arrow

के छोरा नै चाहिन्छ, छोरी हुनु चाहिँ अभिसाप हो ?

logo
सदिक्षा केसी,
प्रकाशित २०७८ असार ९ बुधबार
sadichha-kc.jpg

मेरो आमाको हामी दुई सन्तान छोरीहरू, उहाँको जिउने आधार र संसार। खुसी हुनुहुन्छ उहाँ। केही आपत्ति छैन उहाँलाई। तर समाज? किन देख्न सक्दैन यस्तो खुसी, किन विभिन्न प्रश्नहरू खडा गरिदिन्छ? आखिर छोरा भए पनि छोरी भए पनि सन्तान त एकै हैन र? कर्तव्य एकै हो, माया र इज्जत एकै हो।

कहिलेकाहीँ आफन्तकोमा जाँदा आमालाई ए तपाईँको त छोरीहरू मात्र है छोरा छैनन् भन्दै नाक खुम्चाएको देख्छु। छोरी त पराई घर जाने मान्छे भनेको सुन्छु। मैले यही समाजमा पराई घर गए पनि उत्तिकै आफूले सन्तान भएर गर्नु पर्ने कर्तव्य छोरीहरूले गरेको देखेकी छु । कति घेरै पिडा र कथाहरू छन् जुन बयान गरेर सकिँदैन। 

हामी स-सानै हुँदा आमा भन्नुहुन्थ्यो हेर जहाँ महिलाहरू मात्र छन् त्यहाँ हेपाई, घृणा, कुविचारका दृष्टि सहनुपर्छ। म यो आमाले के भनेको होला, हावा गफ भनी सोच्थे। तर अहिले बुझ्दै छु ती हरेक कुराहरू। शरीरको बनावटमा ईश्वरले महिलालाई भन्दा पुरुषलाई अलि बलियो बनाए पनि ज्ञान र बुद्धि त सक्षम नै छन् महिलाहरू पनि। अझ अहिले त पुरुष झैँ महिला राष्ट्रपति पनि हुनुहुन्छ हाम्रै नेपालमा। हामी विभिन्न समाचारहरू पनि सुनिरहेका देखिरहेका हुन्छौ छोरीले आफ्नो बाबा, आमाको मृत्यु हुँदा काजक्रिया गरेको। यही समाजमा छोरीहरू मात्र भए पनि खुसी हुने परिवारहरू पनि छन्।

यहाँ छोरी डाक्टर, पाइलट, इन्जिनियर, पत्रकार बैङ्कर, सरकारी जागिरे, व्यवसायी देखी हरेक भूमिकामा छन्। कहाँ कमी छन् खै? यदि छोराले गर्ने काम छोरीले गरिन भने मान्छेहरू भन्छन् वा! छोरी भएर गरी। हैन छोरी भएर गर्न नसक्ने तर छोराले गर्न सक्ने होर भन्या? कहाँ कुन किताबमा भनिएको अथवा लेखिएको छ कि छोराले सबै गर्न सक्ने तर छोरीले नसक्ने?? 

एक्काईसौ शताब्दी भन्दै अनि व्यवहार चाहिँ उही पुरातन भएकाहरूको कमी छैन यहाँ। देखाउने र खाने दाँत फरक भएका जस्तै कुराहरू पनि फरक गर्छन्। भन्ने नै हो भनी छोरीले दाइजोको नाममा मारिनु पर्ने, जलाइनु पर्ने, गालीगलौज सहनुपर्ने समाचार छोराको कुरामा कतै सुन्नुभएको छ?

उफ्! कहिले होला व्यवहार र सोचमा परिवर्तन ? छोरा र छोरी भन्दै बोली र व्यवहारमा हुने भिन्नता कम हुने?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ