुवा खेल्नेहरु थुप्रै छन् । त्यसमा पनि युवाको संख्या निकै नै धेरै छ । यसले युवामा लत बसेको छ । त्यतिमात्र हैन अहिले त्यस्ता अनलाइन बेटिङ गर्ने साइटहरुको बिगबिगी छ । हजारौं युवा जोडिएका छन् । र लोभमा परेर करोडौं रुपैयाँ देशबाट बाहिरिएको छ । 

विश्वकप त उदाहरणमात्र हो । यस्ता थुप्रै बेट हुने गरेका छन् जसबाट युवामा छिट्टै कमाउने लोभले अन्ततः विलापसम्म पुर्याएको छ । यस्ता सट्टेबाजीमा भुक्तानी देशका प्रमुख अनलाइनबाटै हुने गरेको पाइएको छ । 

अहिले सबैभन्दा चल्तीमा वान एक्स बेट रहेको छ । जसमा हजारौं व्यक्तिले बेट लगाउँदा बेट मिलेको अवस्थामा दुई चार जनाले केही थप रकम पाएको वान एक्स बेटले आफ्नो साइट वा एपमा देखाउँछ । तर सो रकम सजिलै आफ्नो बैंक वा वालेटमा तान्न सकिँदैन र फेरि त्यो व्यक्ति बेट लगाउन आकर्षित हुन्छ । 

यसरी यस्ता बेटिङ साइटबाट हजारौं जनाबाट करोडौं रकम विदेशिने गरेको छ । यो एपमा कुनै पनि खेल कुन टिमले जित्छ भनेर आफूले चाहे अनुसारको रकमको बेट लगाउन सकिन्छ । बेट मिल्दा केही प्रतिशत थप रकम दिने देखाए पनि त्यो रकम बेट लगाउनेले फिर्ता पाउने सम्भावना एकदम न्यून हुन्छ भने हजारौं जनाले कयौं रकम गुमाउने गर्छन् ।

त्यतिमात्र हैन पैसा लोड गर्न विकल्प छान्दा त्यहाँभित्र एक दलालको आईडी र नाम दिइएको हुन्छ । अर्थात् उक्त दलाल र एजेन्टबीच पनि सम्बन्ध स्थापित भएको हुन्छ । पक्राउ पर्नबाट जोगिन दलालले केही मिनेट, घण्टा वा दिनमा आफ्नो नयाँ आईडी बनाउने गर्छ या हुनसक्छ दलाल नै पनि फेरिने गरेको हुनसक्छ ।

त्यतिमात्र हैन दलालहरुले कयौं सीम खरिद गर्ने र अरुका नागरिकताहरुको दुरुपयोग गर्ने गरेकोसमेत पाइएको छ । यसमा बैंकदेखि लिएर अनलाइन सेवा दिने सबै सचेत हुनु जरुरी छ । साथै सीम बिक्रेतालेसमेत यसमा सचेतना नअपनाउने हो भने राज्यले ठूलो नोक्सानी बेहोर्नु पर्नेछ । 

यसमा नेपाल राष्ट्र बैंक ढिला गरी जागेको छ । वान एक्स बेटको एउटै एजेन्टले करोडौं उठाएको देखिएको छ । अन्य कयौं एजेन्टहरुमार्फत यस्तै अन्य बेटिङ साइट र क्रिप्टोकरेन्सीलगायतका अनेक थरी ठगी धन्दामार्फत कयौं रकम बाहिरिइरहेको देखिन्छ ।

सरकारले समयमै यस्ता गतिविधि बन्द गरी सहभागी दलाल र एजेन्टलाई तत्काल कारबाही नगर्ने हो भने अझ ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ । 

त्यस्तै वान एक्स बेटको प्रयोग गरिरहेकाहरु आफैँ सचेत हुन जरुरी देखिएको छ । पढेलेखेकै र यसबारे जानकारी युवाहरु नै वान एक्स बेटको जालमा फसिरहेका छन् । 

यस विषयमा सरकारी निकाय, भुक्तानीका लागि दुरुपयोग भइरहेका संस्थाहरुमाथि त प्रश्न उठ्छ नै र यसभन्दा बढी यसमा बेटिङ लगाउने युवाहरु आफै पनि सचेत हुन जरुरी छ । जस्तोसुकै सट्टेबाजी बन्द होस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ