arrow

महानिरीक्षकद्वयको उपलब्धिमूलक यूएनकप्स समिट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
uncops-igps-dhiraj-raju-2022.jpg

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिने तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिट (यूएनकप्स) मा सहभागीता जनाएर फर्केका छन् । 

महानिरीक्षकद्वयको उक्त यूएनकप्स उपलब्धिमूलक भएको दाबी गरिएको छ । स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महानिरीक्षकद्वयले आफूहरुको भ्रमण उपलब्धिमूलक भएको बताएका हुन् । 

सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवबाट जारी गरिएको साझा एजेण्डा र एफोरपी (एक्सन फर पिसकिपिङ) तथा एफोरपीप्लस को कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए । 

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले चर्चा गरे । साथै उनले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र वार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागीता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको उल्लेख गरे । 

त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले समिटका क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफलसमेत निकै फलदायी भएको दाबी गरे । 

समिटकै क्रममा दुवै महानिरीक्षकहरु सिंह र अर्यालले संयुक्त राष्ट्र संघ अन्तर्गत डिपार्टमेन्ट अफ पिस अपरेसन्सका पदाधिकारीहरुसँग भेटघाट गरेका थिए । 

साथै उनीहरुले विभिन्न विभागका प्रमुखहरुसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए । समिटमा छलफलको क्रममा महिला सहभागिता वृद्धि गर्ने, नेपाल एफपीयूको प्रि–डिप्लोएमेन्ट भिजिट (पीडीभी) र एसेसमेन्ट एन्ट एडभाइजरी भिजिट (एभीभी) को लागि यूएनको टोली आगामी अक्टुबरमा नेपाल आउने, नेतृत्व तहको लागि प्रोत्साहन गर्ने तथा प्राथमिकता दिने, नेपालको सहभागितालाई थप व्यापक बनाउन तालिम प्रशिक्षकको लागि अतिरिक्त कोटा उपलब्ध गराउने तथा प्रशिक्षण कार्यमा खटाउने र नेपालमा यूएन पिसकिपिङ सम्बन्धी अन्तर्राष्ट्रिय तालिमहरु संचालन गर्ने लगायतका उपलब्धीहरू हासिल भएको छ । 

पीडीभीपछि नेपालका तर्फबाट एक एफपीयू टोली आगामी जनवरीमा मालीको किडालमा परिचालन हुनेसमेत निर्णय भएको छ ।  

गत भदौ १५ देखि १७ गतेसम्म भएको उक्त समिटमा १ सय ८१ देशका प्रहरी प्रमुखहरूको सहभागीता रहेको थियो । 

उक्त समिटमा नेपालका तर्फबाट संयुक्त राष्ट्र संघीय स्थायी नियोगका सैनिक सल्लाहकार महासेनानी जगदीश खड्कासहित पाँच सदस्यीय टोली सहभागी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ