arrow

एक डीआईजीलाई सुहाउने गरी सशस्त्रमा थपियो एआईजीको दरबन्दी, दबाबमा आईजीपी अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । सशस्त्र प्रहरीमा दुई एआईजीको दरबन्दी थप गर्ने प्रयास हुँदा हुँदै सरकारले गुपचुप रुपमा कुनै एक व्यक्तिलाई लक्षित गरेर एआईजीको दरबन्दी थप गरेको छ । सरकारले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर डीआईजी वंशी दाहालका लागि एआईजीको दरबन्दी थप गरेको हो ।

सशस्त्र प्रहरीका डीआईजी दाहाललाई लक्षित गरेर सो दरबन्दी थप गरेपछि एआईजी बढुवाको सिफारिसका लागि प्रहरी महानिरीक्षक राजु अर्याल दबाबमा रहेका छन् । अर्याल अमेरिका गएका बेला सरकारले सो दरबन्दी थप गरेको हो ।

 ‘आईजीपी अमेरिका भ्रमणमा गएको बेला चलखेल गरी दरबन्दी थप गरिएको हो । आईजीपीले दुई वटा दरबन्दी बनाउनुपर्छ भन्दा भन्दै एउटा दरबन्दी व्यक्तिलाई लक्षित गरेर थप गरिएको छ’, स्रोतले भन्यो । 

दरबन्दी थपको पत्र सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पुगिसकेको छ । सशस्त्र प्रहरी महानीरिक्षक अर्याल शनिबार मात्रै काठमाडौं आएका हुन् । उनी आउनुअघि नै दाहालले चलखेल गरेर एउटा दरबन्दी थप गर्न लगाएका हुन् । उनी यसअघि एआईजी हुने चलखेलमा थिए । 

तर अर्यालले नमानेपछि हालका एआईजी सीपी गौतमको बढुवा भएको थियो । एआईजीको दरबन्दी थप गरिएको बेला महानिरीक्षक अर्याल अमेरिका थिए । उनी संयुक्त राष्ट संघको कार्यक्रममा सहभागी हुन अमेरिका गएका बेला बालुवाटारको विशेष आग्रहमा दरबन्दी थप गरिएको स्रोतको दाबी छ । 

आईजीपी अमेरिका भएको बेला २१ भदौको मन्त्रिपरिषद बैठकले एउटा एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको पत्र सोमबार मुख्यालय पठाइएको थियो । सशस्त्र प्रहरीमा दुई ओटा एआईजीको दरबन्दी रहेकोमा संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएण्डएम बिनै तीन ओटा बनाइएको छ । 

संगठनको ओएण्डएमबिनै सरकारले व्यक्तिलाई लक्षित गरेर दरबन्दी थप गरेको स्रोतको दाबी छ । ‘दाहालले दरबन्दी थप गर्न पूर्वका सबै नेपाली कांग्रेसका नेताहरुको घर घरमा पुगेर लबिङ गरेको थिए’, स्रोतले भन्यो । 

सरकारले दरबन्दी थप गर्नुअघि कुनै पनि संगठनको ओएण्डएम गर्नुपर्छ । तर सशस्त्रमा ओएण्डएम बिना नै दरबन्दी थप गरेको र दरबन्दी थप गरेपछि मात्रै ओएण्डएम बुझाइएको स्रोतको दाबी छ ।

 ‘आईजीपी दुई ओटा दरबन्दी थप गर्न चाहन्थे तर दाहालले पूर्वका कांग्रेस नेताहरु लगाएर  एउटा मात्रै दरबन्दी थप गर्न सफल भए’, सशस्त्र स्रोतले भन्यो । अर्याललाई अब दाहालकै सिफारिस गर्न बाध्य पारिएको छ । सशस्त्रका डीआईजीमध्ये दाहाल नै सिनियर हुन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ