arrow

नयाँ पार्टी खोल्नु रहर कि वाध्यता ?

logo
ज्ञानबहादुर रोका, 
प्रकाशित २०७९ भदौ ४ शनिबार
gyan-bahadur-rokka-article.jpg

वर्तमानको प्रविधियुक्त आधुनिक संसारभर चाहे त्यो विकसित मुलुक होस् चाहे अल्पविकसित देश होस् राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । संसारका प्रत्येक राष्ट्रमा विभिन्न विचार बोकेका राजनीतिक दलहरु रहेका छन् । संसारका ठूला ठूला राष्ट्र हुन् वा साना राष्ट्र हुन् दल विनाको प्रजातन्त्र वा लोकतन्त्रिक व्यवस्था वा प्रणालीको अपेक्षा गर्न सकिँदैन । किनभने दलहरुको उपस्थिति विना आजको युगमा अग्रगतिको कल्पना गर्न सकिँदैन ।

राजनीतिक दलहरु विभिन्न देशमा त्यस देशको आवश्यकता, ऐन, नियम र कानून अनुसार गठन भएका हुन्छन् । त्यस्तै नेपालमा राजनीतिक दल गठनको इतिहासलाई हेर्ने हो भने राजनीतिक दल खोलेको त्यति लामो इतिहास पाइँदैन । नेपालमा सर्वप्रथम १९९३ सालमा प्रजा परिषद नामक राजनीतिक दलको जन्म भएको पाइन्छ । त्यसपछि २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस, २००६ सालमा नेपाली कांग्रेस, २००६ मा नेपाल कम्युनिष्ट पार्टी, २००७ सालमा गोरखा परिषद् लगायतका पार्टीहरुको जन्मसँगै नेपालमा राजनीतिक दलको विकास भएको पाइन्छ ।

विभिन्न समयमा राजनीतिक दलहरुको गठनको थालनी भएता पनि २००७ सालको क्रान्तिपछि लागु भएको नेपालको अन्तरिम शासन विधान २००७ बाटमात्र नेपालमा राजनीतिक दलले वैधानिक मान्यता पाएको पाइन्छ । त्यसपछि नेपाल अधिराज्यको संविधान २०१५ द्धारा नेपाली जनतालाई दल दर्ता गर्न पाउने भनी संविधानद्धारा मौलिक हकको रुपमा स्वीकार गरेको पाइन्छ भने २०१७ सालको राजनीतिक परिवर्तनपछि दलहरु माथि प्रतिबन्ध गरियो । फेरि २०४६ सालको जनआन्दोलनपछि आएको बहुदलले तयार गरेको नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२ मा स्वतन्त्रताको हक अन्तर्गत नेपाली नागरिकलाई राजनीतिक दल दर्ता गर्न पाउने व्यवस्था गरेको देखिन्छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ को उपधारा ३ को खण्ड (ग) मा प्रत्येक नागरिलाई राजनीतिक दल खोल्ने स्वतन्त्रता हुनेछ भन्ने व्यवस्था गरेको पाइन्छ ।  

त्यसैगरी नेपालको संविधान २०७२ ले पनि स्वतन्त्रताको हक अन्तर्गत नेपाली नागरिकलाई राजनीतिक दल खोल्ने अधिकार प्रदान गरेको छ । त्यस्तै नेपालमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दल खोल्न सक्ने व्यवस्था गरेको छ । सोही ऐनको दफा २० को १ मा दलको काम, कर्तव्य र अधिकार अन्तर्गत दलले संविधान, यो ऐन तथा प्रचलित कानूनको अधिनमा रही गर्नुपर्ने काम, कर्तव्य र अधिकारको विषयमा सम्बन्धित विधानमा उल्लेख गर्नुपर्ने छ भन्ने कुरा उल्लेख गर्दै मुलुकको आर्थिक, सामाजिक वा सांस्कृतिक विकास गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, नागरिकको हक हित र सरोकारको पहिचान गरी त्यसलाई पहिचान गर्ने, सबै किसिमका सामाजिक भेदभाव, हिंसा, छुवाछुत वा विभेदको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने, सुशासन कायम गर्र्र्ने, सामाजिक सद्भाव र एकताको विकास गर्ने, आफ्नो निर्वाचन घोषणपत्रमा उल्लेख भएका काम गर्ने लगायतका व्यवस्था गरेको पाइन्छ । तर नेपालका राजनीतिक दलहरुले यी कुरालाई पुर्ण रुपमा अगालेको पाइँदैन ।

राजनीतिक दलले राष्ट्रिय हितको संरक्षण, जनताको चाहना र आवश्यकतामा आधारित अल्पकालीन तथा दीर्घकालीन नीति, रणनीति, योजनालाई कार्यान्वयन गर्नु वा गराउनुका साथै समाजमा विभिन्न विचार वा भावना बोकेका मानिसहरुको विचारलाई एकै ठाउँमा समेटेर व्यवस्थित तरिकाले तिनीहरुलाई पनि अगाडि बढाउनेतिर पहल गर्नु राजनीतिक दलको उद्धेश्य हुनुपर्ने भएकाले राजनीतिक दलभित्र कुनै गुट उपगुट कुनै पनि दलको उदेश्य हुनु हुँदैन । राष्ट्रिय हित र जनताको भावना र आकांक्षालाई पूरा गर्न नसक्ने वा त्यसलाई सम्बोधन गर्न नसक्ने संगठनलाई राजनीतिक दल मान्न सकिँदैन ।

विश्वमा चलेको व्यवस्थामध्ये सबैभन्दा बढी चलेको व्यवस्थालाई हेर्ने हो भने बहुदलीय लोकतान्त्रिक व्यवस्था हो । दुई वा दुई भन्दा बढी प्रभावशाली दलहरु भएको देशलाई बहुदलीय व्यवस्था कायम रहेको देश भनेर भनिन्छ । यस्ता बहुदलीय व्यवस्था भएका राष्ट्रमा दर्जनौं दलहरु चुनावी प्रक्रियामा भाग लिएका हुन्छन् । तर थोरै दलहरुले चुनाव जित्ने र बहुमत पनि कम मात्र दलको आउने हुँदा प्रायः संयुक्त सरकार रहेको पाइन्छ ।

यस्ता व्यवस्था भएका देशहरुमा धेरै राजनीतिक दल समावेश हुने भएकाले मतदाताले आफ्नो चाहना अनुसार भोट दिन सक्छन् । मन गरेको अरुले भन्दा तुलनात्मक रुपमा अलि बढी राम्रो काम गरेको दललाई निर्वाचित गरेर सरकारमा पठाउने गर्छन् । प्रजातान्त्रिक मुलुकमा सरकार पार्टीबाट निर्माण हुन्छ ।

समाजमा विभिन्न विचारधारा बोकेका व्यक्तिहरु हुन्छन् । तीमध्ये समान विचारधारा, उद्धेश्य, लक्ष्य र आदर्श भएका व्यक्तिहरु एउटै पार्टीमा आवद्ध हुन्छन् । तर पद र सत्ताको मोहका कारण समय समयमा एउटै पार्टीभित्र द्वन्द्ध र वैमनस्यता उत्पन हुन जान्छ जसको कारणले पार्टीहरु आन्तरिक द्धन्द्ध र शक्ति सन्तुलन मिलाउन नसक्दा सत्ता र पद नपाएकाले आफनै पार्टी नै त्याग गरी पार्टी फुटाउँछन् र शक्तिहीन भएर बस्छन् भने कोही अर्को बलियो पार्टीमा विलय हुन्छन् ।

नेपालमा पार्टीहरु जोडिने, फुट्ने अनि नयाँ पार्टी खोल्ने नौलो कुरा होइन । यो एउटा पेशा जत्तिकै राम्रो व्यवसाय भएको छ । पार्टीको विचारधारा, घोषणपत्र, विधान, उद्धेश्य, वैचारिक बाटो, भविष्यका योजना आदि सबै पार्टीका राम्रै हुन्छन् । तर हाम्रा नेताहरु गन्तव्यहीन यात्री जस्तै भएका छन् । जसको कारणले जति राम्रा घोषणा पत्र अनि उद्धेश्य भएता पनि ती पूरा गर्न सकिरहेका छैनन् । 

एउता कुशल शासकलाई देश र जनताको चिन्ता हुन्छ । तर यहाँ पद र कुर्सीको अनि आफ्नो पार्टीको मात्र चिन्ता छ । सत्ता र पद भएन भने पार्टी फुटाएर हुन्छ कि नयाँ पाटी खोलेर हुन्छ पदमा बस्नै पर्ने अवस्था नेताहरुले सिर्जना गरेका छन् । नेपाल एउटा त्यस्तो देश हो जहाँ दर्जनौं संख्यामा पार्टी खोलिएका छन् । प्रत्येक वर्ष त्यसमा पनि चुनाव आउने बेलामा पार्टीहरु खोल्ने रहर नै चल्ने गरेको पाइन्छ । 

राजनीतिक दल खोल्नु कसैलाई वाध्यता भएको छ भने कसैलाई अरुको देखासिखी गरेर अरुले नेता बनेर नाम पनि कमायो दाम पनि कमायो भनेर नयाँ दल खोल्नेको पनि कमी छैन भने कसैले अरुले केही गर्न सकेन अव मैले गर्छु भनेर दल खोल्ने पनि पछिल्लो समयमा ठूलै संख्या रहेको छ । 

तर ती र त्यसरी खोलेका दलले पनि केही पनि गर्न सकेको अवस्था देखिँदैन । तिनीहरु पनि लक्ष्यविहीन भएर अल्मलिन पुगेका छन् । अहिले समाजमा वा दलमा देखिएका विभिन्न विकृति र विसंगतिलाई हटाउनको लागि नयाँ राजनीतिक दल खोल्नु सही निकास हो त ? अवस्य पनि हैन किन भने नयाँ जोश जाँगरका साथै तामझाम गरी खोलिएका नयाँ दलले पनि केही गर्न सकेका छैनन् । यहाँ नयाँ दलको आवश्यकता भन्दा पनि भइरहेका दलबाट नयाँ अनि असल, क्षमतावान भिजन अनि मिसन भएका मान्छेलाई अवसर दिँदै अल्छि र केहि गर्न नसक्ने क्षमताविहीन नेतालाई विस्तारै हटाउँदै लैजान सकिएको खण्डमा पुरानै पार्टी भए पनि त्यो नै राम्रो होला ।

यसरी सयौंको संख्यामा राजनीतिक दल खोल्दै जाने हो भने घर घरमा पार्टीहरु खोल्ने दिन नआउला भन्न सकिँदैन । सबै नेता जनता र सबै जनता नेता हुने दिन आउन सक्छ । यसको असर देशले चुकाउनु पर्छ । यस्तै दल खोल्दै जाने हो भने त्यसको आर्थिक भार राज्यले कति बेहोर्नु पर्छ । यदि राजनीतिक दलमात्र धेरै खोलेर देश र जनताको विकास हुने भएको भए नेपाल संसारको सबैभन्दा विकसित देशमा सूचीकृत भइसक्नु पर्ने थियो । 

ठूला ठूला विकसित मुलुकमा पनि राजनीतिक दलहरु छन् । तर त्यहाँ थोरै मात्रामा छन् । ती दलका नेता कार्यकर्ता कुनै न कुनै पेशा व्यवसाय गरेर आर्थिक रुपमा सम्पन्न भएर वा आर्थिक रुपमा आफ्नै पेशा, व्यवसायमा निर्भर भएर राजनीतिको माध्यमबाट देश र जनताको सेवामा लागेका छन् । अनि मात्र ती देशमा आर्थिक विकासका साथै जनताको जीवनस्तरमा सकारात्मक सुधार भएको छ । 

भष्टचार हँुदैन, सुशासन कायम हुन्छ । तर हाम्रो नेपालमा कतै कुनै पेशा, व्यवसाय काम नभएपछि केही पनि गर्न नसकेपछि मात्र राजनीतिमा लाग्ने र त्यसैबाट आम्दानी गरि जीविकोपार्जन गर्न लागेको पाइन्छ । यसरी कसरी देश र जनताको अपेक्षा गरे अनुसारको विकास हुन्छ । यदि कुनै पनि मानिस भोको छ भने कसैले उसलाई कुनै पनि खाने कुरा लिएर दिए भने उसले पहिले त्यो खाने कुरालाई आफूले खान्छ । त्यस पछि आफ्नो परिवारलाई खुवाउँछ । अनि मात्र उसले बचेको कुरा अरुलाई दिन्छ ।  त्यस्तै हो राजनीतिक गर्ने व्यक्तिले पनि आफू अभावमा बाँचेको छ भने पहिले आफ्ना आवश्यकता पूरा गर्नतिर लाग्छ अनि मात्र देश र जनताको आवश्यकता पूरा गर्नतिर लाग्छ । 

त्यसकारण कुनै पनि राजनीतिक दल खोल्नु भन्दा पहिले वा दलको सक्रिय सदस्य हुनको लागि ऊ राजनीति गर्न चाहन्छ भने सदस्य हुन लागेको दलले त्यो व्यक्तिको यदि राजनीतिमा लागेको खण्डमा त्यसको घरपरिवार पाल्नको लागि के पेशा व्यवसाय गरेको छ भन्ने कुरा थाहा पाएपछि वा उसले राजनीतिलाई कमाउने माध्यम भन्दा पनि समाज सेवा गर्न गर्नको हो भन्ने ग्यारेन्टी भएपछि मात्र सदस्यता दिने हो भने राजनीतिको आवरण देशमा भएको भ्रष्टाचार, विकृति, विसंगतिमा धेरै हदसम्म कमी आउने थियो । होइन भने एक दिन सबै जना राजनीतिमा लागेर कमाई खाने माध्यमका रुपमा राजनीतिलाई नलेलान् भन्न सकिन्न ।

हाम्रो जस्तो सानो देशमा अहिले पनि एक सय भन्दा पनि बढी दलहरु खुलेका छन् भने कतिपय खुल्ने वा फुटेर नयाँ दलको रुपमा आउने तयारी गरिरहेका छन् । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागिमात्र ८४ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । जबकि त्यसमा नेत्रविक्रम चन्द विप्लवको पार्टी सहभागी छैन । त्यस्तै थुप्रै दल छन् जसले चुनावमा भाग लिने छैनन् । 

यसरी प्रत्येक राजनीतिक दलको संचालनमा रहेका कार्यालय, कर्मचारी अनि ती दलले देशव्यापी रुपमा विभिन्न समयमा गर्ने कार्यक्रमको खर्च कति हुन्छ अनि कहाँबाट कसरी आउँछ । सयौंको संख्यामा खुलेका दलको के काम । दुई चार वटा दलले हुने ठाउँमा किन यति धेरै दल खोल्न आवश्यक छ र ? यदि ती अनावश्यक सयौं दलले गर्ने खर्च कुनै उद्योगधन्दा, कलकारखान खोल्नतिर लगानी गर्ने हो भने ती कलकारखानामा कति जनाले रोजगारी पाउँछन् । उनीहरुको जीवनमा कति राम्रो प्रभाव पर्छ । देश विकास हुन्छ, आर्थिक रुपमा सम्पन्न हुन्छ अनि नागरिकका आवश्यकता पूरा गर्नमा सहयोग पुग्छ । 

यहाँ धेरै राजनीतिक दलको कमी वा आवश्यकता भन्दा पनि देश र जनताको भावना, इच्छा, आकाांक्षा र आवश्यकता पूरा गर्ने व्यक्ति वा त्यस्ता व्यक्तिले बनेको दलको आवश्यकता हो । एउटा दलको नेताले अर्को दलका नेता तथा कार्यकर्तालाई गाली गलोज गरेर नै राजनीति गरेको ठान्ने र समय बिताउने दलहरुको भन्दा कसरी देश र जनताको विकास गर्न सकिन्छ भनेर अल्पकालीन तथा दीर्घकालीन नीति, रणनीति, योजना, लक्ष्य, उद्धेश्य र तिनीहरुलाई कायान्वयन गर्नको लागि प्रतिवद्धता भएको व्यक्तिले बनेको दलको आवश्यकता हो आजको नेपालमा ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ