arrow

महन्थ ठाकुरको भाउ बढ्यो, जसपाका दुवै पक्ष एकता गर्ने पक्षमा

वामगठबन्धन भए कांग्रेस पनि लोकतान्त्रिक शक्ति बढाउन महन्थलाई फकाउने योजनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
mahantha.JPG

काठमाडौं । जनता समाजवादी पार्टीभित्र चर्किएको विवादले तराई मधेस केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीको महत्व बढाएको छ । जसपाको दुवै पक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले पार्टी एकीकरण गर्नको लागि ठाकुरसँग प्रस्ताव गरेका छन् । यद्यपि लोसपाका नेताहरुले एकीकरणको प्रस्ताव सार्वजनिक रुपमा मात्र आएको, एकताको लागि गम्भीर तहमा छलफल र कुराकानी नभएको जनाएका छन् । 

केही दिनअघि अध्यक्ष यादव जनकपुर गएको बेला उनले सार्वजनिक रुपमै पार्टी एकीकरण गर्न ठाकुरसँग आग्रह गरेका थिए । त्यसको केही दिनमै डा. भट्टराईले ठाकुरसँग भेटेर कुराकानी गरेका थिए । भेटमा उनले ठाकुरसँग एकताको लागि प्रस्ताव गरेको स्रोतको भनाइ छ । 

जसपा अहिले विभाजनको अवस्थामा छ । पार्टी कब्जा गर्नको लागि बहुमत जुटाउन दुवै पक्षको प्रयास जारी छ । अहिलेसम्म यादव पक्ष नै बहुमतमा छ । आफ्नो पक्षको बहुमत नभए पनि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्ने भट्टराई पक्षको तयारी छ । 

स्रोतका अनुसार पार्टी विभाजनको लागि भट्टराई पक्षसँग संसदीय दलमा ४० प्रतिशत पुगिसकेको छ । केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन भट्टराई पक्षले गृहकार्य शुरु गरेको छ । 

लोसपाका शिर्ष तहका नेताहरु भने यादव पक्षसँग एकीकरण गर्न चाहेका छैनन् । उनीहरूको भनाइ छ, ‘यादवसँग विश्वास गर्न सकिन्न । उनले कुनै पनि बेला धोका दिन सक्छन् ।’ त्यसमा पनि ठाकुर र यादवसँग  एक वर्ष अघिको इगो अझै नहटेको जसपाका नेताहरु बताउँछन् । 

ठाकुरले जसपाबाट अलग भइ लोसपा गठन गरेको एक वर्ष पनि पूरा भएको छैन । पोहर साल भदौमा मात्र ठाकुरले लोसपा गठन गरेका थिए । त्यही कारण ठाकुर यादवसँग मिल्न नचाहेको स्रोतको भनाइ छ । 

तर लोसपाका तल्लो तहका कार्यकर्ताहरु भने यादव पक्षसँग नै पार्टी एकीकरण गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।‘ उहाँ (उपेन्द्र यादव) र हाम्रो भोट बैंक र पार्टीका एजेण्डा उस्तै उस्तै छन् । जसपासँग पार्टी एकीकरण गर्नुपर्छ भन्ने हाम्रो सुझाव हो’ लोसपाका कार्यकारिणी समितिका सदस्य राजिव झाले भने, ‘मैले त नफुटेको अहिलेको जसपा र लोसपाबीच एकीकरण होस् भन्ने चाहेको छु ।’ 

तर लोसपाका अर्का एक कार्यकारिणी सदस्यले भने, ‘पहिले जसपा विभाजन होस् । त्यसपछि हामी कुराकानी गर्छौं । अहिले नै कुराकानी गर्न हामी हतारिएका छैनौं ।’ 

ती नेताले भने, ‘जसपा विभाजन भयो भने भट्टराई पक्षसँग एकीकरण गर्न शीर्ष नेताहरूको चाहना देखियो तर तल्लो तहका कार्यकर्ताहरु भने उपेन्द्र यादव पक्षसँग एकता गर्न चाहेका छन् । किनभने भट्टराइसँग जनाधार नै छैन ।’

यता कुनै कारणवश वामपन्थी दलहरू एक भए भने लोसपासँग तालमेल गरी लोकतान्त्रिक शक्ति निर्माण गर्ने नेपाली कांग्रेसको चाहना देखिएको छ । 

त्यसैले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपाका अध्यक्ष ठाकुरसँग बारम्बार भेट गर्दै आएका छन् । 

यति मात्र नभइ लोसपाले उठाएका माग पूरा गर्ने आश्वासनसमेत दिएका छन् । लोसपाले उठाएका मागहरुमध्ये नागरिकता विधेयकलाई चाँडै संसदमा लग्ने प्रधानमन्त्रीले वचन दिएको लोसपाका नेताहरुले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ