arrow

नेपाल र स्वीट्जरल्याण्ड

logo
सागर कुँवर, 
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
sagar-kunwar-congress.jpg


धेरै नेताहरुका भाषणमा नेपाललाई स्वीट्जरल्याण्ड बनाउने कुराहरू हुन्छन् । १०–१५ वर्षमा स्वीट्जरल्याण्ड बनाउने वाचा कशम खाइन्छ । तर यो देश बनेको १०– १५ वर्षमा होइन १७० वर्षको निरन्तर उन्नति, प्रगतिले र क्रमिक सुधारले हो । अरु धेरै विषयहरु छन् । विभिन्न कारक तत्वहरु छन् । जस्तै यो देशले कहिले पनि युद्द नै लडेन । न त यहाँ गृहयुद्ध नै भयो । विदेशी लगानीका कुरा छन् । विकेन्द्रीकरण र संघीयता छन् । तर यहाँ मैले स्वीट्जरल्याण्डको केवल एउटा सबैभन्दा महत्वपूर्ण  सूत्रको चर्चा गर्दैछु । त्यो हो सीधा प्रजातन्त्र ।

स्वीट्जरल्याण्डमा निरन्तर चुनाव भइरहन्छ । हरेक चार वर्षमा स्थानीय र केन्द्रीय सरकारको चुनावमात्र होइन त्यहाँ हरेक एजेन्डामा छलफल हुन्छन् । हरेक राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा भोटिङ हुन्छ। कुनै पनि नागरिकले कुनै पनि विधेयक पेश गर्न सक्दछ । जबकि नेपालमा यस्ता विधेयक केवल राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदले मात्रै पेश गर्न पाउँदछन् । 

पेश नै भइहालेमा विभिन्न संसदीय प्रणालीका जटिलता र झंझट आउँछन् । विधेयक राम्रो छ भने लौ यसले जस पाउने भयो भनेर विपक्षी दलले प्रोपगान्डा फैलाएर यसलाई निस्तेज पारिदिन्छन् । स्वीट्जरल्याण्डमा कुनै पनि लोकप्रिय मुद्दामा यदि १८ महिनाभित्र एक लाख नागरिकको हस्ताक्षरको जनमत संग्रह छ भने त्यो विषय विधेयक बनेर संसदमा पेश हुने मौका पाउँछ । 

कुनै पनि नयाँ विधेयक पास गराउन वा कुनै सरकारी विधेयकलाई १०० दिनभित्र ५० हजार नागरिकको हस्ताक्षर छ भने उल्टाउन पनि सकिन्छ । हरेक ३–४ महिनामा केही विवादित र नयाँ मुद्दामा भोटिङ हुन्छ । नयाँ विचारमा छलफल हुन्छ । टोल, नगर, देशका कुनै पनि समस्याका विषयमा भोटिङ गरिन्छ । 

नेपालमा संविधानसभाको चुनावको लागि माओवादीले २०५२ सालदेखि युद्ध लड्यो । २०६५ सालमा माओवादीको सरकार बन्यो । २०७२ सालमा नयाँ संविधान बन्यो। २०५२ सालका एजेन्डाको २० वर्षपछि बल्ल कानून बन्यो । २० वर्ष पहिलेका हामीले हेर्ने फिल्मका हिरो हिरोइन त बुढा भैसकेका हुन्छन् भने तिनको जमाना गैसकेको हुन्छ । 

एउटा भर्खरै बिहे गरेका दम्पतिका छोरा छोरी जन्मिएर पनि भोट दिने नागरिक भैसकेका हुन्छन् भने के ती एजेन्डा समय सापेक्ष हुन्छन् ? के ती २० वर्ष पहिलेका कुरा आज सान्दर्भिक हुन्छन् ? नयाँ संविधान लेख्न नै ८–१० वर्ष लाग्यो । के १० वर्ष पहिलेको कुरा अहिले उस्तै हुन्छन् ? अहँ हुंदैनन् ।

संसारको सबैभन्दा ठूलो सत्य र यथार्थ भनेको परिवर्तन हो । विश्व परिवर्तनशील छ । गतिशील छ । संसार एकदमै छिटो बदलिंदो छ । समयसँगै आफूलाई पनि जति सक्दो छिटो बदल्न सक्नुपर्दछ। देशका नीति नियम पनि समय सापेक्ष परिमार्जित हुन पर्दछ। क्रमिक संशोधन हुनु पर्दछ।

उदाहरणका लगि एमसीसी, हिन्दूराज्य, कोटा र आरक्षण जस्ता मुद्दामा जनमत संग्रह हुनु पर्दछ । सरकारी नीति नियम समय सापेक्ष रहन स्वीट्जरल्याण्डमा जस्तै हरेक देश र जनतासँग सीधा सरोकार राखेका विषयमा निरन्तर छलफल र भोटिङ हुन पर्दछ । यसरी हरेक कानून, नीति नियममा क्रमिक रुपमा सुधार आउँदै जान्छन् ।

त्रुटिपूर्ण विधानहरु सच्चिंदै जान्छन् । धेरै भन्दा धेरै जटिल विषयका समाधानहरु हुँदै जान्छन् । देश र मानव समाज समृद्ध र विकसित हुँदै जान्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ