माटोको गुणस्तर र बालीमा रोग पत्ता लगाउने अत्याधुनिक उपकरण 'साथी'
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
511
Shares
काठमाडौं । कृषि आधुनिकरणमा मद्दत गर्ने उद्देश्यले नेपालकैपहिलो एआईमा आधारित डिभाइस साथी सार्वजनिक भएको छ । कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईमा आधारित साथी डिभाइस महिला विकास समाज (विमेन डेभेलपमेन्ट सोसाइटी -वोडेस https://wodes.org.np/) ले तयार पारेको हो ।
वोडेसले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साथी डिभाइस सार्वजनिक गरेको हो । माटोको गुणस्तर र विभिन्न किसिमका बालीनालीमा लागेको रोग पत्ता लगाउने मेसिन र सफ्ट्यर सूचना प्रविधि विज्ञ एवं सफ्टवेयर इन्जिनियर लचना हाडाको सुपरिवेक्षणमा तयार भएको हो ।
साथी सफ्टवेयर र हार्डवेयरसहितको एक पूर्ण डिभाइस हो । हार्डवेयर डिभाइसमा उर्जाका लागि सोलार प्यानल जडान गरिएको छ ।
यस्तै हार्डवेयर डिभाइसमा माटोको विवरण संकलन गर्नका लागि तारसहित एक उपकरण जोडिएको हुन्छ । उक्त उपकरणलाई माटोमा हाल्दा डिभाइसले माटोको लवणता, तापक्रम, आद्र्रता, नाइट्रोजन, फोस्फरस, पोटासियम र अम्लताको विवरण संकलन गर्छ ।
हार्डवेयरमा रहेको उक्त विवरण मोबाइल वा ल्यापटपमा उपलब्ध रहने सफ्टवेयर अथवा एपमा देख्न सकिन्छ । यस्तै मोबाइल एप अथवा सफ्टवेयरले विभिन्न बालीनालीमा लागेको रोगसमेत पत्ता लगाउन सक्छ ।
कृषक आफैले रोग लागेको बालीको तस्बिर एपमा राख्दा कुन रोग हो भनेर छुट्याइ दिन्छ । यसो हुँदा औषधि लिन र समयमै बाली जोगाउन मद्दत पुग्ने साथी प्राजेक्टकी प्रमुख एवं वोडेसकी संयोजक लचना हाडाले बताइन् ।
यसले धान, गहुँ, केरा, गोलभेँडा, आलु, जुट तथा कफिलगायत २३ किसिमका बालीमा लाग्ने २६ किसिमका रोग पहिचान गर्न सक्छ ।
परीक्षणसमेत भइसकेको यो डिभाइस प्रयोग गर्दा कृषकले आफ्नो खेती गर्ने माटोको अवस्था थाहा पाउन सक्छन् र अनुकुल हुने बाली लगाउन सक्छन् । यसका साथै समयमै बालीमा लागेको रोग पहिचान समेत गर्न सक्छन् ।
सरकारी स्तरबाटै अघि बढेर देशभरका किसानलाई यो डिभाइस उपलब्ध गराउने किसिमले काम गरिरहेको वोडेसले जनाएको छ ।
याे डिभाइसकाे प्रयाेगले माटाेकाे परीक्षणका लागि टाँढाका प्रयाेगशाला धाउनु पर्ने र लामाे समय कुर्नु पर्ने झन्झटसमेत अन्त्य गर्ने विश्वास वाेडेसकाे छ ।