arrow

कविवर तेजनाथ घिमिरेको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३२ शनिबार
Tejnath ghimire.jpg

पोखरा । कविवर तेजनाथ घिमिरेको ८३ वर्षको उमेरमा गएराति निधन भएको छ । गएराति २ः१२ मा उनको निधन भएको छोरा प्रकाश घिमिरेले जानकारी दिए । वि.सं. १९९६ असोज १ गते जन्मिएका साहित्यकार घिमिरे ६ दशकभन्दा लामो समयदेखि साहित्य साधनामा क्रियाशील थिए ।

पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उनको उपचारकाक्रममा निवासमै निधन भएको हो । 

घिमिरेका श्रीमती, पाँच छोरा, दुई छोरी छन् । उनको आजै ९ः३० बजे निवासबाट शवयात्रा निकालिने र सतीनदी किनार तुलसी घाटमा अन्त्येष्टि गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले पोखराको पत्रकारितामा पनि संलग्न थिए । नेपाल शिक्षक संघ कास्कीका संस्थापक अध्यक्षसमेत रहेका घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष पनि हुन् ।

२०२२ सालमै गण्डकी बृहत् साहित्य सम्मेलनमा स्वर्ण पदक विजेता घिमिरेले दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, अवलोकन प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार–२०६२, गण्डकी बृहत् साहित्य सम्मेलन-२०२२ (प्रथम), राष्ट्रिय मुक्तक पुरस्कारलगायत एक दर्जन भन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका थिए । 

उनको निधनप्रति पोखराका साहित्यकार एवं कलाकारहरुले सामाजिक एवं विभिन्न माध्यममार्फत दुःख व्यक्त गरेका छन् । 

नेपाली लेखक संघ गण्डकीका संयोजक ईश्वरमणि अधिकारीले नेपाली लेखक संघ कास्कीका संस्थापक अध्यक्ष घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । संयोजक अधिकारीले घिमिरेलाई सम्झँदै पोखरामा रहेर सत्य, न्याय, लोकतन्त्र र लेखकीय स्वतन्त्रताका लागि  आफ्नो सम्पूर्ण जीवन सुम्पिएको उल्लेख गरेका छन् । 

‘कविवर तेजनाथ घिमिरे अब भौतिकरुपमा हामीमाँझ रहनु भएन भन्ने खबरले अत्यन्त दुःखित छौँ । शिक्षण, साहित्यिक पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा पोखरामै रहेर उहाँले पुर्याउनु भएको योगदानसँगै देशकाल, अनावरण र कालचक्र जस्ता प्रकाशित कृतिहरू र थुप्रै अप्रकाशित तथा फुटकररूपमा प्रकाशित रचनाहरू अब उहाँको याद बनेर रहनेछन् हाम्रा माँझ । झण्डै ८३ वर्षको आशीर्वादमय जीवन बाँच्नुहुने कवि गुरू तेजनाथ  घिमिरेलाई यसै वर्ष  नेपाली लेखक संघले आफ्नो सातौँ राष्ट्रिय अधिवेशनका अवसरमा उच्च सम्मान अर्पण गरेको थियो । त्यही कार्यक्रमका अवसर र त्यसैको सेरोफेरोमा गुरुसित बिताएको एकाध घण्टाको भलाकुसारी नै मैले गुरुसित बिताएको पछिल्लो क्षण रह्यो’, संयोजक अधिकारीले उल्लेख गरेका छन् । 

यसैगरी नेपाल शिक्षक सङ्घ कास्कीले पनि नेपाली लेखक संघ कास्कीका संस्थापक अध्यक्ष घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष रमेश भट्टराईले घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै साहित्य जगतमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् 



लोकप्रिय समाचार
नयाँ