arrow

मधेसमा चार नयाँ पार्टीको प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
tarai-party-2079-local-election.jpg

काठमाडौं । स्थानीय तहको चुनावमा तराई–मधेसमा ४ वटा नयाँ पार्टीले प्रवेश गरेका छन् । २ वटा पुरानो पार्टी जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बाहेक ४ वटा पार्टीले तराईमा आफ्नो उपस्थिति देखाएका हुन् ।

यद्यपि जसपा र लोसपा पनि नयाँ पार्टी हुन् । तर त्यस पार्टीका नेताहरू पुरानो नामबाट यसअघिका चुनावमा सहभागी भएका छन् । लोसपाका अधिकांश नेताहरू तत्कालिन राष्ट्रिय जनता पार्टी र जसपाका अधिकांश नेता तत्कालिन समाजवादी पार्टीबाट २०७४ सालको स्थानीय तथा प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएका थिए । 

जेलबाट पार्टी घोषणा गरेको रेशम चौधरीको पार्टीले पहिलो पटक कैलालीमा ४ सिट जितेको छ । यसबाट नागरिक उन्मुक्ति पार्टी सुदूर पश्चिम प्रदेशमा स्थापित भएको छ । यस पार्टीले कैलालीको टिकापुर र भजनी नगरपालिका मेयर तथा जानकारी र जोशीपुर गाँउपालिकामा अध्यक्ष पद जितेको छ । 

टिकापुरमा रामलाल डगौरा, भजनीमा केवल चौधरी, जानकीमा उमेश चौधरी तथा जोशीपुरमा रेखादेवी कठरिया प्रमुखमा विजयी भएका छन् । 

चौधरीले नाउपाको अध्यक्षमा पत्नी रञ्जिता श्रेष्ठलाई बनाएका छन् । आगामी संसदीय निर्वाचनमा कैलालीको कम्तीमा २ वटा क्षेत्रमा यस पार्टीले प्रभाव जमाउने अनुमान धेरैले गरेका छन् । 

यसैगरी यसपटक हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले मधेसमा आफ्नो उपस्थिति काँही न काँही देखाएको छ । यो रुपन्देहीकोे मर्चवारी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा विजयी भएको छ । मर्चवारीको अध्यक्षमा गयाप्रसाद बराइ तथा उपाध्यक्षमा आशा सिंह विजयी भएका छन् । 

यस पार्टीले मर्चवरीको ३ वटा वडामा पनि वडाध्यक्ष पदमा जित हासिल गरेको छ । जसअनुसार ५ नम्बर वडामा कृष्ण सिंह, ७ मा गणेश चौधरी तथा ४ नम्बर वडामा जयन्तीप्रसाद बरइ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जप्रपाले रुपन्देहीको लुम्बिनी सांस्कृतिक तथा कपिलबस्तुको महराजगञ्जमा प्रमुख पदमा र कपिलबस्तुतको कृष्णनगर नगरपालिकामा उपमेयर पदमा उम्मेदवारी दिएको थियो । तर ती ठाउँमा जप्रपाले विजयी हासिल गर्न सकेन । 

नाउपा र जप्रपा गठन भएको ६ महिना पनि भएको छैन । ६ महिनाको अवधिमा यी दुई पार्टीले तराई मधेसमा आफ्नो उपस्थिति देखाएका छन् । 

सिके राउतको जनमत पार्टी पहिलो पटक चुनावमा सहभागी भएको छ । यस पार्टीले पछिल्लो केही समयदेखि तराई मधेसमा भइरहेको अनियमितता र बेथितिलाई लिएर हिंसात्मक गतिविधि गर्दै आएको छ । 

त्यसैले  स्थानीय तहको चनावमा जनमत पार्टीले अपेक्षाकृत राम्रो परिणाम ल्याउँछ भन्ने धेरैले अनुमान गरेका थिए । तर अपेक्षा गरे अनुसार जनमत पार्टीले परिणाम ल्याउन सकेन । सप्तरीका २ वटा पालिकामा मात्र जनमत पार्टीका उम्मेदवार प्रमुखमा विजयी भएका छन् । 

सप्तरीको हनुमान कंकालिन नगरपालिका सहित २ वटा नगरपालिकामा जनमत विजयी भएको छ ।  हनुमान कंकालिनीको मेयरमा जनमतका विरेन्द्र माझी विजयी भएका छन् ।

यसैगरी पुरानो तराई मधेस लोकतान्त्रिक पार्टीलाई केही महिनाअघि मात्र सक्रिय बनाएका विर्खेशचन्द्र लालको पार्टीले पनि यसपटक तराई मधेसका केही ठाउँमा विजयी भएको छ ।  

तमलोपा महोत्तरीको महोत्तरी गाउँपालिकामा विजयी भएको छ । महोत्तरी गाउँपालिकाको अध्यक्षमा तमलोपाका उम्मेदवार दिलिपकुमार पाण्डे विजयी भएका छन् । 

यस पार्टीले महोत्तरी गाउँपालिकाको ३ वटा वडाध्यक्ष पदमा पनि विजयी भएको छ । तमलोपाका उम्मेदवार दिपेन्द्र साह जनकपुर उपमहानगरपालिका ३ नम्बर वडाको वडाध्यक्ष पदमा विजयी भएका छन् । 

२०७४ बैशाखमा तत्कालीन तराई मधेस ६ दलबीच एकीकृत भई राष्ट्रिय जनता पार्टी गठन भएपछि तमलोपा निष्कृय भएको थियो । निष्कृय भएको तमलोपालाई विर्खेशचन्द्र लाल, विजयी यादव लगायतका नेताहरुले गत फागुन महिनामा सक्रिय बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ