दुर्गा प्रसाईँले उपहार पाएको ‘सुनको लौरो’ बारे अनुसन्धान सुरु
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
1.3k
Shares
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई उपहार दिएको ‘सुनको लौरो’ बारे रहस्यको खोजी भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए। ‘उहाँ शनिवार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो। तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन,’ उनले भने।
भिभिआइपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्ड विपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए। भिभिआइपी आफैँ जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए।
लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनविज्ञ छ। यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ।