arrow

नैतिकवानको नैतिकताः हिजो, आज र भोलि

logo
जोरस थापा,
प्रकाशित २०७९ पुष २१ बिहिबार
joras-thapa-article.jpg

हामी नैतिकवान हुनुपर्छ भन्ने सबैलाई थाहा छ । तर हामी प्रायः नैतिक छौँं कि छैनौंँ भन्ने हामी आफैलाई थाहा हुन्न । सबैले आफूलाई नैतिकवान नै मान्छ तर यो मापन प्रायः गलत हुन्छ । आफू नैतिक छौं कि छैनौं हामी आफैले मापन गर्नु भन्दा अरुलाई गर्न दिनु राम्रो हुन्छ । नैतिक हुन्छ । 

यति भन्दैगर्दा नैतिक भन्नाले के बुझ्नुपर्छ भन्ने चैँ मानिसको बुझाइ, गराइ, र भोगाइ अनुसार फरक हुन सक्छ । तर अंग्रेजी शब्दकोश वेब्स्टरले नैतिकता ‘मोरालिटी’ लाई आइडल अफ राइट ह्युमन कन्डक्ट भन्छ । अर्थात् मानिसले मनिसप्रति गर्ने  आदर्श व्यवहार । यसो भन्दै गर्दा आफैँ विचार गरे नैतिक त म आफैँ पनि छैन किनकि विदेशी भूमिमा बसेर सो देशमा भएकाको नैतिक मापन गर्दैछु । 

यो आफैँ अनैतिक पो हो कि । यद्यपि यो स्तम्भकारले प्रत्यक्ष वा परोक्ष कसैलाई अनैतिक व्यवहार गरे जस्तो लाग्दैन । तर यसमा आफैँ पनि गलत वा भ्रमित हुन सकिन्छ । यदि कसैलाई अन्याय वा अनैतिक ब्यवहार गरेको भए माफी । मानिस नैतिकवान हुनुपर्छ । त्यसमा कुनै शंका छैन । तर नैतिकता भन्दा बढी  राजनैतिक प्राणी र प्रणालीमा हुनुपर्छ । राजनैतिक प्राणीमा अनिवार्य नै हुनुपर्छ । किनभने यो देशको भविश्यसँग जोडिएको हुन्छ । नैतिकरुपले हेर्ने हो भने बुझाइमा थोरैमात्र नैतिकवान नेताहरु छन् र उनीहरु जीवित छैनन् । 

जीवनकालमा यी नेताहरु नैतिकवान थिए कि थिएनन् । राम्रो महसुस गर्न पाइएन । तर यसको पुष्टिका लागि प्रायः सबै नेता र विश्लेषकका मुखबाट यी नेताहरुको नाम सुन्दा यी नेताहरु नैतिकवान हुन् भन्नेमा दुईमत छैन। यी नेताहरुमा वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी र राजा महेन्द्र हुन् । 

अरु पनि थुप्रै होलान् । नाम सम्झदै गर्दा केही कांग्रेसी र कम्युनिष्टबीच राजाको नाम पनि परेछ । राजा शासक हो । यो कसरी नैतिक हुनसक्छ भन्ने प्रश्न उठ्न सक्छ । फेरि हालको राजनीतिमा राजाहरुलाई शासक मात्र हैन सामन्ती पनि हुन् र देशको सबै प्रमुख समस्याको जड नै राजा र राजतन्त्र हुन् भन्नेहरुनै राष्ट्र प्रमुख भएका छन् । 

राजा महेन्द्र शासक हुन् । तर उनको देश, प्रेम र देश विकासमा पुर्याएको योगदानलाई देखेर नैतिकवान मध्यम सम्झनु ठूलो कुरो होइन । सही, गलत पाठकले छुट्याउनु पर्छ । त्यसैले राजाका विषयमा धेरै बहस नगरौँ । अहिले नेपाली कांग्रेस र कम्युनिष्ट हाक्ने नेताहरु यिनै महान् नैतिकवान नेताहरुबाट प्रशिक्षित हुन् । 

तर यिनीहरु किन नैतिकवान हुन सकेनन् ? हुन त यी पार्टीभित्र अनेकौँ नैतिकवान नेताहरु हुनुहोला । तर उनीहरु पार्टीको तल्लो तहमा होलान् ।  त्यसैले यिनीहरुको नैतिकता मापन गर्ने अवसर पाएका छैनौं । हामीले मापन उसैको गर्ने हो जो प्रमुख हुन्छन् र जसको व्यवहारले हाम्रो दैनिकीमा असर गर्छ। यसो भन्दै गर्दा नैतिकवान नेताहरुको अवमूल्यन र अपमान गरेको भने पक्कै हैन ।

हामीले नेपाली राजनीतिमा केपी ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई अनैतिक व्यवहार देखाएका अनेकौँ लेख र अन्तर्वार्ता पढ्न, सुन्न र हेर्न प्रशस्तै पाइन्छ । यी नेताहरुले पनि केपी र मौका पर्दा एकअर्कालाई प्रशस्तै अनैतिक व्यवहार देखाएका छन् । यो पनि प्रशस्तै पढ्न हेर्न र सुन्न पाइन्छ । 

माथि उल्लेखित नैतिकता देखाएका र नदेखाएका नेताहरु कति समकालीन छन् । कतिबीच पुस्तान्तर छ । समकालीनबाट त सिकेनन् । तर पुस्ताबाट त केही सिक्नुपर्ने हो । आफ्नो विरासत विकास गर्नुपर्ने हो । त्यति पनि गरेनन् । अब छिट्टै यी नैतिकता प्रस्तुत गर्न नसकेका नेताहरु विलय भएर जानेछन् र नयाँ पुस्ता आउनेछन् । के यो नयाँपुस्ता राजनैतिक रुपले नैतिकवान हुनेछ ?

नेपाली राजनीतिमा पुस्तान्तरणको ठूलो बहस चलेको छ । के पुस्ता परिवर्तन प्रमुख हो ? यस विषयमा डा. सुरेन्द्र केसी, प्रतिष्ठित प्राध्यापक तथा इतिहासकार र राजनैतिक विश्लेषकको बुझाइमा पनि अहिलेको प्रश्न पुस्तान्तरण भन्दा पनि नैतिकताको हो । आचरणको हो । विचारको हो । पद्धतिको हो । उचित पद्धति बसाले र नेताहरु नैतिकवान भए राजनीति र देश दुवैले सकारात्मक परिवर्तनको गति लिनेछ ।

अब अहिलेका पुस्ताको कुरा गरौँ जो नेपाली राजनीतिमा प्रख्यात र उदयीमान छन् । यसमा कांग्रेसका कोइरालाहरु, कम्युनिष्टका पौडेलहरु, माओवादीका महराहरुको कुरा गरिरहेको हैन । यिनीहरु पुस्तामा हालका शीर्ष नेताहरुसँग अन्तर भए पनि बुबा पुस्ताका भैसके । युवा पुस्ता भन्न मिल्दैन । त्यसैले गगन, योगेश, सीके, लिङदेनलगायतका पुस्ताको विषय हो । यिनीहरुलाई नैतिकवान छन् या छैनन् पूर्णरुपले भन्न सकिने अवस्था आएको छैन । तर नैतिकवान नै छन् भन्नलाई विभिन्न आक्षेप लागेका छन् । आक्षेपहरुलाई गलत सावित गर्ने चुनौतीका पहाडहरु छन् र त्यसलाई गलत साबित गर्न सकुन् । सुभेक्षा छ ।  

राजनीति नगरेका तर राजनीतिमा प्रवेश गरेकाहरुको पनि कुरा गरौँ । सरसर्ती सोच्दा पहिलो नाम रविन्द्र मिश्रको आउँछ । मिश्रले राजनीति शुरु गरेको १० वर्ष पनि पुगेको छैन । तर यो छोटो राजनैतिक कार्यकालमा आफैले गठन गरेको पार्टीलाई तिलाञ्जली दिएर अर्को पार्टी प्रवेश गरे । पार्टी प्रवेश पनि आफूले गठन गरेको पार्टीभन्दा सैद्धान्तिक रुपले फरक मत भएको पार्टीमा । त्यसो भन्दै गर्दा मानिसको विचार परिवर्तनशील हुन्छ र हुनुपर्छ भन्नेमा विश्वास छ । तर सिद्धान्त नै परिवर्तन गर्नुपर्छ भन्ने कुरामा भने फरक मत छ । मिश्र परोपकार र पत्रकारितामा अब्बल थिए । त्यसैले मिश्र राजनैतिक रुपले नैतिकवान छन् वा छैनन् छुट्टाउने जिम्मा पाठकलाई नै । 

यो सिलसिलामा हालैमात्र राजनीति थालेका रवि लामिछानेले छोटो समयमै आफ्नो पार्टीलाई देशको चौथो ठूलो पार्टी बनाए । आफूसँगै सोबिता गौतम, डा. तोशिमा कार्कीलगायत धेरै युवाहरुलाई नेपाली राजनीतिमा उदीयमान गराए । यो लामिछानेको सराहनीय काम हो । अब यी नयाँपुस्ताले कत्तिको नैतिकता प्रस्तुत गर्छन् हेर्दै जाउँला । 

लामिछाने नेपाली राजनीतिमा अहिले सर्वाधिक सफल र विवादित नेता हुन् । लामिछानेले पत्रकार हुँदा हजारौँ नेपालीलाई खुशी बनाएका छन् । विशेष गरी खाडी मुलुकमा रोजगारीका क्रममा फसेका र उनीहरुका परिवारका बारेमा निकै सहयोगी भूमिका खेले । त्यसैेले धेरै नेपालीहरुको लामिछानेप्रति विश्वास हुनु र सहानुभूति राख्नु स्वभाविक हो । 

पत्रकारिताका क्रममा लामिछानेले सयौँ वरिष्ठ नेता र कर्मचारीलाई नैतिकताको पाठ पढाए । यति भन्दै गर्दा लामिछानेप्रति विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आक्षेप लागेका छन् । आफ्नै समकालीन पत्रकारलाई आत्महत्याको दुरुत्साहन, ठूला ब्यापारी र कर्मचारीसँग मिलेर साना ब्यापारी र कर्मचारीमाथि स्टिंग अपेरशन गरेको र फर्जी नागरिकता–पासपोर्ट प्रयोग गरेको लगायतका आक्षेप छन् । 

त्यस्तै आर्थिक विचलन गरेको र बैंक ठगी सम्बन्धी केही मुद्दाहरु हाल पनि पनि अमेरिकी अदालतमा कायम नै छन् । यद्यपि यी आक्षेप मात्र हुन् । कसुर साबित भए कानून बमोजिम कारबाही भोग्ने नै छन् । साबित नहोस् । कामना । यी आक्षेपहरुमध्ये कम्तीमा नागरिकता सम्बन्धी मुद्धामा नैतिकता प्रस्तुत गरिदिएको भए लामिछानेलाई नेताका रुपमा हेर्न हामी सबैलाई सहज हुने थियो। लामिछानेको नागरिकता सम्बन्धी मुद्दा फैसला हुन बाँकी छ र  बढीमा ६ महिना लाग्थ्यो होला । ६ महिना धैर्य देखाएको भए र आमसंचार सामु आएर नागरिकता सम्बन्धी मुद्दा फैसला नहुन्जेल कुनै पनि कार्यकारी पद र सरकार सम्बन्धी जिम्मा लिन्न भनेको भए सबै खुशी हुन्थे होला । लामिछाने अझै नैतिकताको उचाई चढ्ने थिए । 

आफूलाई आरोप लागेकै नियमन गर्ने संस्थाको प्रमुख भएर सरकारमा जाँदा लामिछानेले कत्ति पनि नैतिकता देखाएनन् । हिजो लामिछानेले सबैलाई नैतिकताको पाठ पढाइरहँदा आफू कहाँ नेर चुकेँ भन्ने भविश्यमा गर्ने नै छन् । 

यति लेखिसकेपछि कांग्रेस, कम्युनिष्ट, माओवादी, राजावादी र लामिछाने विरोधी वा समर्थक यो लेखमा देखिने छ । यो स्तम्भकारले यसलाई सामान्य रुपमा लिने नै छ । यो लेख लेखिसक्दा कसैप्रति वैरभाव राखिएको छैन । माथि उल्लेखित नामहरु नेपालको वर्तमान राजनीतिमा प्रत्यक्ष रुपमा दख्खल राख्ने र देशको भविश्य यिनीहरुमा निर्भर हुने भएकाले उदाहारणको रुपमा राखेको हो । अन्यथा होइन ।

नैतिकवान पुस्ताबाट विक्षिप्त भएका नेताहरु किन नैतिकवान भएनन् त्यो आजको प्रमुख प्रश्न हो । आफ्नो नेतालाई कसरी नैतिकवान बनाउने आम मतदाता र क्रमशः अहिलेका नयाँ पुस्तामा निहीत छ । डा. केसीले भनेझैँ हामीले भोलिको समाज र नेताहरुलाई नैतिक वा अनैतिक बनाउने भन्ने विषय चार कुरामा निर्भरहुन्छ– जवाफदेहिता, पारदर्शिता, सही मान्छे–ठीक ठाउँ र इनाम–सजाय। अन्यथा नैतिकता विद्यालय वा विश्वविद्यालयको पुस्तकमा सीमित हुन्छ। देशले कोल्टे फेर्ने अवस्थाबाट बन्चित हुनुपर्छ । (लेखक वातावरण सम्बन्धी अध्येता हुन् ) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ