भृकुटीमण्डपमा वृहत जुत्ताचप्पल मेला जारी, शिखर शुमा ग्राहकको आकर्षण
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
1.1k
Shares
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि वृहत जुत्ता चप्पल मेला शुरु भएको छ । मेलामा हजार मोडलका जुत्ता चप्पल रोजेर किन्न पाइने मेलाका संयोजक रामहरि तोलाङ्गले जानकारी दिए । मेलामा जुत्ता चप्पल किन्दा ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको पनि उनले बताए ।
उनका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा खाएर बिक्री गर्न व्यवसायीहरू सहमत भएका हुन् । “व्यापार धेरै भएपछि छुट पनि धेरै दिन सकिने भएकाले हामीले ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौँ,” संयोजक तोलाङ्गले भने ।
मेलामा झण्डै एक दर्जन जुत्ता चप्पल उद्योगहरूको उत्पादन राखिएको शिखर शुका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईँले जानकारी दिए । आफूहरूले विगतमा आयोजना गरेका यस्तै मेलामा ग्राहकहरूको आकर्षण बढेकाले ग्राहककै माग अनुसार यस पटक पनि मेला आयोजना गरिएको उनको भनाइ छ ।
मेलामा भेटिएका बानेश्वरका सुरेश श्रेष्ठले नेपाली उद्योगले नै उत्पादन गरेको जुत्ता चप्पल पनि अहिले विदेशी जुत्ता चप्पलभन्दा राम्रा उत्पादन हुने गरेको कुरा आफूले विगतका मेलामा किनेका जुत्ता चप्पलको प्रयोगबाट महसुस गरेको बताए । उनले विगतका मेलामा किनेका जुत्ता चप्पलबाट सन्तुष्ट भएकाले अहिलेको मेलामा पनि जुत्ता चप्पल किन्न सपरिवार आएको जानकारी दिए ।
विदेशी जुत्ता चप्पल गुणस्तरभन्दा मूल्य बढी हुने गरेको अनुभव सुनाउँदै उनले भने, “नेपाली जुत्ता चप्पल गुणस्तर र टिकाउ अनुसार मूल्य पनि सस्तो छ ।”
“विदेशी भनेपछि जस्तोलाई पनि राम्रो मान्ने नेपालीहरूको मानसिकता छ, त्यो गलत र भ्रम पूर्ण हो, विदेशीहरूभन्दा नेपाली जुत्ता नै धेरै बलिया, राम्रा, आकर्षक र सस्तो पनि छन्,” मेलामा भेटिएकी अर्की ग्राहक एलिशा ज्ञवालीले भनिन् ।
नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्दै जाने हो भने नेपाली उद्योग फस्टाएर थप गुणस्तरीय जुत्ता चप्पल थप सस्तोमा पाइन सकिने भएकाले नेपाली जुत्ता चप्पल प्रयोग गर्न उनले सबैलाई आग्रह गरिन् ।
अन्यत्र २५ सय रुपैयाँ पर्ने जुत्तालाई मेलामा आफूले ७ सय रुपैयाँमा पाएकाले मेलालाई आफूले अवसरको रुपमा लिएको ज्ञवालीको भनाइ छ । मेलामा निम्न आय भएकादेखि उच्च आय भएकासम्मका सबै प्रकारका ग्राहकहरूको भीड लागेको पाइएको छ ।