arrow

नवलपरासीमा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ 

logo
रवीन्द्र यादव,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
drug-two.PNG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौलीबाट ठूलो मात्रामा लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

मङ्गलवार करिब ११ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाउँपालिका वडा नं. ५ बैली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको युपी ५६ एएन ३९४२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको हो ।

मोटरसाइकलको डिकी भित्र रहेको झोलामा डाईजापाम १७५ एम्पुल, फेनारगन १७५ एम्पुल र नुफिन १७५ एम्पुल अवैध लागूऔषध फेला पारेको हो । प्रहरीले तत्काल मोटर साइकल चालक भारत जिल्ला महाराजगन्ज ग्राम रेगंहीया बस्ने वर्ष २० को भोलु चौहानलाई पक्राउ गरेको थियो । सोही मोटरसाइकल पछाडि सवार भारत जिल्ला गोरखपुर बस्ने वर्ष १९ को राकेश सहानी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुबै जना विरुद्ध लागूऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिए । जिल्लामा लागूऔषध बिक्री गर्दै आएका दुबै भारतीय नागरिकलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय परासीको टोलीले सुराकीको आधारमा रामग्राम नगरपालिका वडा नं ६ पोखरापालिबाट ठूलो मात्रामा लागूऔषध सहित दुई जनालाई पक्राउ गरिसकेको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख एसपी ऋषिराम कँडेलको जिल्ला आगमन सँगै धमाधम लागूऔषध कारोबारीलाई पक्राउ गरि कारागार चलान पठाउन थालिएको हो । एसपी कँडेल आए देखि एकपछि अर्को सफलता हासिल गर्दै गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ