पोखरा । राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीका हिमाल टमाटाले जितेका छन् । उनले निर्धारित ४५ किलोमिटरको दुरी दुई घण्टा ३४ मिनेट १० सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
टमाटाभन्दा तीन मिनेट पछिपरेका एपीएफका लक्ष्मण मल्लले दुई घण्टा ३७ मिनेट ५० सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गरे । यस्तै, कास्कीका हिक्मत विक दुई घण्टा ४६ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
यसैगरी महिलातर्फको उपाधि उषा खनालले जितेकी छन् । उनले निर्धारित दुरी तीन घण्टा आठ मिनेट ४० सेकेण्डमा पुरा गरिन् । यस्तै, तीन घण्टा ३३ मिनेट सात सेकेण्डमा दुरी पूरा गर्दै लक्ष्मी मगर दोस्रो र चार घण्टा पाँच मिनेट तीन सेकेण्डमा दुरी पूरा गर्दै ईन्द्रकुमारी तामाङ तेस्रो भइन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा महिला तर्फ पाँच र पुरुषतर्फ ७६ जना गरी ८१ जना खेलाडी सहभागी थिए ।
साइक्लिङ प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना, साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता भएको हो ।
पोखरा-१६ स्थित कालीखोलाको पुलबाट शुरु भएको प्रतियोगिता र्यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकी डाँडालगायत ठाउँ हुँदै पुन कालीखोलाको पुलमै आएर टुंगिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आउँदो बजेटमा खेलकुद प्रवर्द्धन गर्न सक्ने गरी रकम विनियोजन गर्ने बताए । उनले विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा उभ्याउने भएकाले कूद एकताको प्रतिक भएको उनले उल्लेख गरे ।
‘देशमा सबै कुरा विभाजित छ । तर, खेलकुदले विभिन्न ठाउँमा रहेकालाई एकै ठाउँमा ल्याउँछ,’ प्रमुख आचार्यले भने ‘कूद प्रवर्द्धन र खेलाडी उत्पादनमा हामी जोड दिन्छौँ ।’
महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पहिलोपटक साइक्लिङ प्रतियोगिता आयोजना गरेको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । पोखरामा साइक्लिङको सम्भावना भएको र स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले साइक्लिङ प्रवर्द्धनमा जोड दिने उनको भनाइ थियो ।