arrow

महन्थ र शरतसिंहले जितेको महोत्तरीमा अधिकांश पुरानै अनुहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
mahantha.JPG

महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ यसअघिकै दोहोरिएका छन् ।

महोत्तरी-३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी-२ बाट लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचित भएका थिए । उनीहरु दुवै यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित थिए । 

त्यसैगरी जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सातवटामा यसअघिकै प्रदेशसभा सदस्य यसपालि दोहोरिएर निर्वाचित भएका थिए । यसमा महोत्तरी-१(१) र (२) बाट क्रमशः नेकपा (एमाले) नेतृ शारदा थापा र नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह छन् । यसरी नै महोत्तरी-२ (१) र (२) बाट जयनुल राइन र सुरिता साह निर्वाचित भएका थिए । उनीहरु दुईमध्ये राइन लोसपाबाट र साह यसपालि लोसपाबाट अवसर नपाएपछि स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर विजयी बनेका हुन् ।

जिल्लाको महोत्तरी-३(१) र (२) बाट पनि प्रदेशसभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी बनेका छन् । उनीहरु दुवै सोही क्षेत्रबाट यसअघि प्रदेशसभा सदस्य थिए । यसरी नै महोत्तरी-४ (२) का निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा पनि यसअघि सोही क्षेत्रबाट निर्वाचित थिए ।

महोत्तरीे-१ बाट भने प्रतिनिधिसभामा एमाले नेता लक्ष्मी महतो कोइरी निर्वाचित भएका थिए भने महोत्तरी-४ बाट कांग्रेस नेता महेन्द्रकुमार राय निर्वाचित भएका थिए । प्रदेशसभातर्फ महोत्तरी-४ (१) बाट निर्वाचित एमाले केन्द्रीय सदस्य सरोजकुमार यादव भने प्रदेशसभामा नयाँ अनुहार छन् । विसं २०७४ मा महोत्तरी-४ (२) प्रदेशसभा क्षेत्रमा पराजित हुनुभएका यादव यसपालि क्षेत्र परिवर्तन गरेर महोत्तरी-४(१) बाट निर्वाचित भएका हुन् ।

महोत्तरी-१ र महोत्तरी-४ बाट क्रमशः गिरिराजमणि पोखरेल र डा सुरेन्द्रकुमार यादव र प्रदेशसभातर्फ महोत्तरी-४(१) बाट कौशलकुमार रायले निर्वाचनमा पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ