arrow

प्रदेश १ मा एमालेकै सरकार बनाउन प्रचण्डले खटाए ज्वाइँलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
prachanda22.jpg

काठमाडौं । सङ्घीय संसद्मा १८ सिट प्राप्त गरेको नेकपा माओवादीले गठबन्धन कायम राख्ने र सरकार पनि मिलेर बनाउने जनाए पनि प्रदेश १ मा नेकपा एमालेसँग सहकार्य गर्ने गरी संवाद अघि बढाएको छ । प्रदेश १ मा एमाले सबैभन्दा ठूलो दल बनेपछि माओवादीले एमालेसँगको सहकार्यका लागि संवाद अघि बढाएको स्रोतको दावी छ । 

एमालेले करिब ४० सिट र माओवादीले १३ सिट प्राप्त गर्ने अवस्थामा यी दुई दलको मात्रै सरकार बन्ने अवस्था देखिएको हो । प्रदेश १ को ९३ सांसद मध्ये एमाले र माओवादी मिल्दा ५३ सांसद हुने भएकाले एमाले र माओवादीको सहकार्य सम्भव देखिएको माओवादीका एक नेताले बताए । उनका अनुसार कांग्रेससँगको सहकार्यमा प्रदेश १ मा माओवादीको तर्फबाट मुख्यमन्त्री नबन्ने भएपछि एमालेसँग आधा आधा कार्यकाल बाँडेर मुख्यमन्त्री बन्ने दाउमा लागेको स्रोतको दावी छ । 

‘प्रदेश १ मा माओवादीले कांग्रेस र नेकपा एसलाई मुख्यमन्त्रीमा समर्थन गर्नुपर्ने हुन्छ, नेकपा एसको तर्फबाट अहिलेका मुख्यमन्त्री राजेन्द्र राई नै दोहोरिन भएकाले त्यहाँ माओवादीलाई कठिन हुने भएकाले एमालेसँग सहकार्य गर्न सहज देखिएको हो’,माओवादीका ती नेताले भने । 

निर्वाचन सम्पन्न भएर प्रदेशसभाको प्रत्यक्षतर्फ दलहरूले पाएको सिट सङ्ख्या निश्चित भइसकेको र समानुपातिक तर्फ पनि दलहरूले पाएको मत टुङ्गो लागिसकेको अवस्थामा एमाले पहिलो दल बनेको तथा सरकार गठनमा भने अन्य दलसँगको सहकार्यका लागि अघि नबढेको अवस्थामा एमाले र माओवादीको सहकार्यको सम्भावना बढ्दै गएको छ । प्रदेश १ मा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन् । बहुमत नभए पछि दुई वा दुई भन्दा बढी दलको सरकार बनाउनुपर्ने देखिएको छ । मिलीजुली सरकार बनाउनुपर्ने अवस्थामा कुन कुन दलको सरकार बन्ने भन्ने स्पष्ट भइसकेको छैन । 

‘एमालेसँग माओवादी मिलेमा ५ वर्ष अन्य दलसँग सहकार्य गर्नुपर्ने बाध्यता हुँदैन’, माओवादीका ती नेताको दावी छ । माओवादी स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना ज्वाइँ जीवन आचार्यलाई सरकार निर्माणको प्रस्ताव अघि सार्न लगाएका छन् । अहिले प्रचण्डका ज्वाइँ जीवन आचार्य र इन्द्र आङबोले एमालेका नेताहरूसँग सहकार्यको प्रस्ताव गरिरहेका छन् । उनीहरू दुई मध्ये एक माओवादीको तर्फबाट मुख्यमन्त्रीको दावी गरिरहेका छन् । माओवादीले प्रदेश सभा सदस्यमा ९ वटा सिट जितेको छ । 

प्रत्यक्षमा जितेको सिट र समानुपातिकमा पाएको मतका आधारमा नेकपा एमाले प्रदेश १ मा सबै भन्दा ठुलो दल बनेको छ । दोस्रो दल नेपाली कांग्रेस बनेको छ । प्रदेश १ को प्रत्यक्ष तर्फको कुल ५६ सिट मध्ये नेकपा एमालेले २५ सिट जितेको छ । नेपाली कांग्रेसले १७ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले ९, नेकपा एसले ३, राप्रपाले २ सिट जितेको छ । 

यस्तै समानुपातिक तर्फ नेकपा एमालेले ६ लाख ६५ हजार ४ सय ६०, नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २ सय ४५, राप्रपा नेपालले १ लाख ९८ हजार ५ सय ११, जसपा नेपाले ६१ हजार ७ सय २३ र नेकपा एसले ५५ हजार ९ सय ५७ मत पाएका छन् । प्रदेश १ मा समानुपातिक तर्फको ३७ सिट रहेको छ । 

समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा सेन्टलग विधिबाट गणना गर्दा नेकपा एमालेले १५, नेपाली कांग्रेसले १२, नेकपा माओवादी केन्द्रले ४, राप्रपा ४, जसपा १ र नेकपा एकीकृत समाजवादीले १ सिट पाउने देखिएको छ । यस आधारमा प्रदेश १ को ९३ सांसद मध्ये नेकपा एमालेले ४०, नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १३, राप्रपाले ६ नेकपा एकीकृत समाजवादीले ४ र जसपाले १ सिट पाउने देखिएको छ । निर्वाचनमा प्राप्त सिटका आधारमा नेकपा एमाले गठबन्धनले बहुमत पुर्‍याउने देखिएको छ । 

नेकपा एमाले गठबन्धनमा एमाले, जसपा र राप्रपा रहेका छन् । तीन वटा दलले प्रदेश १ मा बहुमत ४७ सिट पाउने देखिएको छ । यस्तै सत्तारुढ गठबन्धनको प्रदेश १ मा ४६ सिट पुग्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ